काठमाडौं– एनआरएनएको केन्द्रीय महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने भएकी छन्।
अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुनेगरि तय भएको १०औं विश्व सम्मेलनमा गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।
दुई वर्षे पदावधि हुने एनआरएनएको केन्द्रीय समितिमा दक्षिण कोरियाबाट गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। अध्यक्षका प्रत्यासी कुल आचार्यको प्यानलबाट उनले प्रतिस्पर्धा गर्ने भएकी छन्।
बद्री केसीको प्यानलबाट महिला संयोजकमा उम्मेदवारी दिएकी संगिता मरहठ्ठासँग गुरुङको प्रतिष्पर्धा हुनेछ।
वुमन फर वुमन दक्षिण कोरियाको संस्थापक अध्यक्ष समेत उनी हुन्। कोरियामा रेष्टुरेन्ट र मार्ट सञ्चालन गरिरहेकी उनले नेपालमा जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमा लगानी गरेकी छन्। कोरिया सरकारले उनलाई सम्मानार्थ सिटिजनसीप प्रदान गरेको छ।
गुरुङ अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।