नेकपा माओवादी केन्द्रले नीति र नेतृत्व चयन गर्न आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। त्यसका लागि देशभरबाट झण्डै २ हजार प्रतिनिधि काठमाडौंमा बोलाउने उसको तयारी छ। राष्ट्रिय सम्मेलनबाट पार्टीलाई रुपान्तरण गर्नका लागि वैचारिक, राजनीतिक, सांगठनिक र कार्यशैली लगायतका विषयमा बहस र छलफल गर्ने नेताहरुको भनाइ छ। राष्ट्रिय सम्मेलनका विविध विषयमा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीः
माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। त्यसको तयारीका लागि के के भइरहेको छ?
पार्टी कमिटीको तल्लो तह सेल, वडा, पालिका हुँदै प्रदेश सम्मेलनको तयारीमा छौँ। अर्कोतिर, पार्टी अध्यक्षले राष्ट्रिय सम्मेलनमा कस्तो प्रतिवेदन ल्याउँदै हुनुहुन्छ भन्ने विषयमा प्रतीक्षा पनि गरिरहेका छौं। सम्मेलनले माओवादीलाई वैचारिक र राजनीतिक रुपमा अपग्रेड गर्न सक्छ कि सक्दैन, संगठनात्मक रुपमा नयाँ विधि र पद्धति अंगालेर व्यवस्थित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ। देशैभरबाट पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम भइरहेको छ। यी विविध विषयमा बहस र छलफलमा हाम्रो पार्टी केन्द्रित भइरहेको छ।
यो सम्मेलनले माओवादीको नीति र विधिमा के कस्तो परिवर्तन गर्छ?
अहिले माओवादीले आफूलाई रुपान्तरण गर्न खोजेकै छ। जिल्लालाई एउटा समन्वय इकाइको रुपमा लग्ने निर्णय गर्यौं। पार्टीमा एउटा व्यक्तिले एउटा तहमा मात्रै भूमिका निर्वाह गर्ने भनेका छौं। यसले एउटै व्यक्ति दुई-तीन तहमा बस्ने परिपाटीको अन्त्य भएको छ। मूल्यांकन समितिले नम्बर दिने र ‘पपुलर’ भोटको मूल्यांकन गरेर पार्टी नेतृत्वमा ल्याउने भनिएको छ। पार्टीका नेता-कार्यकर्तालाई उत्पादनमा कसरी जोड्ने भन्ने कुरा पनि छ।समाजवादमा जाने भन्ने भएपछि उत्पादन र सामूहिकताको विषय जोडिन्छ। यसका अतिरिक्त वैचारिक र राजनीतिक विषयमा बहस हुनेछ। पार्टीमा कुन नेता कुन पदमा हुने भन्ने विषय चाहिँ अहिले बहसमा छैन।
एमालेले चितवनमा लाखौं जनता उतारेर दशौं महाधिवेशन गर्यो। तपाईंहरु झण्डै २ हजार प्रतिनिधि मात्रै राखेर सम्मेलन गर्दै हुनुहुन्छ। धेरै जनता उतारेर सम्मेलन गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेर गुपचुप रुपमा सम्मेलन गर्न थाल्नु भएको हो?
