काठमाडौं- कांग्रेसको आगामी कार्यसमितिका लागि मतदान सुरु भएको छ। सोमबार झन्डै साढे ११ बजे मतदान सुरु भएको हो।
कार्यसमितिका १३४ पदका लागि निर्वाचन भइरहेको छ। सभापतिबाहेक अन्य पदका उम्मेदवारले अन्यको तुलनामा बढी मत ल्याए निर्वाचित हुन्छन्। सभापतिका लागि भने पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।
सभापतिका लागि कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा कोइराला र देउवाबीच हुने ठानिएको छ।
गुरुङ, सिंह र कोइराला तेह्रौं महाधिवेशनमा थिए। उनीहरुले सभापतिका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेलको प्यानलमा रहेर केन्द्रीय कार्यसमिति सदस्य जितेका थिए। देउवा र निधि लामो समयदेखि निकटका नेताहरु हुन्। यस महाधिवेशनका क्रममा मात्रै उनीहरु अलग भएका हुन्।
विगतमा एउटै प्यानलमा रहेको भए पनि यसपटक छरिएकाले मत पनि केही संख्यामा छरिने आकलन गरिएको छ। यसरी धेरै उम्मेदवार भएका कारण उनीहरुमध्ये कसैले पहिलो चरणमै पचास प्रतिशत मत कटाउन कठिन हुने कांग्रेस नेताहरुको भनाइ पाइन्छ।
तेह्रौं महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। तर, उनीहरुले पहिलो चरणमा पचास प्रतिशत मत नकटाएपछि दोस्रो पटक मतदान भएको थियो। त्यतिबेला सिटौलाको सहयोगमा देउवा विजयी भएका थिए।
यसपटक सिटौलाले आफू उम्मेदवार नबनी देउवालाई सघाएका छन्। त्यसका लागि उनले पदाधिकारीमा आफ्ना नेताहरुलाई देउवा प्यानलमा राखेका छन्। सिटौला समूहबाट आउने मत देउवामा थपिएको देखिन्छ। तर लामो समयदेखि उनलाई साथ दिएका नेता निधि र चर्चित नेता विश्वप्रकाश शर्मा उनीबाट अलग्गिएका छन्। त्यसैले उनले शक्ति गुमाएका पनि छन्।
शेखर कोइरालालाई कोइराला विरासतको फाइदा पुग्ने देखिन्छ। अर्कोतिर कांग्रेसमा एउटा पक्षको नेतृत्व गरेका रामचन्द्र पौडेलको साथ उनैलाई छ। यद्यपि, पौडेलले मतदान प्रक्रियाबाट आफूलाई अलग राखेका छन्। त्यस्तै, प्रकाशमान सिंह, कल्याण गुरुङले पाउने मत पनि शेखरकै सम्भावित मत काटिने आकलन गरिएको छ।
सोमबारको मतदान सकिने बित्तिकै सभापतिको मतगणना सुरु भइहाल्छ। त्यसमा कसैले पचास प्रतिशतभन्दा बढी मत नपाएमा दोस्रो चरणको निर्वाचन गरिन्छ।
पहिलो चरणमा शेखरलाई अप्ठ्यारो पर्ने र दोस्रो चरणमा देउवालाई पर्ने कतिपयको विश्लेषण छ।
दोस्रो चरणमा देउवालाई अप्ठ्यारो पर्ने कारण भनेको उनलाई थपिने मत प्रष्ट नहुनु हो। उनले अहिले सिटौलासँग गठबन्धन गरेकाले उनले पहिलो चरणमा जति मत पाउँछन्, दोस्रो चरणमा पनि लगभग त्यति नै हो।
दोस्रो चरणमा मतदान भएमा उनलाई निधिले सघाउने आकलन गरिएको थियो। तर उनले आइतबार मात्रै सार्वजनिक अभिव्यक्ति दिएका छन्- 'सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएमा सबै मिलेर देउवालाई हराइन्छ।'
सोमबार मतदानपछि प्रकाशमान सिंहले पनि त्यस्तै अभिव्यक्ति दिएका छन्- 'पहिलो चरणमा नतिजा ननिस्केमा दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ नै।'
निधिबाहेक बाँकी नेताहरुले देउवाको पार्टी सञ्चालन शैलीको लामो समयदेखि आलोचना गर्दै आएका थिए। उनीहरुले कांग्रेसलाई सुदृढ बनाउन नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गरेका थिए।
निधि र सिंहको अभिव्यक्तिले उनीहरु देउवालाई हराउन एक जुट हुने बुझ्न सकिन्छ। बाँकी सबै मिलेर त्यसले सिर्जना गर्ने माहोल पनि देउवाको प्रतिकूल हुनसक्छ।
तर देउवा समीकरण निर्माणका चतुर खेलाडी हुन्। दोस्रो चरणको निर्वाचन हुने स्थितिमा उनले कस्तो रणनीति बनाउछन् भन्नेचाहिँ पर्खाइको विषय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।