काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विवादित मुद्दामा समाधान निकाल्न स्वतन्त्र टोली गठन गर्ने निर्णय गरेको छ। उक्त टोली पूर्वअध्यक्षहरुको परामर्शमा गठन गरिने भएको छ।
विवादित मुद्दामा सहमति खोज्न उक्त टोलीले आवश्यक सल्लाह तथा कार्यादेश भने पूर्वअध्यक्षहरुबाट लिनेछ। प्रतिनिधि विवादले १०औं विश्व सम्मेलन तोकिएको समयमा हुन सकेन। कोरोनाकालमा आइएलओबाट प्राप्त रकममा हिनामिना भएकोसमेत विषय उठेको छ।
तोकिएको समयमा विश्व सम्मेलन हुन नसकेपछि कुमार पन्त नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि छ महिनाको लागि थपिएको छ।
‘विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल छ महिनाको लागि थप गर्ने निर्णय गरेको छ,’ एनआरएनए केन्द्रीय समितिको भर्चुअल बैठकको निर्णयमा भनिएको छ। छ महिना थप्ने निर्णयप्रति वर्तमान कार्यसमितिमै विवाद छ। उपाध्यक्ष मन केसीले कार्यकाल थप्ने निर्णय नभएको जनाएका छन्।
प्रवक्ता डीबी कार्कीले संघको ८०औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले समय थप्ने निर्णय गरेको जानकारी दिए। विश्व सम्मेलन नोभेम्बर ३० भित्र गर्ने निर्णय पनि गरेको छ। तोकिएको समयमा निर्वाचन गराउन बैठकले अध्यक्ष पन्तलाई परराष्ट्र मन्त्रालय र सरोकारवालाहरुसँग छलफल गर्न जिम्मेवारी दिएको छ।
यसैबीच समयमा निर्वाचन गराउने विषयमा छलफल गर्न संघका पदाधिकारीले परराष्ट्रमन्त्री नारायण खड्कालाई आज भेट्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।