काठमाडौंं– नेपाली कांग्रेसको १४औं महाधिवेशन दुई दिनपछि, शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसभित्रका विभिन्न गुट र उपगुट यतिबेला उम्मेदवारको नाम टुंग्याउन अन्तिम रस्साकस्सीमा जुटेका छन्। उनीहरु भेला र गुट बैठक निरन्तर चलिरहेका छन्। तर, यो रस्साकस्सीमा केही चिनिएका अनुहार भने देखिँदैनन्। चिनिएका चर्चित भएर मात्र होइन, केन्द्रीय राजनीतिमा आउने चाहना सार्वजनिक रुपमै प्रकट गरेका उनीहरु यो रस्साकस्सीभन्दा टाढा पर्नुको कारण रोचक छ। तीमध्ये केही त कांग्रेसको केन्द्रीय पदाधिकारीमै दाबेदारी प्रस्तुत गरिरहेकाहरु पनि थिए। उनीहरु त्यसका लागि महाधिवेशन प्रतिनिधि भएर आउनुपथ्र्यो। तर, उनीहरु महाधिवेशन प्रतिनिधिमै पराजित भए।
पछिल्लो पटक यो पंक्तिमा सांसद अमरेशकुमार सिंह थपिएका छन्। सिंह तिनै हुन् जसले कांग्रेसको सहमहामन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। तर, उनी महाधिवेशन प्रतिनिधि नै बन्न सकेनन्। सिंहजस्तै कैयौं चर्चित नेता कांग्रेसको १४ औं महाधिवेशनमा सहभागीसमेत हुन नपाउनेगरी बाटोमै पराजित भएका छन्। तिनमा पूर्वमन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, पूर्वसभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत छन्।
अमरेशकुमार सिंह, प्रतिनिधि सभा सदस्य
केन्द्रीय राजनीतिमा आफ्नो बेग्लै पहुँच भएको देखाउँदै आएका नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह यसपटक निर्वाचन क्षेत्रमै पराजित भएका छन्। आफूलाई सहमहामन्त्रीको उम्मेदवार दावी गरिरहेका सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि केन्द्रीय पदाधिकारीमा दावी गर्ने सम्भावना यो पटकको महाधिवेशनका लागि समाप्त भएको छ।
मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सिंहमात्र होइन, उनीपक्षका नेता तथा कार्यकर्ताहरू समेत क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भए। सिंह कांग्रेसमा डा शेखर कोइरालानिकट हुन्। सर्लाही–४ मा कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा)पक्षले जित हात पारेको छ।
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप सिंहले लगाउँदै आएका थिए। क्रियाशील सदस्यताकै विवादले त्यहाँ पटक–पटक कार्यकर्ताबीच झडप र गोलीकाण्डसमेत भएको थियो।
लक्ष्मण घिमिरे, पूर्वमन्त्री
कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित हुने अर्का अनुहार हुन् पुराना कांग्रेस नेता लक्ष्मण घिमिरे। उनी पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पनि हुन्। उनी चौधौं महाधिवेशनका लागि आफ्नो गृहजिल्ला रामेछापबाट प्रतिनिधि चयन हुन सकेनन्। उनीसँगै नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि रामेछापबाटै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
कुनै समय रामेछापमा लोकप्रिय नेताका रुपमा रहेका घिमिरे पछिल्लो समय निर्वाचनका बेला मात्र गाउँकेन्द्रित हुने गरेको भनेर आलोचित थिए। कांग्रेसमा हिन्दुत्वको वकालत गर्न थालेपछि उनको आलोचना थप बढेको थियो। कांग्रेसको संविधानसभा तथा संसदीय दलको मुख्य सचेतक रहिसकेका घिमिरे जिल्लाका सबैभन्दा वरिष्ठ नेता पनि हुन्। २०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जलस्रोतमन्त्री बनेका उनले २०५१ मा एमालेका देवशंकर पौडेलसँग ११ मतले पराजय भोगेपछि भने प्रत्यक्ष निर्वाचन जित्न सकेनन्। २०६४ सालको संविधानसभा निर्वाचनपछि समानुपातिक सभासद–सांसद बनेपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई दलको मुख्य सचेतक बनाएका थिए।
कृष्णप्रसाद पौडेल, कांग्रेस मुख्यसचिव
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। केन्द्रीय कार्यालयका मुख्यसचिव भएकाले कांग्रेसका क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनको प्रमुख भूमिका थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने उनी काठमाडौंं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए। कांग्रेस नेता प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य समूहको पुरुषतर्फ उम्मेदवारी दिएका थिए। उनले प्रतिस्पर्धामा जम्मा ८३ मत पाए। खस आर्य (पुरुष)तर्फ दक्ष पौडेल १२८ मत, रामशरण थपलिया १०७ र नगेन्द्रध्वज कार्की ९८ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।


किरणराज पौडेल, आमन्त्रित केन्द्रीय सदस्य
महाधिवेशन प्रतिनिधिमा पराजित हुने अर्का अनुहार हुन् कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल। बागलुङ क्षेत्र नम्बर १ वाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनी पराजित भए। पौडेल कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्। बाग्गुङबाट निर्वाचित २५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना रामचन्द्र पौडेलपक्षका छन्।
