आफ्नो छोटो आयुमा पूर्ण जीवन बाँच्ने एक जना नेता हुन्, मदन भण्डारी। नेपालको कम्युनिस्ट आन्दोलनलाई उनले जनताको बहुदलीय जनवादको उपहार दिएकै कारण आज कम्युनिस्ट पार्टीहरु संसददेखि सडकसम्म उभिन सकेका छन्। लोकतन्त्रको कसीमा प्रमाणित हुन सकेका छन्। भण्डारीको पार्टी एमाले र एमालेबाट विभाजित पार्टीहरुमा जबज सधैं भावनाको विषय भइरहेको छ। अन्य कम्युनिस्ट पार्टीले जबजलाई स्वीकार नगरेता पनि उही बाटो हिँडिरहेका छन्।
भण्डारीको जिप दुर्घटनामा निधन भएको २८ वर्षभन्दा बढी भइसकेको छ। उनीबारे अंशअंशमा र सन्दर्भअनुसार धेरै लेखिएका छन्। सम्झना लेखिएका छन्, समर्पण लेखिएका छन्, समीक्षा लेखिएका छन्। तैपनि उनको जीवनरेखालाई देखाउने सांगोपांग सामग्रीको अभाव थियो। त्यसको पूर्ति गर्ने प्रयास गर्ने लेखक हुन्, रमेश रुछेन राई। राजनीति र विकासका स्वतन्त्र अध्येता राईसँग उनको पुस्तक ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’ र मदनलाई केन्द्रमा राखेर नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः
पुस्तकको सन्दर्भ
तपाईंद्वारा लिखित ‘श्वेतशार्दूल’ कस्तो पुस्तक हो? कसका लागि हो?
सामान्यरुपमा भन्दा मैले पुस्तकमा मदन भण्डारीको जीवनी नै लेखेको हो। पुस्तकमा उहाँको जन्मदेखि मृत्युसम्मका विशेष घटनाक्रमहरु छन्। उहाँको जीवनमार्फत नेपालको वाम राजनीति हुर्किएको कालखण्ड र एमाले तथा मालेको कलिलो समयको कथा यो पुस्तकको मुख्य खण्ड हो। त्यो सँगसँगै पूर्वी पहाडबाट पूर्वी तराईमा हुने बसाइसराइ, त्यहाँको जनजीवन, समाज, आर्थिक प्रणाली र सांस्कृतिक पद्धतिका कुरा जोडिन आउँछन्।
मैले यो पुस्तक २०७१ सालमा लेख्न थालेको हुँ। त्यतिबेला मदन भण्डारीको मृत्युको समयमा जन्मिएका बच्चाहरु नै २१ वर्षका भइसकेका थिए। उनीहरु ब्याचरल पढ्ने उमेरका थिए। उनीहरुलाई नै मदन भण्डारी चिनाउने भनेर मैले यो पुस्तक लेख्न थालेको थिएँ। त्यसैले त्यो उमेर समूहका लागि महत्त्वपूर्ण होला। त्यससँगसँगै यो पुस्तक स्वतन्त्र पाठक, नेकपा एमालेका कार्यकर्ता तथा वामपन्थी राजनीतिको बारेमा रुचि राख्नेहरुलाई पनि काम लाग्ला। केही भूमिगत र केही खुला महाअधिवेशनको कुरा पनि छन्। त्यसैले अहिलेको नेकपा एमालेको वैचारिक आधार कसरी तयार भयो भन्ने बारेमा जानकारी लिन चाहनेलाई काम उपयोगी हुनसक्छ।
लेखनका लागि मदन भण्डारीकै जीवन किन रोज्नुभयो?