हामीले राष्ट्रिय सम्मेलन गर्न थालेका छौं, एमालेले गरेको महाधिवेशन हो। हामीले राष्ट्रिय सम्मेलनपछि थप तयारी गरेर महाधिवेशन गर्दै छौं। वैचारिक र राजनीतिक रुपमा पार्टीलाई नयाँ ठाउँमा पुर्याउने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उठेका प्रश्नको जवाफ दिनेगरी महाधिवेशन गर्दै छौं।अहिले कोभिडको प्रभाव पनि छ। अर्कोतिर जाडो सुरु भएकाले मौसम पनि प्रतिकूल छ।
एमालेको महाधिवेशनमा भ्रष्टाचार गरेको पैसा तह लगायो भन्ने कुरा आइरहेको छ। एमालेले सरकारको नेतृत्व गर्दा जे जति कमिसन र भ्रष्टाचार गरेको थियो, त्यो पैसा तह लगाएर शक्ति प्रदर्शन गर्यो भन्ने छ। अहिले हामी सरकारमा छौं। अर्थ र उर्जा लगायत महत्वपूर्ण मन्त्रालयमा हाम्रै पार्टीका नेताहरु मन्त्री हुनुहुन्छ। माओवादीले पनि सरकारमा गएपछि कमिसन र भ्रष्टाचार गरेको पैसाले सम्मेलनमा तामझाम गर्यो भन्ने सन्देश जान सक्छ। त्यो कुराबाट बच्न पनि तामझाम नगरौं भन्ने छ। सम्मेलनपछि हामीले जनतामा सन्देश लैजानका लागि केही न केही कार्यक्रमहरु गर्नुपर्छ। अहिले पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्ने प्रश्न केन्द्रविन्दुमा भएकाले आन्तरिक छलफल नै मुख्य कुरा हो, आमसभा गरेर जनतालाई उतार्ने होइन।
सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चितप्राय: छ। तपाईंको दाबेदारी चाहिँ कुन पदमा हुन्छ?
मलाई पदको खासै रुचि छैन। मुख्य कुरा पार्टी रुपान्तरण हुन्छ कि हुँदैन भन्ने हो। पार्टी रुपान्तरण भयो भने पार्टी सदस्य हुँदा पनि गौरवको विषय हुन्छ। पार्टी रुपान्तरण हुन सकेन र जनतामाझ हाम्रो छवि राम्रो हुन सकेन भने अध्यक्ष नै भए पनि के अर्थ भयो र? मेरो मुख्य चासो यो पार्टीलाई रुपान्तरण गर्नेमा छ। हामीले विचार, नीति, विधि, पद्धति, कार्यशैली र आचरणमा रुपान्तरण गर्न सक्यौं भने पार्टीमा कसैलाई पदको आकांक्षा हुँदैन। त्यो नहुँदा आफ्नो पद र स्वार्थको लागि लडाइँ हुने भयो।पार्टीमा पद भएपछि एउटा हैसियत हुन्छ। त्यसबाट फाइदा लिन सकिन्छ भन्ने हुँदोरहेछ।
मैले छलफलमा भाग लिँदा कुन स्तरमा गर्न सक्छु? पार्टीमा कुन स्तरबाट आफ्ना कुरा राख्छु? त्यसबाट मात्रै म कुन ठाउँमा बस्नुपर्छ, त्यहाँबाट थाहा हुन्छ। अहिले आमजनतालाई थाहा पनि छैन, हरिबोल गजुरेलले के सोचिरहेको छ? कसरी अगाडि बढ्न खोजेको छ? जब सम्मेलनको दौरानमा बहस छलफल हुन्छन्, त्यतिबेला मेरो स्तर कस्तो हुन्छ?त्यही स्तर अनुसारको भूमिका खोज्छु।
नेकपा माओवादी केन्द्रले आत्मसमीक्षा गरेर आफ्नै संगठनको जगमा पार्टीलाई टेकाउने भनिन्थ्यो। माओवादी त्यस्तो अवस्थामा पुग्यो?
पहिले माओवादी केन्द्रका तल्लो तहमा रहेका नेता र कार्यकर्तामा निराशा थियो। अहिले उत्साहमा परिणत भएको छ। तत्कालीन नेकपा हुँदा सरकारमा केपी शर्मा ओली थिए। माओवादी नेता-कार्यकर्तालाई साइजमा राखेर गरिएको 'डिल'ले गर्दा कमिटी प्रणाली भताभुङ भएका थिए। त्यो बेला माओवादी पंक्ति ‘डिमरलाइज’ जस्तो भएको थियो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि माओवादी केन्द्रमा नयाँ उत्साह थपिएको छ। त्यसलाई संगठनमा कसरी ढाल्न सक्छौं, त्यसलाई नयाँ विचार, नयाँ नीति र नयाँ विधिले कसरी प्रशिक्षित गर्न सक्छौं? वा सक्दैनौं भन्ने कुरा चुनौतीपूर्ण छ। तर, आम माओवादी पंक्तिमा ठूलो खालको उत्साह पाएको छु।
तर, माओवादीबाट रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी लगायत नेताहरु एमालेमा जानु भएको छ। त्यसले तलको जनमतमा असर पारेको होला नि?
