काठमाडौं– रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५११ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन्। गैर–आवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन्।
अहिलेसम्म पोल्याण्डमा ४०३ जना, स्लोभाकिया ७१ जना, रोमानियामा २७, हंगेरीमा ६ जना, र ४ माल्दावा पुगेका हुन्। युक्रेन युद्धबाट विस्थापित भएर विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ लागेका हुन्।
युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ।
उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।