व्यक्तिगत आशक्ति आ-आफ्नो हुन्छ होला। मदन भण्डारी भन्ने बित्तिकै एउटा व्यक्ति मात्रै नभएर नेपालको वाम राजनीतिको लोकतान्त्रीकरण गर्ने एकजना सबैभन्दा अगुवा भनेर चिन्छौं पनि। मेरो हकमा, म जहाँ काम गर्थें, त्यहाँबाट मैले मदन भण्डारीको छवि निर्माण कसरी भयो भन्ने बारेमा एउटा रिसर्च गरेको थिएँ। त्यस सिलसिलामा थुप्रै सूचना र जानकारीहरु संकलन गरेको हुनाले उहाँको बारेमा अलि बढी काम गर्नुपर्छ होला भनेर लागेँ। आफ्नो रुचि पनि थियो, साथीहरुले पनि सुर्याए। त्यही अनुसार मैले काम गरें।
मदन भण्डारीमार्फत नेपालको वाम आन्दोलनको एउटा समय देखाउन सकिन्छ। नेपालको वाम आन्दोलन कसरी हुर्किँदैथियो, संगठित हुँदैथियो भन्ने समयलाई बुझ्न सजिलो हुन्छ भनेर पनि मदन भण्डारी छानेको हो। मैले पुस्तकको ब्लर्बमा पनि लेखेको छु- 'यो पुस्तक नेपाली राजनीतिका प्रखर पात्रको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो।' यिनै कारणले मदन भण्डारी छानियो भन्दा हुन्छ।
मदन भण्डारीलाई तपाईंले कसरी चिन्नुभयो? धेरैले जस्तो उहाँको भाषण र चर्चा सुनेरै हो वा केही विशेष सन्दर्भहरु पनि छन्?
मदन भण्डारीलाई अरु सामान्य मान्छेले जसरी चिने, मैले पनि त्यसैगरी चिनेको हो। २०४७/४८ सालतिर अखिलको स्कुल लेभलको कार्यक्रममा उहाँको भाषणहरु धेरै बज्थ्यो, त्यो सुनेर उहाँलाई चिनेको हुँ। यसरी भन्दा उहाँलाई केटाकेटीदेखि चिनेको हो। तर उहाँको बारेमा धेरै कुराचाहिँ थाहा थिएन। जतिबेला मैले उहाँको छवि निर्माणको विषयमा काम सुरु गरेँ, त्यतिबेला मात्रै उहाँको बहुआयामिक व्यक्तित्वको बारेमा थाहा भयो। त्यसअघि उहाँको छवि त्यस किसिमले निर्माण गरिएको मात्रै हो कि उहाँ त्यस्तै नै हुनुहुन्थ्यो भन्ने बारेमा मलाई पनि थाहा थिएन। मसँग एउटा सम्झना भने छ। उहाँले २०४७ चैत २७ गते हुनुपर्छ, इलाममा रत्नकुमार वान्तवाको शालिक अनावरण गर्न आउनुभएको थियो, हामीले टाढाबाट उहाँलाई देखेको हो। त्योभन्दा बढीचाहिँ मलाई सम्झना छैन।
पुस्तक मदन भण्डारीको जीवनसँग जोडिएका घटनाक्रमहरु मात्रै छन् कि तपाईंको लेखकीय विश्लेषण र निष्कर्ष पनि छन्?
मैले अघि पनि भनेँ, ब्याचरल पढ्ने उमेरकालाई मदन भण्डारी चिनाउने भनेर मैले यो पुस्तक लेख्न थालेको थिएँ। त्यसैले पुस्तकमा मैले उहाँको जीवनमा भए गरेका घटनाहरु, उहाँको बारेमा भेटेको सूचना राखेँ, तर आफ्नो दृष्टिकोण राखिनँ। विश्लेषणहरु राखिनँ। त्यसैले पुस्तकमा उहाँको जीवन मात्रै छ।
पुस्तकमा धेरै यस्ता घटनाक्रमहरु भेटिन्छन्, जुन मदन भण्डारी र सम्बन्धित पात्रलाई मात्रै जानकारी भएको होस्। जस्तो, विद्या भण्डारीले ‘आहा! कति राम्रो खुकुरी’ भनेपछि विवाहअघि नै मदन भण्डारीले उनलाई आफूले बोकेको खुकुरी उपहार दिएका थिए। तपाईंले ती लगायतका त्यस्ता सूचना पाउन र त्यसको प्रमाणिकता जाँच गर्नका लागि निकै मेहनत गर्नुपरेको आकलन गर्न सकिन्छ। केही अनुभव सुनाइदिनुस् न!