उहाँहरु एमालेमा जानुभयो। मुख्य कुरा उहाँहरु कहाँ जानुभयो भन्ने हो। व्यक्तिको पछाडि कोही लाग्दैन, विचारको पछि लाग्ने हो। माओवादी एउटा आन्दोलन हो, विचार हो। त्यो विचार छोडेपछि त्यसको पछाडि कोही लाग्दो रहेनछ। माओवादीको एउटा पक्ष विचार नै हो। भर्खरै सुनेको छु, पर्सामा माओवादी छोडेर गएकाहरु फेरि फर्किने प्रक्रियामा छन। त्यसकारण माओवादीको पहिचान भनेको विचार र आन्दोलन हो। त्यसो हुँदा ओलीजीले माओवादी आन्दोलन र विचारको नेतृत्व गर्ने कुरा आउँदैन। त्यसो भएपछि त्यहाँ स्वतः जाँदैनन्, जोडिदैनन्।
उहाँहरुको बहिर्गमनले तपाईंहरुको जनमतमा असर गरेको छैन?
असर गरेकै छैन। एमालेमा धेरै गएका छैनन्। हिजो किरण, बादलजीहरु माओवादी छोडेर जानुभयो। त्यतिबेला पनि धेरै जनमत गएन। अहिले झन् केपीजीको नेतृत्वमा जाने कुरै आउँदैन। केपीजीले दोस्रो जनआन्दोलन बढ्दै जाँदा त्यसको विरोधमा वक्तव्य दिनुभएको थियो। माओवादी आन्दोलन विरुद्ध धेरै बोल्नुभएको थियो। त्यस्तो अवस्थामा उहाँसँग जोडिएर बादलजीहरु गएपनि माओवादी जनमत गएन। बादलजीहरुको राजनीतिक पलायन हो। पलायनवादीहरुको पछाडि को लाग्छ र?
प्रचण्ड भनेकै माओवादी र माओवादी भनेकै प्रचण्ड मात्रै हुन पुगेको छ। यस्तो परिस्थितिले पार्टी कसरी बन्ला? प्रचण्ड पछाडि माओवादीको नेतृत्व कसले गर्ला भन्ने प्रश्न उठ्न थालेको छ नि?
माओवादी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै माओवादी हुनु नराम्रो कुरा होइन, राम्रो कुरा हो। हामीले २०५७ सालको राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथको रुपमा विचारको संश्लेषण गर्यौं। नेतृत्वलाई एउटा नयाँ ढंगले, नयाँ सिराबाट नेतृत्वलाई स्थापित गर्यौं। त्यो जोडिनु राम्रो कुरा होइन? अब मुख्य कुरा प्रचण्डको भूमिका कस्तो हुन्छ भन्ने हो। आगामी राष्ट्रिय सम्मेलनमा उहाँले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने नै हो। यद्यपि, उहाँ ठीक दिशातिर अघि बढ्न खोज्नुभएको छ। उहाँमा ठूलो चुनौती छ। माओवादी आन्दोलनमा धेरै विकृति र विसंगति आइसकेको छ। यी सबैलाई चिर्न ठूलो जोखिम उठाउनुपर्ने छ।
माओवादीका मुख्य चुनौती के-के रहेछन्?
