यो एमबीबीएसको सिजन हो।
यो समय आफ्नो सपनाको खेती उठाउने बेला हो। कतिका खेती फस्टाए होलन्, अनि कतिका मासिए पनि। कति अझै मलजल गरी बसेका होलान्, जोगाउने भनि। आउँदा दिनमा कतिपयले यो खेतीका लागी बाआमाको बर्षौंदेखिको जोहो सम्पत्ति साट्नेछन्। किनकि, यो सामान्य खेती हैन, एमबीबीएसको खेती हो र यस्ता महँगा सपनाका खेती ठूलो मूल्य नचुकाई पुरा हुँदैन।
‘आहा डाक्टर!’
भन्ने नै हो भने कतिपय एमबीबीएसका विद्यार्थी नामको अगाडि यही ‘डा.’ देख्न लालायित भएर पनि मेडिकल कलेजसम्म आइपुगेका छन्। यो ‘डा.’ उपाधिको जादू हो। किनभने मेडिकल कलेजमा छिरेदेखि घरपरिवार र आफन्तबाट पाइने भिन्न व्यवहार र समाजले आफूलाई हेर्ने दृष्टिकोणमा समेत ठूलो परिवर्तनको आभास गर्न पाइन्छ। ‘अब त हाम्री छोरी डाक्टर बन्दैछे’ भन्दै दशैँमा दक्षिणा बढ्नेदेखि हरेक आफन्तको घरमा ‘स्पेसल गेस्ट’को सूचीमा समेत बढोत्तरी हुन्छ। यो उपाधिले उसलाई घरपरिवार र समाजको ‘रोल मोडल’ बनाइदिन्छ।
तर, के डाक्टर पढेपछि आउने प्रतिफल त्यति सजिलो होला, जति मान्छेहरुले सोचेका छन्?
कदापि हुँदैन। अनेकौ किताबका भारी, अनगिन्ती परीक्षा, अनेकौँ रातको अनिद्रा, छुट्दै जाने बाहिरका साथी-सँगती, दिनदिनै टाढिने पारिवारिक जीवन, बढ्दै जाने चिन्ता अनि घट्दै जाने कपाल। छोटकरीमा भन्नुपर्दा एमबीबीएस जीवन यही हो।
कहिलेकाहीँ लाग्छ मानवजीवन बचाउनेजस्तो संवेदनशील काममा लागेकाहरु माथि यति ‘प्रेसर’ त हुनैपर्छ। तर, यति भन्दै गर्दा सोच्छु कि डाक्टर बन्न हिँडेको पनि त अर्को एउटा मान्छे नै हो। अनगिन्ती ‘प्रेसर’, अनि डाक्टर भएपछि खरो भएर उत्रिनै पर्छ भन्ने आन्तरिक तथा बाह्य दबाबले सबै मेडिकल विद्यार्थीलाई थिचिरहन्छ। वास्तबमा यो सबै दबाब हेर्ने हो भने हाम्रो मेडिकल शिक्षाको प्रणाली एउटा ‘प्रेसर कुकर’ भन्दा कम छैन। यसले हरेक परीक्षा अनि जटिलतसँगै विद्यार्थीलाई सिठ्ठी लाइरहन्छ।
पाकेर निस्किने निस्किहाल्छन्। अरु त्यहीँभित्र रहन्छन्। सिठ्ठी लागिरहन्छ, लागिरहन्छ।
तर, सिठ्ठी लाउनुको पनि आफ्नै तरिका हुन्छ। नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिटो र सजिलो गरी लाग्छ। हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, वासर खुस्केजस्तो स्याइँस्याइँ गर्दै कैयौँ निरर्थक प्रयासपछि मात्र। यतिन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ, पुरै गलेको अनि बेस्वादी। अधिकांश मेडिकल कलेजका थाकेका विद्यार्थीजस्तै।
देशकै सबैभन्दा पुरानो विश्वविधालय त्रिभुवन विश्वविधालयको एमबीबीएसको पाठ्यक्रमको पछिल्लो संस्करण नै निकै वर्ष पुरानो छ। अझ त्यसमाथी ६-६ वटा विषयको जाँच एकैदिन दिनुपर्ने हुन्छ। जसकारण कम समयमा बढी कुराहरु जान्नै पर्ने दबाब हुनाले एउटा एमबीबीएसको विद्यार्थीको दिमागमा परीक्षा पास गर्ने बाहेक ठूलो ध्याउन्न केही हुँदैन। अझ काठमाडौं विश्वविधालयमा कतिपय साथीहरु प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुँदा थेउरी (सैद्धान्तिक विषयको परीक्षा) समेत दिनु पर्ने बाध्यता छ।
एक हिसाबले त यो ठीकै हो, प्राक्टिकल नजान्नेले थेउरीमा आफूलाई सिद्ध गर्नै पर्छ। तर, अर्को हिसाबले हेर्दा परीक्षा पास गर्ने दबाब भन्दाबाहेक यस्तो अवस्थाले अरु के नै सिकाउला र? अनि के मेडिकल कलेजमा हुने भनिएका प्राक्टिकल कक्षाहरु साचिँकै व्यावहारिक ज्ञानले भरिपूर्ण हुन्छन् त? पढेको पाँच वर्षसम्म पनि सुईसमेत हान्न नसिकाइने अनि एउटा क्यानुला नै लाउनुपर्दा समेत नर्सलाई गुहार्नुपर्ने अवस्थाको प्रयोगात्मक शिक्षाले कतिको आत्मविश्वास भएको डाक्टर उत्पादन गर्ला? १० हजार पाना जति थेउरी पढुन्जेल पनि प्रयोगात्मक कक्षाका नाममा त्यही प्रश्नोत्तर (भाइभा) मात्र कति दिन गर्ने?