धेरैजसो सूचनाको स्रोत त प्रकाशित सन्दर्भहरु नै हुन्। ती सबैजसोलाई संकलन गरेर एकपटक हेरेँ। त्यहाँ भएका सूचनाहरु प्राप्त गरेपछि त्यसलाई निश्चित गर्नका लागि धेरै मान्छेहरुलाई भेट्नुपर्ने भयो। यसकै लागि म दुईपटक ताप्लेजुङ (मदनको जन्मभूमि) गएँ। मदन भण्डारीसँगै हुर्किनुभएका शिवराज पौडेल हुनुहुन्छ, उहाँलाई पटकपटक भेटेँ। मदन भण्डारीलाई जन्मेको दश महिनामा देख्ने उहाँको माइजु जानुका पोखरेललाई भेटेँ। मदनले बनारसमा पढ्दाको घटनाहरुको जानकारीका लागि मैले सिन्धुपाल्चोकका जगन्नाथ आचार्यसँग भेटेको छु। यी लगायत मैले पहुँच राख्ने सबैजसो स्रोतसँग भेटेको छु। मैले उहाँहरुले दिएको सूचनालाई पनि अन्यत्रबाट भेरिफाइ गर्ने प्रयत्न गरेको छु। तर यसमा धेरै मेहनत भने गरिनँ। किनकि, हरेक घटनाप्रति मान्छेको आ-आफ्नै बुझाइ हुन्छ।
तपाईंले भन्नुभएको खुकुरी उपहारको सूचनाचाहिँ विद्या दिदी (राष्ट्रपति विद्या भण्डारी)ले नै दिनुभएको हो। यही घटनाको बारेमा मैले अशोक राई (खुकुरी उपहार दिँदा अशोक पनि सँगै थिए) लाई सोधेँ भने उहाँको आफ्नै बुझाइ हुनसक्छ। उहाँले अर्कै सन्दर्भमा दिइएको थियो भनिदिन सक्नुहोला।
मदन भण्डारी त्यो जमानामा पनि भूतप्रेत पत्याउँदैन थिए भनेर थाहा पाउँदा मलाई नयाँ र रमाइलो लागेको थियो। त्यो कुरा धेरैले भन्नुभएको थियो। तर, त्यससँग जोडिएको घटना वा प्रमाण छ त! उहाँले भूत हुँदैन भनेर देखाउन जुनको उज्यालोमा डोको र केराको पातको छाया मिलाएर अद्भूत आकृति बनाएको प्रसंग पुस्तकमा छ। त्यो घटना एक जनाले सुनाउनुभयो। उहाँले सुनाएपछि मदन भण्डारीले सानैदेखि भूतप्रेत पत्याउँदैन थिए भन्ने कुरामा विश्वास लाग्यो।
बनारसको प्रसंग छ। उहाँले कम्युनिस्ट पार्टी थोरबहुत बुझेर त्यसको सदस्य बनेको भन्ने सूचना मलाई रमाइलो लाग्यो। त्यतिबेला गाउँघरबाट जाने १४/१५ वर्षको ठिटाहरु विचार बुझेर जाँदैनथे। आलोकाँचो जान्थे। तर, मदन भण्डारी त्यहाँ पुग्दासम्म कुनै न कुनै रुपले विचार निर्माण गरेर गएका थिए। बनारस गएपछि यस्तो खाले संगठनमा आबद्ध हुन्छु भनेर करिबकरिब दिमागमा बोकेर गएको भन्ने कुरा जगन्नाथ आचार्यसँगको छलफलबाट जानकारी प्राप्त भयो। मैले खोजिरहेको तर कतै नभेटिएको सूचनाहरु थिए ती।
मदनसँग जोडिने सबैभन्दा चासोको विषय उनको मृत्यु बारे पनि हो। उनकै जीवनको बारेमा पुस्तक आएपछि केही सूचना आयो होला भन्ने पाठकहरुलाई लाग्न सक्छ। त्यसबारे पुस्तकमा के छ? केही संकेतहरु छन्?