त्यो सबै तपाईंहरुलाई थाहा छ। हामीहरु बोलिरहेका छौ। पार्टीमा थुप्रै खालका विकृति विसंगति भए। हामीले आफूलाई रुपान्तरण गर्न सकेनौं भने माओवादी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्छ। त्यसको विचारमाथि प्रश्न उठ्छ भनिरहेका छौं। त्यसो भएको हुनाले ठूलो साहसको जरुरी छ। खालि कांग्रेस, एमाले मात्रै बिग्रेको होइन। माओवादीमा पनि पछिल्लो समय वैचारिक, राजनीतिक, संगठनात्मक कार्यशैली र आचरणगत रुपमा सिथिलता आएको छ। त्यसको असर ठूलो छ। त्यसलाई पार्टीले कसरी चिर्ला भन्ने प्रश्न छ। प्रचण्डले जोखिम उठाउनुभयो भने सक्नुहोला। तर, सामान्य अवस्थाबाट माओवादी रुपान्तरण हुन गाह्रो छ। धेरै अवस्थाबाट ‘लिडरशीप’ घेराबन्दीमा परिसकेको छ।
माओवादी केन्द्रमा ‘लिडरशीप’को विकास हुन नसकेपछि विप्लवलाई महासचिव बनाएर पार्टी एकता गर्ने र वैचारिक राजनीतिक रुपमा व्यवस्थित बनाउने कुरा पनि आइरहेका छन्। त्यस्तो सम्भावना छ?
विप्लवजीको के विचार र लिडसरशीप छ? विचार भएको भए यो प्रक्रियामा यति छिट्टै र यो ढंगबाट आउनुहुन्थ्यो? उहाँमा आक्रोश र आवेग थियो। असन्तुष्टि थियो। जतिबेला उहाँले केपी ओली नेतृत्वको सरकारसँग सहमति गरेर आउनुभयो, केपी ओली विरुद्ध आन्दोलन भइरहेको थियो। दलहरुले विभिन्न ढंगले आन्दोलन र संघर्ष गरिरहेका थिए। त्यो बेला उहाँ आन्दोलनको पक्षमा रहेर सहकार्य गरेर गएको भए एउटा स्थिति हुन्थ्यो। तर, उहाँ केपी ओलीको प्रतिगमनको विरुद्धमा उठेको आन्दोलनको पक्षमा जानुपर्नेमा ओलीसँगै सहकार्य गर्न जानुभयो। त्यसले पनि बताउँछ, उहाँमा के विचार रहेछ। विप्लवजीबाट माओवादीको नेतृत्व गर्ने कुरा सम्भव छैन, बेकार कुरा हो। कि त हामी सबै सिद्धिन पर्यो। त्यसो हुँदा जसले नेतृत्व गरे पनि भयो। नभए हामी हुँदासम्म त्यस्तो हुने अवस्था छैन।
तपाईंहरु माओवादी पार्टीलाई बलियो र व्यवस्थित बनाउने कुरा गर्नुहुन्छ। तर, लोकतान्त्रिक अभ्यास अन्तर्गतको आन्तरिक चुनावको अभ्यास गर्नुहुन्न। यसले माओवादीको संगठन भित्रभित्रै गुम्सिएर खुम्चिँदै जान लागेको छ नि?
