लण्डन - बेलायतको हल विश्वविद्यालयमा प्रा. सूर्यप्रसाद सुवेदीको नाममा एक अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ।
आधुनिक प्रकारका दासता उन्मूलन र मानवको मानव भएर बाच्न पाउने अधिकारको संरक्षणसम्बन्धी विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिनेछ।
करिब दुई सय वर्ष अघि संसारभर दास प्रथा उन्मूलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्स्टिच्युटले आयोजना गर्ने वार्षिक प्रतियोगिताबाट विजेता छानिने उक्त पुरस्कार कानून, राजनीति शास्त्र, समाज शास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर चालिस वर्ष ननाघेका व्यक्तिले भाग लिन पाउने गरी स्थापना गरिएको हो।
आफ्नो सम्मानमा उक्त विश्वविद्यालयमा यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरिएकोमा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताए। विल्बर्फोर्स इन्स्टिच्युटका निर्देशक प्रा. ट्रेभर बर्नार्डले यो पुरस्कार स्थापनाले संसारभरका युवा प्राज्ञिकलाई यस्ता विषयमा कलम चलाउनमा र प्रतियोगितामा भाग लिन प्रेरणा मिल्ने बताए।
उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गरेका प्रा. सुवेदीलाई २ वर्षअघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो। त्यसैगरी अक्सफोर्डबाट सन् १९९३ मा विद्यावारिधि गरेका प्रा. सुवेदीलाई तीन बर्ष अघि अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको थियो र गत वर्ष उनको नाममा उक्त विश्वविद्यालयमा कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शॊध ग्रन्थ प्रस्तुत गर्ने व्यक्तिलाई दिइने वार्षिक पुरस्कार स्थापना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।