मैले अघि पनि भनेँ, जीवन मात्रै लेखेको हुँ। त्यसैले पुस्तकमा जीवनभरीका घटना मात्रै छन्। दासढुंगामा जिप दुर्घटना भएपछिका घटनाहरुलाई मैले पृष्ठभूमिका लेखेको छु। तर त्यसमा धेरै मैले रिसर्च गरेको छैन। यो पुस्तकको लागि आवश्यक पनि थिएन। त्यसबारेमा कुनै दिन काम गर्नुपर्ला भनेर छाडिदिएको छु। त्यो ‘कन्स्पिरेसी थ्यौरी’को विषय पनि भएकाले म त्यता पसिनँ।
तर घटनासँग जोडिएका विषयमा केही संकेतहरु भने छन्। दासढुंगा घटनाको त्यतिबेलाको कथाहरु त अहिले मैले लेख्न सक्दिनँ। जसले त्यसको चित्रण गर्नुभएको छ, त्यो कुरा मैले जस्ताको तस्तै राखिदिएको छु। लिलामणि पोखरेल सबैभन्दा पहिला घटनास्थल पुग्ने ठूलामध्येका एकजना नेता हुनुहुँदोरहेछ। उहाँले ती कुराहरु संसद्मा जसरी व्याख्या गर्नुभयो, त्यसलाई मैले जस्ताको तस्तै राखिदिएको छु। त्यसैले त्यहाँको चित्रण जस्तोको तस्तै भएको छ। मैले देखेर होइन, अरुले देखेको कुरा मैले राखिदिएको छु। त्यहाँबाट त्यो दुर्घटनाको बारेमा मान्छेहरुले आफ्नै ढंगले बुझ्न सक्छन्।
मदन भण्डारीको सन्दर्भ
मदन भण्डारीसँग त्यस्ता के गुणहरु थिए, त्यस्ता के विशेष क्षमताहरु थिए, जसका कारण उनी नेपाली राजनीतिमा सधैँ चर्चा भइरहने महत्त्वपूर्ण नेता बन्न सके?
मैले बुझेको मदन भण्डारीसँग दुई खाले क्षमता देख्छु। उहाँले जुन समयमा जबजको निर्णय गर्नुभयो, त्यो निर्णय क्षमता त्यतिबेलाको लागि ‘बोल्ड’ थियो। र अहिले दूरदर्शी भन्न सकिन्छ। पुष्पलालसँग विद्रोह गरेर पार्टी विभाजन गरेर मुक्तिमोर्चा बनाउँदै गर्दा उहाँको झुकाव क्लासिकल खालको कम्युनिस्ट पार्टी, जसले विद्रोह गरेरै सत्ता प्राप्त गर्न सकिन्छ भन्ने सोच राख्थ्यो, त्यो खाले विचार देखिन्छ। त्यसपछिको सिंगै जीवनमा उहाँले कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणको कुरा नै गर्नुभएको छ। त्यसैले उहाँलाई कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण गर्ने अभियान्ताको रुपमा बुझ्नुपर्छ। अर्कोतिर, कुन समयमा आएर मैले निर्णय गरेँ भने परिपक्व हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्ने क्षमता देखिन्छ।
मदन भण्डारीको मृत्युपछि उनको सैद्धान्तिक र सांगठनिक क्षमता, पार्टी नेतृत्व गर्ने कला, उनीद्वारा प्रतिवादित जबजका विषयमा बहस गर्ने र निष्कर्षमा पुग्नेभन्दा पनि उनको नाम बेचेर पार्टीगत र गुटगत लाभ लिने र त्यसैको लागि प्रोत्साहित गर्ने गरिएको देखिन्छ। तपाईंको मूल्यांकन कस्तो छ?
