सरकारले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई वर्षेनी विभिन्न पदकबाट विभूषित गर्ने अभ्यासमा हदैसम्म विकृति चुलिएको चर्चा भइरहेका बेला कार्यसम्पादनमा अब्बल रहेका एक पूर्वप्रहरी अधिकृतले आफूले पदक पाउँदाको अनुभव सुनाएका छन्। अहिले भनसुन र पहुँचको आधारमा पदक लिनेको जमात बढिरहँदा आठ वर्ष पहिले कसरी पदक पाएका थिए भन्ने उनको अनुभव नितान्त फरक छ। नेपाल प्रहरीमा अपराध अनुसन्धानका लागि अब्बल अधिकृतका रुपमा चिनिएका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेन्द्र अधिकारीको अनुभव उनकै शब्दमा :
पदक पाउनेको सूचीमा मेरो नाम सार्वजनिक भएछ। तर, पदक कसरी प्राप्त भयो भन्ने मलाई नै थाहा थिएन। त्यसबेला म केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिएँ। २०७० सालको गणतन्त्र दिवसमा विभूषण प्रदान गर्दा मेरो पनि नाम ‘नेपाल प्रताप भूषण’मा परेको रहेछ। मसँगै स्व. प्रहरी नायब निरीक्षक बलाराम यादव (तत्कालीन प्रहरी सहायक निरीक्षक) को समेत नाम रहेछ। पदक पाउने सूची सार्वजनिक भएसँगै एक जना पत्रकार मित्रको फोन आयो।
साँच्चै भन्दा मलाई केही थाहै थिएन। म त्यतिबेला सप्तरीमा भएको सद्रुल मियाँको हत्या मुद्दाको अनुसन्धानका क्रममा गाइघाटमा थिएँ। ती मित्रले सुनाएको खबरले खुशी पनि तुल्यायो, साथै आश्चर्य पनि लाग्यो। किनभने मलाई पदकका लागि मेरो संगठनले सिफारिस गरेको मैले थापा पााएको थिइनँ। म आफैंले पनि कसैलाई सिफारिस गर्न लगाएको थिइनँ। सिफारिस नभई पदक पाइन्छ भन्नेमा मलाई विश्वास पनि थिएन। यो खबर सुन्दा संगठनले मलाई थाहै नदिई सिफारिस गरेछ, मेरो कामको साँँच्चै मूल्यांकन गरेछ भन्ने लाग्यो।
अरु कारणले नभइ मेराे काम गर्ने प्रकृतिको हिसाबले सम्बन्ध राम्राे भएकोले महानगरीय ट्राफिक प्रहरी महाशाखाका तत्कालीन डीआईजी, उपेन्द्रकान्त अर्याल सरलाई फोन गरेँ। मलाई बधाई दिनुस् सर भनेँ- पदक पाएकोमा। उहाँले ‘पख म बुझ्छु, पदक कसरी पायौ’ भन्नुभयो। केही समयपछि उहाँले नै फोन गरेर ‘तिमी अरुको अनुसन्धान गर्छौ, म तिम्रो गर्छु’ भन्दै हाँस्नुभयो। मैले सबै थाहा पाएँ, तिमीहरुको दर्जाले पदक प्राप्त गर्नु सानो कुरा होइन, ठूलाले त त्यसै पाउँछन्, तिमीलाई बधाई छ भन्नुभयो।
उहाँको यो भनाइले साँच्चै नै गर्वानुभूति भयो। पछि मैले पनि बुझेँ, कसरी मेरो नाम परेछ भनेर। बुझ्दै जाँदा मेरो नाम सीआईबीले पनि सिफारिस गरेको रहेनछ। प्रहरी प्रधान कार्यालयले गर्ने सिफारिसमा पनि मेरो नाम रहेनछ।
अझ रोचक कुरा चाहिँ गृह मन्त्रालयबाटै यो काम भएको रहेछ। त्यो कसरी भने, तत्कालीन गृहसचिवले मेरो कामको बारेमा जानकारी पाउनु भएको रहेछ। डा भक्तमान श्रेष्ठ अपहरण घटना लगायतको सफल अनुसन्धान गरेको भन्ने बुझेपछि उहाँले मसँग भेट गर्न खोज्नु भएको थियो। पदक पाउनु भन्दा केही महिना अगाडि उहाँसँग एक छोटो भेट (करिब १०/१५ मिनेट कुराकानी) भएको थियो।
सो भेटमा मैले राम्रो काम गर्नेको नेपालमा पहिचान र सम्मान कम हुने गर्छ भनेर सुनाएको थिएँ। काम गर्नेहरुको उचित मूल्यांकन हुने भयो भने अन्यलाई समेत काम गर्न प्रोत्साहन हुने हुँदा यस्तो प्रणालीको विकास गर्नुभयो भने भविष्यमा हाम्रो तहका कर्मचारीहरु पनि अझ दिलोज्यान लगाएर काम गर्छन् भनेको थिएँ।
संगठनले पदक पाउनेको अन्तिम नामावली गृह मन्त्रालयमा लिएर जाँदा गृहसचिव नवीन घिमिरेले नै कुरा उठाउनु भएछ। मेरो नाम लिएर तत्कालीन आईजीपी कुवेरसिंह रानालाई उहाँले सोध्नु भएछ– ‘होइन, त्यो सब इन्स्पेक्टर दीपेन्द्र अधिकारीलाई पदक दिन मल्दैन?’ आईजीपी रानाले भन्नुभएछ, ‘किन नमिल्नु, मिल्छ।’
त्यसपछि मेरो नाम उक्त सूचीमा परेको रहेछ। त्यो पदक करिब ४ बर्ष पछि मात्र प्रहरी प्रधान कार्यालयबाट प्राप्त भएको थियो। गणतन्त्र स्थापनापश्चात पहिलो पटक वितरण भएको पदक थियो त्यो। त्यसबेला पदक बनेकै थिएन। पछि म मिसनमा गएँ। आउँदा पदक बनेर प्रहरी प्रधान कार्यालयमा आइसकेको रहेछ। यसरी पदक पाउने निर्णय भएको ४ वर्षपछि मैले पदक पाएँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।