कम्युनिस्ट आन्दोलनमा गम्भीर समस्या आयो। एउटा अभ्यास माओवादीले गर्यो। कमिटीले एउटा लिष्ट पढेर सुनाउने र त्यसमा सबैले ताली बजाउने र उठेर हिँड्ने थियो। एमालेले अभ्यास गर्यो, प्रत्यक्ष चुनावमा जाने र प्यानल बनाएर प्रतिस्पर्धा गर्ने। यी दुवै अभ्यासले गलत दिशातिर पुर्यायो। माओवादीमा जनवाद भएन। एमालेमा केन्द्रीयता भएन। जो पनि उठ्न पाउने, जो पनि लड्न पाउने, कुनै पनि मापदण्ड भएन। यी दुवै कमजोरीलाई सच्याउने भनेका छौं। यस्तो अवस्थामा केही प्रतिशत कमिटीबाट मूल्यांकन गरेर नम्बर दिने र अर्को चाहिँ कार्यकर्ताले भोट हालेर निर्वाचित हुने भनेका छौं। यी दुवैबाट मूल्याकंन गरेर लिडरशीप घोषणा गर्ने बारेमा सोचिरहेका छौं। यो राष्ट्रिय सम्मेलनमा यो विधि लागू हुँदैन। आगामी महाधिवेशनको दौरानमा यो प्रणाली व्यवहारमा लागू गर्छौं। त्यो प्रणाली लागू भएपछि माओवादीमा पूर्ण जनवादी केन्द्रीयताको राम्रो अभ्यास हुने छ।
हामीले लेनिनवादी संगठनात्मक विधिको विकास गर्न खोजेका छौं। त्यसले नै हामीले विकास गर्न खोजेको प्रणालीबाट समस्याको हल गर्छ भन्ने छ। मूल्यांकन समितिमा केन्द्रीयता व्यक्त हुन्छ। कार्यकर्ताले भोट दिने कुरा जनवाद हुने भयो। यसले जनवाद र केन्द्रीयता ठीक ढंगले समिश्रण हुन्छ। यसबाट ठीक-ठीक व्यक्ति छानिएर नेतृत्वमा आउँछन् भन्ने छ।
माओवादी पार्टीलाई २०६४ सालको अवस्थामा फर्काउने भनिरहनु भएको छ। तर, अध्यक्ष प्रचण्डलाई नै बस्नको लागि ठेकेदारको घर चाहिने भयो, ठेकेदारहरुसँग सम्बन्ध बढेकाले क्रान्तिकारी धार बोधो भयो भन्ने छ। नेताहरुको अपारदर्शी जीवनका बीच तपाईंहरुले माओवादीलाई कसरी क्रान्तिकारी र जनताको मन जित्ने पार्टी बनाउन सक्नुहुन्छ?
नेताहरु कसै न कसैको घरमा बस्नै पर्यो। काठमाडौमा घर बनाउने भनेको धनीमानी, पैसा हुने व्यापारी र ठेकेदारहरुले नै हो। अध्यक्षको निवासलाई लिएर विवाद आएका छन्। एक पटक बालाजुको विस्तारित बैठकमा हाम्रो केन्द्रीय समिति सदस्यको सम्पत्ति पार्टीलाई दिने र पार्टीले व्यवस्थापन गर्ने भनिएको थियो। यद्यपि, त्यो विषय कार्यन्वयनमा गएन। पछि जे जति केन्द्रीय कमिटीमा रहेका नेताहरु छौं, उनीहरुले केही रकम हाल्ने, पार्टीले पनि केही रकम हालेर जग्गा किन्ने र सामूहिक आवाससहितको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ। औपचारिक रुपमा मैले अध्यक्षलाई लिखित पनि दिएको छु। त्यसो भयो भने अध्यक्षसहित अन्य नेताको निवासलाई लिएर विवाद हुँदैन।
अहिले नेतालाई जहाँ पायो त्यहाँ डेरा पनि दिँदैनन्। खोज्दै जाँदा भनेको जस्तो पाइँदा पनि पाइँदैन। मलाई नै अध्यक्षले ‘लौ हरिबोलजी, डेरा खोज्नुस्’ भन्नु भएको थियो। म खोज्न गएँ। कहीँ के मिल्दैन,कहीँ के मिल्दैन। मिले पनि माओवादीलाई दिन्नँ भन्ने हुन्छ। त्यसले गर्दा जटिलता पनि रहेछ। जे जस्तो भए पनि निवासका विषयमा नयाँ विकल्प दिनै पर्छ। जसले गर्दा विवाद नआओस्। तत्काल अध्यक्षको निवासको व्यवस्थापन गर्ने भनेको छु। पछि विस्तारै अन्य नेताहरुको व्यवस्थापन गर्दै जान सकिन्छ। त्यसो हुँदा निवासलाई लिएर प्रश्न उठ्दैन। अहिलेको अवस्थामा कहीँ न कहीँ चिनजानकै मान्छेमा जानुपर्ने बाध्यता रहेछ। बाहिर देख्दा पहिलो घर सुमार्गीसँग जोडियो। दोस्रो घर ठेकेदार शारदाप्रसाद अधिकारीसँग जोडियो। यस्तो स्थिति नआओस् भन्नका लागि नयाँ ढंगले पहल लिनुपर्छ भन्ने सोचिरहेका छौं।
आगामी चुनावमा तालमेलको कुरा के हुन्छ?