कांग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बागलुङ क्षेत्र नम्बर १ बाट पराजित थापा पनि संस्थापन (शेरबहादुर देउवा) समूहका हुन्।
शेषनाथ अधिकारी, पूर्वराज्यमन्त्री
नेपाली कांग्रेसका नेता तथा पूर्वशिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भए। चितवन क्षेत्र नम्बर १ बाट अधिकारीले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। खुलातर्फ १० पदका लागि ३६ जनाले उम्मेदवारी दिएकोमा अधिकारीले कुल खसेको ९४२ मतमध्ये २७२ मत मात्र पाए।
अधिकारी पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संविधानसभा सदस्य हुन्।
त्यस्तै, चितवनकै संविधानसभा सदस्य सावित्रीदेवी चौधरी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। समावेशी थारु महिला कोटाबाट उम्मेदवारी दिएकी चौधरीलाई चन्द्रकुमारी चौधरीले पराजित गरेकी हुन्। सावित्रीदेवी कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको समूहमा छन्।
लवश्री न्यौपाने, पूर्वजिल्ला सभापति
रामेछाप कांग्रेसका पूर्वजिल्लासभापति लवश्री न्यौपाने पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। न्यौपाने यसपटक केन्द्रीय राजनीतिमा पदार्पण गर्ने योजनामा थिए। उनको त्यो योजना कम्तीमा चार वर्षलाई रोकिएको छ। महाधिवेशन प्रतिनिधिमा उनीभन्दा जुनियर र युवाले धेरै मत ल्याए।
शिवराज जोशी, पूर्वमन्त्री
सुर्खेतको कांग्रेस राजनीतिमा शिवराज जोशी सबैले चिन्ने नाम हो। उनी पूर्वमन्त्रीसमेत हुन्। जिल्लाका पूराना नेता जोशी यसपटक भने १४औं महाधिवेशन प्रतिनिधिमै पराजित भए। सुर्खेत क्षेत्र नम्बर २ बाट चयन हुने महाधिवेशन प्रतिनिधिमा पराजित जोशीले ३१० मत प्राप्त गरेका थिए। महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उनको केन्द्रमा पुग्ने चाहनामा ब्रेक लागेको छ। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा उनी १३ औं नम्बरमा परेका थिए।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका रेग्मीले ३२० मत पाएका थिए। महाधिवेशन प्रतिनिधिमा पराजित भएसँगै उनी जिल्ला सभापतिका लागि उम्मेदवार बन्नबाट समेत बञ्चित भए। जोशी र रेग्मी दुबै संस्थापनइतर (रामचन्द्र पौडेल) समूहका हुन्।
खड्गबहादुर बस्याल, पूर्वराज्यमन्त्री
पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल पनि कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका पूर्वमन्त्री जोशीले ३१० मत प्राप्त गरेका थिए। दलित कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका बस्याललाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन्। उनले ४७३ मत प्राप्त गरे। बस्याल पनि कांग्रेसको संस्थापनइतरका हुन्।
मोहनप्रसाद पाण्डे, प्रतिनिधि सभा सदस्य
प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। स्याङ्जा क्षेत्र नम्वर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनी ४७९ मत ल्याएर १२औं नम्बरमा परेका थिए। पाण्डे कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। त्यस्तै, स्याङ्जा कांग्रेसका पूर्वसभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। स्याङ्जाकै वालिङ नगरपालिकाका पूर्वमेयर भोजराज अर्याल पनि महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन्।
बुद्धिबहादुर राना, कार्यवाहक जिल्ला सभापति
नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार) पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। खुलातर्फ प्रतिस्पर्धा गरेका रानाले जम्मा ४३७ मत प्राप्त गरे। महाधिवेशन प्रतिनिधिमा खुलातर्फ क्षेत्र नम्बर १ बाट १० जना विजयी हुँदा राना१२ औँ नम्बरमा थिए। उनी कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहका हुन्।
पुरञ्जन आचार्य, राजनीतिक विश्लेष्क
१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका डा शेखर कोइरालानिकट रहेका लेखक एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी प्रतिनिधि चयन हुन सकेनन्। शेखर कोइरालाको प्रचार अभियानमा सक्रिय रहेका आचार्य १० जना खुला महाधिवेशन प्रतिनिधिको सिट रहेकोमा २०औं नम्बरमा आएका थिए।
तारानाथ दाहाल, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल पनि कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा जोडिन खोजिरहेका दाहालको त्यो योजना कम्तीमा यो कार्यकालभर पूरा नहुने भएको छ।
दाहाल कांग्रेस राजनीतिमा प्रत्यक्ष जोडिएको डेढ दशक हुन लाग्यो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्वर २ बाट कांग्रेसको उम्मेदवार बनेर पराजित भएका थिए।
हरि बोहरा, जिल्ला सभापति
नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बोहरा कञ्चनपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए। नेविसंघ महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।