जर्मनी- गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको बताएका छन्। एनआरएनएले विधि, विधान र पक्रिया उल्लंघन नगरेको र गर्न नसक्ने उनको भनाइ छ।
परराष्ट्र मन्त्रालयले संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेको भन्दै चुनाव स्थगित गर्न निर्देशन दिँदै भदौ २५ मा पत्र लेखेको थियो। एनआरएनए आईसीसी (अन्तर्राष्ट्रिय समन्वय समिति) लाई लेखिएको पत्रमा विवादिन विषयबारे छानबिन गर्न मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समिति प्रतिवेदन पेस नगरेसम्म संघको चुनावी प्रक्रिया स्थगन गर्न भनेको छ।
पत्र सार्वजनिक हुनुअघिसम्म आफू मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै पन्तले भने, ‘मन्त्रालयका अधिकारीले मसँग राज्यसत्ताबाट निकै ठूलो दबाब आएकाले थेग्न नसक्ने बताउनुभएको थियो।'
परराष्ट्रले खोजेको जवाफ दिने, विधानअनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने तर चुनाव नरोक्ने पन्तले बताए। 'अमूक राजनीतिक पार्टीको स्वार्थपूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन। हामी तोकिएको समयमै चुनाव गर्छौं,' पन्तले भने, ‘चुनाव तोकिएकै समयमा हुन्छ।’
महाधिवेशन प्रतिनिधिको एनसीसीबाट सूची संकलन भएर दाबीविरोध परिहेका र त्यसबारे अन्तिम टुंगो नलाग्दै अनियमितता भन्ने प्रश्नसँग नै आफू अचम्मित भएको पन्तले बताए। ‘हामीले नै छानबिन गरेर सकेका छैनौं। त्यो भन्दा पहिले अनियमितता भएको परराष्ट्रलाई कसरी थाहा हुन्छ,’ उनको प्रश्न छ। उनले चुनाव रोक्ने विषय परराष्ट्रको निर्णयलेभन्दा पनि राजनीतिक दबाबले भएको दाबी गरे।
प्रतिनिधिको सूचीबारे एनआरएनएको छानबिनपछि मात्र अनियमितता भए/नभएको थाहा हुनेमा पहिले नै त्यस्तो आरोप लगाउनु गलत भएको पन्तको भनाइ छ। उनले भने, ‘यो संघको अभियानमाथिको अनावश्यक हस्तक्षेप हो।’ एनआरएनए मन्त्रालयमा दर्ता भए पनि स्वायत्त संस्था भएकाले यसबारे परराष्ट्रले सोच विचार गरेर नेतृत्वसँग कुरा बुझेर मात्र कदम चाल्दा राम्रो हुने पन्तको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।