काठमाडौं- नर्वेमा बस्दै आएका गैरआवासीय नेपाली संघ नर्वेका उपाध्यक्ष किरण गुरुङले युरोप युवा संयोजकमा उम्मेदवारी दिएका छन्।
गुरुङले आउँदो अक्टोबर २३ देखि २५ सम्म हुने १०औं महाधिवेशनमा युवा संयोजकमा उठ्ने निर्णय गरेको बताएका छन्।
विगत ७ वर्षदेखि सामाजिक सेवासँगै अभिनयमा पनि सक्रिय रहेका गुरुङ १२ वर्षयता युरोपका बेलायत, पोर्चुगल, नर्वेलगायतका देशमा बस्दै आएका छन्। युवा संयोजकको रुपमा चुनावमा उठेका उनले ‘नेपालका लागि नेपाली’ भन्ने नारालाई वाक्यमा मात्र सीमित नराखी व्यवहारमा पनि उतार्ने बताएका छन्। संयोजकमा उठ्ने घोषणा गर्दै उनले भने, ‘नेपालमा होस् वा विदेशमा, जुनसुकै ठाउँमा भएका नेपालीलाई समस्या पर्दा व्यक्तिगत र सामूहिकरुपमा प्रयास गरिरहेका छौं। प्रतिबद्धतासहित म चुनावमा उठेको छु।’
गुरुङले नेपाली कला, संस्कृति तथा परम्परा विदेशमा पनि फैलाउँदै लैजाने बताए। सँगै पछिल्लो समय युरोपमा युवापुस्ताको जमात पनि बढिरहेकाले आफूले युवा संयोजकमा उम्मेदवारी दिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।