काठमाडौं– नेपाली कांग्रेस निकट जनसम्पर्क समिति दक्षिण कोरियामा मूल नेतृत्वको कार्यशैलीलाई लिएर विवाद देखिएको छ।
सभापति आस्था विन्दु मल्लको कार्यक्षमता र शैलीमाथि जनसम्पर्क समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
सभापतिसहित महामन्त्री कुमार थापामाथि मनोमानी गरेको आरोप लागेको छ। ‘लामो समयदेखि विधानको परिपालना नगरी उल्लंघन गर्दै एकलौटी रूपमा चलाउँदै लागिएको संगठन निस्क्रिय जस्तै देखिएको छ’ उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेसमा आस्थावान एक कार्यकर्ताले भने, ‘यसै त नियमित २ वर्षको कार्यकाल सकिएको अर्को २ वर्ष हुन लाग्दा सभापति मल्लको नेतृत्वमा रहेको कार्यसमितिले वैधानिकता पनि गुमाइसकेको छ।’
नेतृत्वले आफू निकटका सदस्यहरु मात्र उपस्थित गराई निर्णय गराउँदै आएको आरोपसमेत लागेको छ। नियोजित ढंगले अकस्मात बैठक डाकेर टाढा रहेकाहरु उपस्थित हुन नसक्ने वातावरण बनाइएको ती सदस्यले बताए।
‘प्रजातन्त्रमा उच्चतम विश्वास गर्ने पार्टीको संगठन जनसम्पर्क समितिले छापामार शैली अपनाएर बैठकको आह्वान गर्नु आफैमा लज्जाको कुरा हो’ उनले भने।
दुई वर्षे कार्यकालका लागि निर्वाचित मल्लको कार्यसमितिले करिब चारवर्ष पार गरेको छ। वैधानिकता गुमिसकेको कार्यसमितिको मूल नेतृत्वले आफू खुसी नियुक्तिहरु गरेको उपसभापति लक्ष्मण दाहालले बताए। उपसभापति सहितका अधिकांश पदाधिकारीले उठाएको विषयलाई मूल नेतृत्वले वेवास्ता गरेको दाहाले बताए।
महामन्त्री थापाले कुनै अजेण्डाहरू बैठकमा नराखि मनोमानी ढंगले बैठकको माइन्युट तयार गरेर आरोप लागेको छ। बैठकमा जबर्जस्ती रूपमा कोरिया बसाई अन्त्य गरेर घर फर्केका सदस्यहरूको ठाउँमा अरु सदस्य मनोनित गरेको आरोप लागेको छ।
सल्लाहकारहरू मनोनित गर्ने क्षेत्रिय र केन्द्रिय अधिवेशनको मिति नै घोषणा नगरी विवादित नामहरू बिधान संयोजक र निर्वाचन प्रमुख जस्ता महत्वपूर्ण पदमा मनोनित गरेको असन्तुष्ट पक्षको भनाइ छ। विधान विपरित निर्णय गरेपछि जनसम्पर्क समितिमा झडप स्थिति उत्पन्न भई विना निष्कर्ष बैठक टुङ्गिएको बताइएको छ।
हिजो (नोभेम्बर ७,आइतबार) कार्यसमितिको बैठकमा जबर्जस्ति निर्णय गराउँन खोज्दा अधिकांश कार्यसमितिका सदस्यहरुले विरोध जनाएको बताइएको छ।
विवाद सल्टाउनुको सट्टा माइन्युट लिएर महामन्त्रीनै बैठकस्थलबाट गायब भएको विदेश विभाग प्रमुख कमल शाहीले बताए। कोरोना महामारीको एउटै मात्र कारण देखाएर अधिवेशनको मिति लम्ब्याउँदै लागेमा स्वीकार्य नहुने असन्तुष्ट पक्षको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।