निर्देशक किरण विकले केही समयअघि एउटा लेख लेखेका थिए, जसमा लाजलाई महिलाको गहनाको रुपमा चित्रण गरिने प्रवृत्तिको उनले आलोचना गरेका छन्। उनको प्रश्न थियो, ‘जुन लाजका कारण महिलाहरू खुल्न सक्दैनन्, त्यो कसरी महिलाको गहना हुन्छ?’
इटालियन निर्देशक ज्युसेप टोरनाटोरले निर्देशन गरेको सन् २००० को फिल्म ‘मलेना’मा महिलाको सुन्दरता र ‘लाज’ कसरी तिरस्कारको कारण बन्छ भन्ने कथा छ। निर्देशक विकले भनेजस्तै समाजले गहना ठान्ने ‘लाज’ र ‘सुन्दरता’का कारण एउटी महिला आफ्नो सामान्य जीवनबाट ‘वेश्या’ बन्नुपर्ने अवस्था कसरी सृजना हुन्छ भन्ने कथा मलेनामा छ।
एक बालक रेनेटो (ज्युसेप सुल्फारो अभिनित) को आँखाबाट महिला पात्रलाई प्रस्तुत गरिएको छ। वयस्क उमेरतर्फ रुपान्तरण हुँदै गर्दा उसलाई शहरककै सबैभन्दा सुन्दर महिलाको सुन्दरताले असर गर्छ। बढ्दो उमेर मलेना (मोनिका बेलुच्ची अभिनित)को प्रभावले उसलाई आफूभित्रको उमेरजन्य परिवर्तन बुझ्न सघाउँछ। समाजले महिलालाई कसरी व्यवहार गर्छ भन्ने पनि उसले देख्छ।
महिलाको सुन्दरताका कारण उत्पन्न भएका र भोग्नु परेको अनेक तिरस्कार फिल्ममा देखाइएको छ। फिल्ममा मलेना र रेनेटोबीच कतै पनि संवाद छैन। मलेना प्रायः मौन छिन्। तर, मलेनाको मौनताले पनि थुप्रै ‘संवाद’ गरेका छन्। पुरुष आँखाले आफूमाथि हमला गरिरहँदाको असहजता होस् वा कसैले बलात्कार गर्दा पनि बाध्यताले चुपचाप लाग्नुपर्ने परिस्थिति, यी दृश्यमा मलेनाको मौनताले नै दर्शकसँग संवाद गरिरहन्छन्।
सुन्दर हुनुको सजाय
सन् १९४० को दशकमा तत्कालीन समयमा इटालीअन्तर्गत रहेको कास्टेलकुटो शहरमा बस्ने रेनेटोको जीवनमा तीन ठूला घटना हुन्छन्। दोस्रो विश्वयुद्धमा इटालीले भाग लिँदा सैनिकहरू युद्धमा जान्छन्। रेनेटोले नयाँ साइकल पाउँछ। र उसले शहरकै सबैभन्दा सुन्दर महिला मलेनालाई देख्छ।
मलेनालाई यति सुन्दर छिन् कि शहरभरिकै पुरुषले आफ्नो बनाउन चाहन्छन्। उनका श्रीमान् अफ्रिकामा लडिरहेको सेनामा सामेल भएकाले शहरमा उनी एक्लै हुन्छिन्। उनीसँग शहरभरिका पुरुष आफ्नो यौन तृष्णा मेटाउने चाहना राख्छन्। जब भिडभाडयुक्त गल्लीहरूबाट उनी हिँडछ्नि, तब पुरुष आँखाहरू उनलाई कामुक नजरले हेर्छन्। यी आँखाभन्दा रेनेटोको आँखा फरक छन्।
आफ्नो साइकल लिएर शहरका अरुसँगै रेनेटो पनि मलेना हिँड्ने बाटोमा बस्छ। पहिलो पटक मलेनालाई देख्दा ऊ आफूमा परिवर्तन महसुस गर्छ। यस्तो परिवर्तनको महसुस, जुन उसले कहिल्यै गरेको थिएन।
