काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। महामन्त्रीको लागि भएको मतदानको बिहीबार गरिएको मतगणनामा थापाले सर्वाधिक मत ल्याउँदै विजयी भए।
थापाले ३०२३ मत पाउँदा अन्य उम्मेदवारहरु विश्वप्रकाश शर्माले १९८४, प्रकाशशरण महत १५५६, प्रदीप पौडेलले १४९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। कांग्रेसले यसपटकदेखि दुवैजना महामन्त्री निर्वाचनमार्फत चयन हुने विधानमा व्यवस्था गरेको छ। सोही अनुसार थापा र शर्मा विजयी भएका हुन्।
थापा दोस्रो प्रयासमा महामन्त्री बनेका हुन्। उनी तेह्रौं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए। त्यतिबेला उनी तेस्रो धार भनेर चिनिएको कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। तत्कालीन विधान अनुसार एक जना महामन्त्रीका लागि शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा प्रतिस्पर्धी बनेका थिए। महाधिवेशनमा कोइराला निर्वाचित भएका थिए। उनले १४१७ मत पाए। त्यस्तै केसी र थापाले क्रमशः १०१७ र ५८४ मत पाए।
महामन्त्रीमा पराजित भएपनि थापालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनित गरेका थिए।
चौधौं महाधिवेशनअघि थापाले सिटौला समूह छाडेर रामचन्द्र पौडेल समूहसँग नजिकिएका थिए। तर, यो समूहले चौधौं महाधिवेशनको लागि एकल उम्मेदवार चयन गर्न सकेन। बरु, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण श्रेष्ठ सभापतिका उम्मेदवार बनेका थिए। थापा भने शेखर कोइरालाको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए।
सिटौलाले भने यसपटक सभापतिका लागि प्रतिस्पर्धा गरेनन्। उनले देउवालाई सघाए। देउवासँग गठबन्धन गरेका उनले आफ्नो तर्फबाट प्रदीप पौडेललाई महामन्त्रीको र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाए। गगनले आफूलाई छाडेर गएकाले आफ्नो समूह कमजोर भएको बुझाइमा रहेका सिटौलाले उनलाई हराउने अभिप्राय राखेर प्रदीपलाई अगाडि बढाएको चर्चा पनि छ। तर, उनको प्रयास सफल हुन सकेन।
सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखरविरुद्ध बाँकी सबै उम्मेदवार उभिएका थिए। जसका कारण उनले पराजय बेहोर्नुपर्यो। तर, पदाधिकारीमा शेखर समूहको हस्तक्षेपकारी प्रतिनिधित्व हुने आकलन गर्न सकिन्छ। किनकि, शेखर समूहका धनराज गुरुङ उपसभापति र गगन थापा महामन्त्री बनेका छन्। मतदानको शैली हेर्दा सहमहामन्त्रीमा पनि भोट 'क्रस' हुने सम्भावना छ। त्यसो भएमा यो समूहका अन्य नेता पनि पदाधिकारी बन्न सक्छन्।
शर्माको भने महामन्त्रीमा पहिलो प्रयास थियो। शर्मा तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य (खुलातर्फ) मा प्रतिस्पर्धा गरेका थिए। २५ जनाको लागि भएको प्रतिस्पर्धामा शर्मा १६२० मत ल्याउँदै चौधौं स्थानमा रहेर विजयी भएका थिए। उनी त्यतिबेला देउवा प्यालनमा थिए।
तेह्रौं महाधिवेशनपछि शर्मा देउवासँगै रहे। देउवाले उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए। देउवाका कैयौं कदमको उनले बचाउ गरेका कारण उनलाई कांग्रेसको नभइ देउवाको प्रवक्ता भएको समेत आरोप लाग्यो।
देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बन्ने उनको प्रयास थियो। तर, देउवाले पदाधिकारीमा छलफल चलाउनुअघि नै शर्माले उम्मेदवारी घोषणा गरेका थिए। अन्तिम समयसम्म पनि देउवाकै प्यानलबाट उम्मेदवार हुने उनको प्रयास देउवाले सिटौलासँग समीकरण गरेसँगै अन्त्य भयो। देउवाले आफ्नो तर्फबाट प्रकाशशरण महत र सिटौलाका तर्फबाट प्रदीप पौडेललाई आफ्नो प्यानलको महामन्त्री राखेका थिए। त्यसपछि शर्माले सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको प्यानलमा रहेर महामन्त्रीको उम्मेदवारी दिएका थिए।
महामन्त्रीको उम्मेदवार जिताउने सवालमा देउवा असफल रहे। उनका प्यानलका कसैले पनि जितेनन् नै, अन्तिम दिनमा समूहबाट बाहिर पुगेका शर्माले जित निकाले।
त्यसो त लामो समय देउवासँगै रहेका शर्मा पुनः उनीनिकट नै हुने आकलन गरिएको छ। त्यसको संकेत उनले दोस्रो चरणको निर्वाचन हुनुअघि नै गरिसकेका छन्।
'सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो। सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु', उनले ट्विट गरेका थिए।
लामो समय देउवासँगै रहेका उनले अन्तिम समयमा देउवा समूहमै रहेर प्रतिस्पर्धा गर्न नपाए पनि लामो समयको सामिप्यताका कारण फेरि उनकै साथमा रहने र आगामी निर्वाचनमा सभापतिको उम्मेदवार बन्ने प्रयास गर्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।