तपाईंले भनेको जस्तो कुरा पार्टीभन्दा बाहिरको मान्छेले भन्ने गरेको पाइन्छ। तर पार्टीभित्रको मान्छेको बुझाइ अर्कै पाइन्छ। अहिले त्यता नजाऔँ। मेरो मात्रै कुरा गर्दा, कुनै जमानामा जबज छुनै हुँदैन, चलाउनै हुँदैन, एक अक्षर पनि तलमाथि गर्नु हुँदैन भन्ने विचार एमालेभित्र देखिन्थ्यो। अहिलेचाहिँ जबजलाई समृद्ध गरेर लैजानुपर्छ, २०६२/६३ पछि आएका कतिपय मुद्दाहरुलाई जबजले सम्बोधन गर्दैन, त्यसैले ती सबै विषयहरुलाई पनि हामीले सम्बोधन गर्दै जाने हो भने जबजमा कहाँ ठाउँ छ, त्यहाँ समाहित गरेर जानुपर्छ। पार्टीका कार्यकर्ताहरुले समृद्ध बनाउने भन्नुहुन्छ। मेरो भाषामा अलिअलि ‘रिभ्यु’ पनि गर्नुपर्छ र समृद्ध पनि गर्नुपर्छ।
जबजलाई छुँदै नछोइ जस्ताको तस्तै राख्ने कुरालाई मदनप्रति सम्मान पनि भनेर बुझ्न सकिन्छ। बिक्री मात्रै भनियो भने अर्कै ठाउँमा पुगिन्छ। त्यसलाई नछोइकन राख्दा उहाँप्रतिको सम्मान गरेको देखिन सक्ने भए पनि समीक्षा गर्नैपर्छ। बिक्रीको सन्दर्भमा चाहिँ उहाँहरु पनि राजनीतिक दल हो, उहाँहरुले अगाडि सारेर पार्टीलाई संगठित गर्नुभएको छ, मार्गदर्शक सिद्धान्त मान्नुभएको छ। त्यसैले बिक्री गर्नुभएको भन्ने कि सम्मान गर्नुभएको भन्नेस आफ्नै ढंगले बुझ्नुपर्छ।
यो पुस्तक लेख्नुभन्दा अगाडि पनि मदन भण्डारीको छवि निर्माणको विषयमा तपाईंले काम गर्नुभएको छ। उहाँको जस्तो छवि निर्माण भएको छ, कतिपय सन्दर्भमा देवत्वकरण नै गरिएको छ, त्यो उनको व्यक्तित्वले नै माग गर्छ कि उनको भव्य छवि निर्माण गर्दा फाइदा पुग्ने पार्टी वा नेताहरुले थप प्रयत्न गरेका हुन्?
बाहिरबाट हेर्दा मैले पनि त्यही भन्थेँ। मदन भण्डारीलाई अति देवत्वकरण गरिएको हो कि जस्तो लाग्थ्यो। तर उहाँ भित्रै पसेर हेर्दा समकालीन नेपाली राजनीतिका अरु पात्रभन्दा विशेष हुनुहुन्थ्यो भन्ने देखेँ। उहाँ अलि विशेष भएको हुनाले गर्दा उहाँलाई विशेष दिइयो भन्ने कुरालाई देवत्वकरण भन्ने कि नभन्ने यसमा छलफल गर्न सकिन्छ। तर उहाँ अलि भने विशेष हुनुहुन्थ्यो। त्यस अर्थमा उहाँका बारेमा पार्टीभित्रका मान्छेहरुले विभिन्न ढंगले छवि निर्माणको प्रयत्न गरे होलान्।
छवि निर्माणको विषयमा हिजो जसरी मैले काम गरेँ। त्यसमा मैले मुख्यतः प्रकाशनहरुमार्फत कसरी छवि निर्माण भयो भनेर काम गरेको छु। उहाँका बारेमा व्यापक प्रकाशन छ। प्रतिष्ठान र पार्टीका नेताहरुले समेतले थुप्रै प्रकाशन गर्नुभएको छ। त्यहाँबाट मदन भण्डारीको छवि बन्न सहयोग गर्यो नै। तर मेरो विचारमा उहाँले नेपालको वाम राजनीतिलाई विशेष ढंगले अगाडि नलैजाने हो भने हामी फड्को मार्न सक्दैनौं भन्ने कुरामा उहाँले सोच्नुभएको थियो। त्यस अर्थमा पनि उहाँ विशेष नै हुनुहुथ्यो।
विशेष गरी नेकपा एमालेले मदन भण्डारीको जिप दुर्घटना गराई हत्या भएको बताउँदै आयो। तर सोही पार्टीबाट चार जना व्यक्ति पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। स्वयं मदन भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ। तैपनि न उपयुक्त छानबिन गरिन्छ, न उनको मृत्युलाई षडयन्त्रसँग जोड्न छोडिन्छ। ठूलो समूहलाई भावनात्मक रुपमा उद्धेलित गरेर राजनीतिक लाभ लिन सहज हुने भएकाले छानबिन नगरिएको होला कि अन्य जटिलता देख्नुहुन्छ?