युद्ध चर्किरहन्छ। युद्धजस्तै रेनेटोको मनमा मलेनाका निम्ति प्रेम पनि जन्मिरहन्छ। त्यो प्रेम थोरै तृष्णायुक्त र धेरै चाहनायुक्त हुन्छ। मलेनालाई चिहाउने, उनको घरमा लुकेर हेर्ने, शहरका गल्लीहरूमा उसलाई पछ्याउने दैनिकी बन्छ रेनेटोको। ऊ मलेनासँगको संघर्षको कल्पना गर्छ, उसँगै भएको महसुस गर्छ। आफूभन्दा दोब्बर उमेरकी महिलाप्रतिको चाहनाले उसले मलेनाको घरमा सुकाइएका कपडाहरुमध्ये भित्री वस्त्र चोरेर ल्याउँछ। ती कपडामा मलेनालाई महसुस गर्न थाल्छ। रेनोटोको बाल्यकालदेखि वयस्क भइरहेको उमेरको रुपान्तरणलाई प्रस्तुत गर्न निर्देशक ग्युसेपले यी प्रतिकात्मक दृश्य प्रयोग गरेका छन्।
चर्किरहेको युद्धबीच मलेनाको जीवनमा भने सन्ध्याको सुरुवात हुन्छ। युद्धमा श्रीमान् मरेको खबर पाउँछिन्। आफूलाई बन्द कोठामा थुनेर विरहमा भुल्न थाल्छिन्। तर, त्यसैबीच उनको सुन्दरतामा तृप्त हुने शहरका पुरुषहरूले अन्धाकार भएपछि आफ्नो घरमा परपुरुषलाई निम्त्याउने गरेको हल्ला फैलाउँछन्। परपुरुषसँग लागेको विरुद्धमा अदालती प्रक्रिया चल्छ। मलेना निर्दोष त साबित हुन्छिन्, तर शहरका लागि उनी चरित्रहीन हुन्छिन्।
त्यसैबीच अदालतमा उनको पक्षबाट बहस गरेको वकिलले उनलाई बलात्कार गर्छ। मलेना केही बोल्न सक्दिननँ। उनलाई थाहा छ, निर्दोष भए पनि भोलि उनलाई नै समाजले दोषी देख्नेछ। मलेनाको जीवनका हरेक घटनालाई नियालिरहेको रेनेटोले उसको सुरक्षा गर्ने सोच्छ। रेनेटो स्वयंलाई पनि थाहा हुन्न, शहर र ऊबीच थोरै फरक छ मलेनाप्रतिको बुझाइमा। रेनेटो उनको सुरक्षाका लागि ईश्वरसँग प्राथना गर्छ।
श्रीमानको मृत्युपछि मलेनासँग विकल्प केही हुँदैन। उनी समाजले चाहेकै बाटोमा हिँडन बाध्य हुन्छिन्। आफूसँग भएको सुन्दरता र शहरले उनीमाथि मेट्न चाहेको तृष्णा नै उनको विकल्प हुन्छ। उनी ‘वेश्यावृत्ति’मा लाग्छिन्। योबेला शहरमा जर्मन सेनाहरूको ज्यादती हुन्छ।
वेश्याको रुपमा पनि मलेनामाथि शहरले गर्ने व्यवहारमा परिवर्तन हुँदैन। उनीसँग यौन तृष्णा मेटाउन आउने पुरुषहरूका श्रीमती मलेनालाई नै गलत ठान्छन्। जर्मन सेनाले शहर छाडेर जाँदा जब अमेरिकी सेनाहरुको प्रवेश हुन्छ। त्यो बेला मलेनालाई शहरका महिलाले दुर्व्यवहार गर्छन्। उसको कपाल काटेर बीच शहरमा नांगो बनाइन्छ।
यी सबै घटनाबीच रेनेटोमा थुप्रै परिवर्तन भइसकेको हुन्छ। मलेनाप्रतिको उसको प्रेम भने पहिलेजस्तै हुन्छ। समाजबाट दुव्र्यवहार भोगेकी मलेना भने शहर छाडेर गइसकेकी हुन्छिन्। त्यसपछि उनी फेरि शहर फर्किएर आउँदा उनी एक्लै हुँदिनन्। मृतक ठाकिएका उनका श्रीमान् पनि सँगै आउँछन्। यसपटक शहरले उनलाई पहिलेको जस्तो व्यवहार गर्दैन।
फिल्मभरि मलेनाको जीवनमा जे जति घटना हुन्छन्, ती सबैको कारण उनको सुन्दरता हुन्छ। आफू सुन्दर भएका कारण उनलाई पुरुषहरूले हेर्ने नजर गलत हुन्छ। सुन्दर भएकै कारण उनीबारे अनेक हल्ला फैलिन्छन्।