केपी ओलीले प्रतिगमनकारी कदम चालेकाले यो अवस्थामा आएका हौं। एकीकृत पार्टीलाई बचाउनुपर्छ भन्ने कुरामा म आफैं पनि लागेको हुँ। आमजनता, कार्यकर्ताको चाहना तत्कालीन नेकपा एक भइरहोस् भन्ने नै थियो। त्यहीँभित्र बहस र छलफल गरेर रुपान्तरण गर्न सकिन्छ भन्ने थियो। पहिलो केन्द्रीय समिति बैठक राष्ट्रिय सभामा ३/४ दिन जुन ढंगबाट व्यवस्थित रुपमा बस्यो, त्यतिबेला राम्रो वातावरण पनि बनेको थियो। त्यस बैठक प्रचण्डले सञ्चालन गर्नुभएको थियो। राम्रो हुँदै गएको पनि थियो।
त्यसपछि एकथरी मान्छेलाई पार्टी माओवादीको कब्जामा गयो भन्ने परेछ। त्यहाँबाट पार्टीमा अन्तरविरोध सुरु भयो। वास्तवमा त्यो बेला पार्टी एकतावद्ध र व्यवस्थित समेत भएको थियो। तर, पार्टीलाई प्रचण्डले कब्जा गर्यो भन्ने ठान्ने समूहको द्वारिका होटेलमा बैठक बस्यो। त्यसपछि नै पार्टीमा खास अन्तरविरोध देखिन थाल्यो।
अहिले प्रतिगमनकारी शक्तिहरु एक हुँदै गएका छन्। केही दिन अघि कमल थापाले ओलीको प्रशंसा गरेकोबाट पनि त्यो कुरा प्रष्ट हुन्छ। उहाँका नजिकका मान्छेले संघीयताका विषयमा बोलेका कुराले बुझ्न सकिन्छ। धर्मनिरपेक्षताको विषयमा बोलेका छन्। उहाँले नै बोल्न लगाएको हो। बोल्दा कस्तो प्रतिक्रिया आउँदो रहेछ भनेर परीक्षण गरिएको हो।
त्यसैले मोहनविक्रम सिंहले केपी ओली राजावादीसँग मिलेर परिवर्तन उल्ट्याउन खोजेका छन् भनिरहनु भएको छ। यो त्रासबाट कसरी मुक्त गर्ने भन्ने छ। देशी विदेशी शक्तिलाई यो परिवर्तन मन परेको छैन। अहिलेको परिवर्तन जोगिँदा कुनै न कुनै हिसाबले माओवादी हावी भइरहँदो रहेछ भन्ने परेको छ। माओवादी कमजोर भए पनि ऊ वरिपरि राजनीति घुमिरहेको छ। चाहे पार्टी एकता होस् वा फुट्दा, राजनीति माओवादीकै वरिपरि घुमिरहेको छ। त्यो देशी विदेशी प्रक्रियावादीलाई मन परेको छैन। यो माओवादी बीउ समाप्त पार्न उसका अजेण्डा समाप्त गर्नुपर्छ भन्ने छ। माओवादी अजेण्डा सकाउन पाए माओवादी पनि सकिन्छ भन्ने हिसाबले देशी विदेशी प्रतिक्रियावादी लागिरहेका छन्।
त्यसैले चुनावमा मोर्चाबन्दी गरेरै जानुपर्छ भन्ने छ। प्रतिगमनका विरुद्ध जो-जो शक्ति लागेका थिए, ती शक्तिहरु एकतावद्ध हुनुपर्छ भन्ने छ। त्यो कस्तो खालको तालमेल र सहकार्य गर्ने भन्ने कुरा आपसी छलफलबाट टुंगो लगाउन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।