व्यक्तिगत रुपमा मेरो धारणाचाहिँ त्यो घटनाको छानबिन गर्नुपर्थ्यो भन्ने छ। मैले मदन भण्डारीको विषयमा यतिका काम गरेँ। भावनात्मक हिसाबले पनि म जोडिन पुगेँ। त्यसैले उहाँको दुर्घटनामा मृत्यु भएको विषयले मलाई पोल्छ। त्यसबारेमा खोजबिन भइदिए हुन्थ्यो, सत्यतथ्य बाहिर आइदिए हुन्थ्यो भन्ने लाग्छ। तर किन भइरहेको छैन भन्ने बारेमा मैले भन्न सक्दिनँ। हुनुपर्थ्यो भन्नेसम्मचाहिँ भन्ने गरेको छु।
यद्यपि, पार्टीका मान्छेहरु प्रधानमन्त्री बन्नुभयो। राष्ट्रपति बन्नुभयो। तर खोजबिन किन गर्नुभएन भन्नेमा केही आन्तरिक जटिलताहरु होलान्। अनुसन्धान कसले गर्ने, कसरी गर्ने, कुन निकायले गर्ने, अनुसन्धानपछिको आधिकारिकता के हुने, सत्यता के हो भन्ने बारेमा पनि फेरि विवाद होला। त्यसैले अरु विवादमा पस्नुभन्दा इतिहासमा यस्ता अरु पनि घटना भएकैले यसलाई पनि सामान्यरुपमा लिनुपर्छ भन्ने सोचेर हो वा के हो, थाहा छैन।
मदन भण्डारी भइदिएको भए, जबजको व्याख्याचाहिँ अलि समृद्ध हुन्थ्यो। आज हामी जबजलाई जसरी बुझ्छौं, खासमा त्यस्तो होइन कि! जबजको सोच नै अर्कै खालको थियो कि!
एउटा कुराचाहिँ भनौं। मानौं, छानबिन गर्ने समिति बन्यो रे। त्यसले छानबिन गरेर प्रतिवेदन दियो भने भोलिपल्टदेखि फेरि आगो लाग्छ नि। त्यसले कि कसैलाई दोषी देखाउनुपर्यो, कि षडयन्त्रररहस्य होइन भन्नुपर्यो। जे भने पनि आगो लाग्छ। त्यसैले ‘रिस्क’ लिन नचाहेको हो कि!
अन्तिममा, विभिन्न प्रसंगमा कतिपयले चर्चा गर्छन्, मदन भण्डारी बाँचिरहेका भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो। पार्टीगत र समग्र देशकै सन्दर्भमा पनि त्यस्तो चर्चा हुन्छ। तपाईंलाई चाहिँ कस्तो हुन्थ्यो जस्तो लाग्छ?
म यस विषयमा बोल्दा पुस्तकको लेखक भन्दा पनि स्वतन्त्र नागरिक मात्रै भएर बोल्छु। मदन भण्डारी भइदिएको भए पनि सामान्यतः हाम्रो राजनीति यस्तै हुन्थ्यो। उहाँले जुन वैचारिक नेतृत्व गर्नुभयो र केही समय संसद्मा प्रतिपक्षी दलको सांसद्को रुपमा बिताउनुभयो। त्यतिबेला उहाँले केही विषयमा राम्ररी अडान राख्नुभएको छ। त्यसकारणले अहिले उहाँ भएको भए केहीकेही भद्रगोल त रोकिन्थ्यो होला। तर हाम्रो आम चरित्र त एक जना मान्छेले परिवर्तन गर्ने खालको त छैन। सांस्कृतिक रुपमै हाम्रो रुपान्तरण जरुरी भइसकेको छ। त्यसरी सोच्दा, एक जना व्यक्तिले अहिलेको भद्रगोल राजनीति सिंगै थाम्नुहुन्थ्यो होला भनेर भन्न सक्दिनँ।
मदन भण्डारी भइदिएको भए, जबजको व्याख्याचाहिँ अलि समृद्ध हुन्थ्यो। आज हामी जबजलाई जसरी बुझ्छौं, खासमा त्यस्तो होइन कि! जबजको सोच नै अर्कै खालको थियो कि! यस्ता कुरा हामी थाहा पाउँथ्यौं होला। उहाँले जबजलाई राम्ररी व्याख्या गर्नुहुन्थ्यो र अहिले जसरी जबजको व्याख्या जसरी भइरहेको छ, योभन्दा फरक खालको व्याख्या सुन्न पाउँथ्यौं र त्यसबाट एमाले भन्ने पार्टी नयाँ ढंगले अगाडि बढेको देख्थ्यौं होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।