‘न्यु इयर’ शब्द आफैंमा अपूरो लाग्छ। यसमा पूर्णता तब आउँछ, जब यसको अघि ‘ह्याप्पी’ वा पछाडि ‘रिजोलुसन’ थपिन्छ। ‘रिजोलुसन’ अर्थात् संकल्पको नाममा साधारण वा गन्यमान्य व्यक्तिहरूले समेत नयाँ वर्षमा केही न केही सोचेका हुन्छन्। वा नजिककासँग कुरा गरिरहेका हुन्छन्।
उनीहरू भनिरहेका हुन्छन्, ‘मैले सोचें, म यो वर्षदेखि चुरोट खान छाडिदिन्छु।’
‘अब १ तारिखदेखि नियमित व्यायम गर्न सुरु गर्छु।’
‘अब यो वर्षदेखि १२ महिना नै पढ्छु र टप गर्छु।’ यी र यस्ता अरु धेरै संकल्प हुन्छन्। भइरहेकै छन्।
हरेक व्याक्तिलाई नयाँ सालमा जिन्दगीको नयाँ पानाको सुरुवात गर्ने सबैभन्दा राम्रो मौका लाग्छ। तर, नयाँ वर्षको खुसीयाली सकिदैं जाँदा नयाँ वर्षमा गरिएको संकल्प पनि सकिँदै जान्छ।
यदि, तपाईंले पनि यस्तै केही संकल्प गर्नु भएको थियो र केही समयमा नै त्यो टुटेर गयो भने धेरै दुःखी हुन आवश्यक छैन्। तथ्यांक भन्छ– विश्वभरको कुल जनसंख्यामा लगभग ५० प्रतिशतभन्दा धेरै मानिस नयाँ वर्षमा कुनै न कुनै किसिमको संकल्प लिन्छन्, तर यसमा पूरा हुने संकल्पको संख्या नगन्य छ। संकल्प गर्नेहरूको एउटा ठूलो समूहले त हरेक वर्ष एउटै संकल्प दोहोर्याउँछन्, तर कहिल्यै पूरा गर्दैनन्। ठ्याक्कै हाम्रो सरकारको जस्तो।
क्यानडाको कार्लटन विश्वविद्यालयका प्राध्यापक टिमोथी पायकल आफ्नो ब्लगमा यस किसिमले गरिएका संकल्पहरु टुट्नु हाम्रो गञ्जागोल प्रवृत्तिकै एक रुप भएको बताउँछन्। कुनै पनि व्यक्ति आफूलाई नयाँ दृष्टिकोणबाट खोज्ने जोखिम लिनबाट डराउँछ, किनकि ऊ आफ्नो बानीअनुसार सुविधाजनक जीवन बाँच्न अभ्यस्त भइसकेको हुन्छ। ऊ कुनै पनि किसिमको परिवर्तनबाट बच्न चाहन्छ।
पायकलका अनुसार उनका साथी तथा प्राध्यापक पिटर हरमनले यस किसिमको संकल्प र कोसिसलाई ‘फल्स होप सिन्ड्रोम’को नाम दिएका छन्। उनका अनुसार मानिसले गरेका संकल्पहरु सतही, अवास्तविक र उनीहरूको विचारसँग मेल नखाने भएकाले टुट्ने गर्छन्। उनीहरू जब सुरुवाती दिनमा यसको पालना गर्दै हुन्छन्, तब यस किसिमका विचारहरूले सकरात्मक र दृढ हुन्छ भन्ने भ्रम पैदा गरेको हुन्छ।
केही अन्य शोधहरुले पनि धेरैजसो मानिसहरुले ‘के गर्छु’ भन्दा पनि ‘के गर्नुपर्छ’ भन्ने कुरालाई ध्यानमा राखेर संकल्प लिने गर्छन्। के गर्नुपर्छ भन्ने विषय सैद्धान्तिक रूपले सही हुँदाहुँदै पनि त्यो व्यक्तिको लागि उचित हुन्छ भन्ने जरुरी छैन। यस्ता आदर्श संकल्प गरेपछि व्यक्तिले आफ्नो व्यवहारमा निकै ठूलो परिवर्तन ल्याउन पनि आवश्यक हुन्छ, जसका लागि उसले नयाँ दृष्टिकोणबाट सोच्न आवश्यक हुन्छ।
तर, सोच्ने शैलीमा परिवर्तन ल्याउनका लागि मानिसको दिमागी अवस्थालाई नै परिवर्तन गर्नुपर्ने हुन्छ। वैज्ञानिकहरूका अनुसार मस्तिष्कको एमआरआई स्क्यानमार्फत हाम्रो सोच्ने शैलीको निर्धारण ‘न्युरल पाथवेज’ले बनाउने देखिएको छ। यो कुनै पनि कुरा बानीको रूपमा विकास हुन आवश्यक हुन्छ। संकल्पहरूलाई कायम राख्न नयाँ किसिमले सोच्न आवश्यक हुन्छ। र, नयाँ किसिमले सोच्नका लागि मस्तिष्कमा पनि नयाँ ‘न्युरल पाथवेज’ निर्माण हुन आवश्यक पर्छ, जुन बन्न समय लाग्छ। ठीक त्यसरी नै जसरी शहरमा एक पटक सडक बनेपछि नयाँ सडक बन्नलाई समय लाग्छ।
नयाँ वर्षमा गरिने संकल्पहरू अक्सर ‘संकल्प’ नभएर व्यक्तिका लक्ष्यहरू हुन्छन्। यी लक्ष्य पाउनका लागि निर्धारित समय आवश्यक पर्छ। कहिलेकाहीँ यति नै समय ‘न्युरल पाथवेज’ निर्माण हुनमा पनि आवश्यक पर्छ। ३१ डिसेम्बरको राति लिइएको फैसलाका लागि दिमाग पूर्णरूपमा तयार हुँदैन। जसकारण धेरै लक्ष्यहरू सुरु भएसँगै सकिने ‘काउनडाउन’ पनि सुरु हुन्छ।
‘सत्याग्रह’मा प्रकाशित सामग्रीको भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।