काठमाडौं– गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुको 'विश्व सम्मेलन'बाट पारित भएका निर्णय तथा निष्कर्ष प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई हस्तान्तरण गरिएको छ। एनआरएनको निर्वाचन तथा विश्व सम्मेलन तोकिएको मितिमा सम्पन्न नभएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई एनसीसीको विश्व सम्मेलनबाट पारित निर्णय बुझाइएको हो।
संघको दशौं महाधिवेशन(विश्व सम्मेलन) अक्टोबर २३–२५ का लागि तय गरिएको थियो भने निर्वाचन अक्टोबर २० का लागि तय गरिएको थियो। तर, महाधिवेशन प्रतिनिधि(डेलिगेट्स) चयनको विवादका कारण विश्व सम्मेलन र निर्वाचन स्थगित गरिएको हो।
निर्वाचन र विश्व सम्मेलन दुवै स्थगित भएपछि राष्ट्रिय समन्वय परिषद्हरुको 'विश्व सम्मेलन' अक्टोबर २४ मा आयोजना गरिएको थियो। भर्चुअल सम्मेलनले सात बुँदे घोषणापत्र जारी गरेको थियो।
भर्चुअल सम्मेलनबाट भएका निर्णयहरु प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको अवसरमा लण्डनमा नै आयोजित कार्यक्रमका हस्तान्तरण गरिएको हो। परराष्ट्रमन्त्री खड्कालाई भने इमेलमार्फत् पठाइएको जनाइएको छ।
प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई पठाइएको पत्रमा विश्व सम्मेलनले पारित गरेका निष्कर्ष जतिसक्दो छिटो कार्यान्वयनका लागि संघलाई आवश्यक दबाब दिन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।