एकछिनलाई एउटा काल्पनिक घटना सोचौं। उड्दै गरेको जहाजमा कसैलाई केहि भैइहाल्यो भने परिचारिकाको ‘यहाँ कोही डाक्टर वा मेडिकलको विद्यार्थी हुनुहुन्छ?’ भन्ने प्रश्नमा मुकदर्शक बनी बसेर हेर्नुपर्ने अवस्थाको छ हाम्रो पढाइ। यो घटना काल्पनिक नै भए पनि एउटा डाक्टरको जीवनमा जहिले र जुनसुकै बेला आइपर्न सक्छन्। आखिर डाक्टरहरु भनेकै आकस्मिक युद्धका निमित्त तयार सैनिकहरु हुन्। यस्ता युद्दको निमित्त तयार गराउने अबको चिकित्सा शिक्षाले विद्यार्थीलाई कागजी खोष्टा पढ्नमा मात्र सिमित राख्ने कि मैदानमै उतारेर आवश्यक तालिम दिने?
डा. गोविन्द केसीको आन्दोलनदेखि लिएर चिकित्सा शिक्षा आयोग बन्नेसम्मका घटना हेर्दा चिकित्सा क्षेत्रमा परिवर्तन नभएका हैनन्। तर, यी पर्याप्त छैनन्। एक त गरीब देश, अनि कम जनशक्त्ति। त्यसमाथी उत्पादन भइरहेकाहरुमा पनि उचित आत्मविश्वास र दक्षताको अभाव हुँदा स्वास्थ्य क्षेत्र जर्जर मात्र हैन ध्वस्त नै हुने निश्चित छ। देशको स्वास्थ्यस्थितिमा सुधार गर्नै छ भने आधारभूत तहबाटै गर्दा कसो होला?
अब डाक्टर बन्ने सपना लिएर मेडिकल कलेज छिर्नेका लागी उचित पाठ्यक्रमको व्यवस्था हुनुपर्छ। प्रयोगात्मक कक्षाका नाममा ‘बिरामीको हाल बेहाल’ मात्र सोध्न नलगाई अरु आधारभूत सीप विकासका तालिमको पनि व्यवस्था हुनुपर्छ। पढुन्जेल परीक्षा पास गर्ने ध्याउन्नभन्दा बाहेक अझै सिक्ने र सिकाउनेको जमर्को हुनुपर्छ। अनि सय मनको भारी सरह लाग्ने यी परीक्षाहरुसँग जुझ्न अझै मजाको पठनपाठनको व्यवस्था भए कति गज्जब हुन्थ्यो होला।
बिरामीको मृत्यु र जीवनबीच पलपलको दूरी तय गर्ने डाक्टरकै समयलाई सम्बन्धितहरुले महत्व नदिए अब बन्ने डाक्टरहरुले समयको पाबन्दीबारे कसरी सिक्ने? त्यसैले अब आउने समयमा सम्बन्धित निकायहरुबाट परीक्षामा चुस्तता, पठनपाठनमा नियमितता अनि समयमै नतिजा प्रकाशनका निम्ति प्रतिबद्धता देख्न पाइयोस। यस्तो परिवर्तनको सुरुवात चाहिँ चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ्न आतुर नयाँ भाइबहिनीहरुको छिटोछरितो भर्ना प्रक्रियाको थालनी गरिदिएर श्रीगणेश गरिदियोस्। ताकी, आउँदा दिनहरुमा अनियमितता र प्रेसर कुकरभित्र रुमल्लिनुपर्ने भविष्यका डाक्टरहरुले उचित दिशानिर्देश पाउन्।
(ओली नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत् छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।