काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर बढाएको छ। केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो दरलाई बढाएको हो।
केन्द्रीय बैंकले बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ बढाएर ७ प्रतिशत कायम गरेको हो। यस्तै नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ। केन्द्रीय बैंकले विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत राखेको छ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भनिएको छ ।
यस्तै, पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था मिलाइने भएको छ। कोभिड १९ को प्रभावलाई मध्यनजर गरी वाणिज्य बैंकहरुले आ–आफ्नो विशेषज्ञताको आधारमा तोकिएका क्षेत्र अन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिने जनाएको छ।
यसले उत्पादनमूलक क्षेत्रको ब्याजदर तुलनात्मक रुपमा कम हुने देखिएको छ।यसअघि सिविफिनले उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने सुझाव दिएको थियो।
यस्तो छ मौद्रिक नीति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।