‘मेल गेज’को प्रयोग
मलेनाका लागि आफ्नो सुन्दरता ‘श्राप’ बनेको हुन्छ। तर, यसको कारण उनी स्वयं नभएर समाज र मुख्यगरी पुरुषहरु हुन्छन्। पितृसत्तात्मक समाजको नजरले उनको सुन्दरता र शरीरलाई वस्तुकरण गरिरहेको हुन्छ।
फिल्ममा महिलालाई वस्तुकरण गरिने र पुरुषले आफ्नो तृष्णाका लागि हेर्ने यो शैली ‘मेल गेज’ अन्तर्गत हेरिन्छ। पहिलो पटक बेलायती महिलावादी लेखक तथा फिल्म सिद्धान्तकार लौरा मुल्भेले सन् १९७३ मा आफ्नो शोध ‘भिजुअल प्लेजर्स एण्ड न्यारेटिभ सिनेमा’मा यो सिद्धान्त प्रतिपादन गरेकी थिइन्।
सारांशमा ‘मेल गेज’को अर्थ कुनै पनि सञ्चारको माध्यममा प्रस्तुत हुने महिला पात्र वा महिला चरित्रलाई पुरुषवादी आँखाबाट देखाइनु हो। दर्शक वा पाठकका लागि महिलालाई कुनै विषमलिङ्गी पुरुषको आँखाबाटै हेर्न बाध्य बनाउने किसिमले यो शैलीको प्रयोग हुन्छ। महिलावादी दृष्टिकोणबाट हेर्दा यो सिद्धान्तलाई तीन किसिमले बुझ्न सकिन्छ– महिलालाई पुरुषले हेर्ने नजर, महिला स्वयंले आफूलाई हेर्ने नजर र महिलाले महिलालाई हेर्ने नजर। महिलालाई यी तीन किसिमले नै हेर्दा पनि पुरुषवादी सोच हाबी हुन्छ।
‘मेल गेज’ सिद्धान्तको उत्कृष्ट प्रयोग मलेनामा देख्न सकिन्छ। निर्देशक ग्युसेपको क्यामेरा चलाउने शैली यस्तो छ कि, हरेक दृश्यमा पात्रहरूले मलेनालाई हेर्ने नजरमा ‘मेल गेज’ पाइन्छ। फिल्मको सुरुवाती दृश्यमै मलेनालाई देखाउँदा उनको छाती देखाइन्छ। रेनेटो र उसका साथीहरू उनी आउने बाटोमा बसेर कुरिरहेका हुन्छन्। मलेनाको ‘क्लोजअप’ लिनुअघि उसलाई हेर्न बसिरहेका केटाहरूलाई नजिक र मलेनालाई टाढा देखाइन्छ।
फिल्ममा ‘मेल गेज’को प्रयोग गर्दा महिला पात्रलाई मिडियम क्लोजअप, क्लोज अप, ओभर द सोल्जरजस्ता शैलीबाट खिचिन्छन्। मलेनामा पनि यी शैलीको व्यापक प्रयोग छ। मलेनालाई दृश्यमा पहिलो पटक देखाउँदा उसलाई रेनेटो र उसका साथीहरूको आडमा देखाइन्छ। जब मलेना शहरका गल्लीहरूमा हिँड्छिन्, तब निर्देशक ग्युसेपले मलेनाको शरीरलाई शहरका पुरुषले सोच्नेजस्तै कामुक र वस्तुगत रूपमा देखाउँछन्। मलेनाका खुट्टा र छातीलगायतमा ‘फोकस’ गरेर देखाइन्छ।
निर्देशक ग्युसेपको काम यति सुन्दर छ कि, दर्शकले फिल्ममा मेलेनाले भोगेजस्तै अनुभव गर्न सक्छन्। चाहे त्यो शहरमा हिँड्दा पुरुषहरूले हेर्दाको असहजता होस् (जुन उनी चाहँदिनन्) वा आफू वेश्वावृत्तिमा लागेपछि आफूप्रति महिलाले गरिएको व्यवहार होस्। दर्शकले यी दृश्यमार्फत आफू पनि सिनेमासँगै ‘रिलेट’ हुन पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।