काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवालयले आसन्न दशौं महाधिवेशनका लागि विधानविपरीत महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ। एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुका तर्फबाट तीन जनाले बिहीबार मन्त्रालयमा उजुरी दर्ता गराएका हुन्। एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल, आईसीसी सदस्य नवराज ओली (कतार) र आईसीसी पूर्वसचिव जानकी गुरुङले मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराएका छन्।
एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको प्रतिनिधिहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै भन्दै उजुरीमा आईसीसीले गरेका विभिन्न १९ वटा कमजोरी तत्काल सुधार गर्नका लागि निर्देशन दिन माग गरिएको छ।
आईसीसीको बैठक नै नबसी प्रतिनिधिहरुको नामावली प्रकाशन गरिएको, अस्ट्रियाको वर्तमान कार्यसमितिका अध्यक्ष, निवर्तमान कार्यसमितिका महासचिवलाई समेत प्रतिनिधि बन्नबाट वञ्चित गरिएको, चेक रिपब्लिकका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीलाई महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा सहभागी नै नगराइ एकतर्फी तवरबाट महाधिवेशन प्रतिनिधिको सिफारिस गरिएको, २५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयनको व्यवस्थालाई अपव्याख्या गर्दै फरक-फरक देशमा फरक प्रावधान राखिएको र अमेरिका, बेलायत, अस्ट्रेलिया निर्वाचित समितिले पठाएको ६५ प्रतिशत र २५ प्रतिशत महाधिवेशन प्रतिनिधिलाई विनाकारण मान्यता नदिइएको निवेदनमा उल्लेख छ।
त्यस्तै, नेदरल्याण्ड्समा ६५ प्रतिशत र २५ प्रतिशत नामावली नराखी नामावली प्रकाशित गरिएको, रुसमा सदस्यताका लागि तोकिएको म्यादभन्दा पछि पनि सदस्य संख्या थपी थप प्रतिनिधिको नाम समावेश गरिएको, लक्जेम्बर्गमा जम्मा ६० सदस्य रहेकोमा २६५ बनाएर थप प्रतिनिधि बनाइएको, न्यूजिल्याण्डमा पनि एमआईएस प्रणाली दुरुपयोग गरी सदस्य संख्या थपेर बढी प्रतिनिधि चयन गरेको, यसै वर्ष स्थापना भएका एनसीसीहरुबाट पनि विधानविपरीत प्रतिनिधिहरु समावेश गराएको, क्षेत्रीय संयोजकहरुलाई बाइपास गर्दै आईसीसीका केही पदाधिकारीले हस्तक्षेप गरेर प्रतिनिधि छानेको, आयरल्याण्डमा २५ प्रतिशत नामावली नै समावेश नगरेको, जापानको निर्वाचनमा नै धाँधली भएको र धाँधली गरेरै प्रतिनिधि छानेको दाबी पनि निवेदनमा गरिएको छ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशीको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई जानाजान दु:ख दिने काम गरिरहेको पनि उल्लेख छ।
निवेदनमा २०७८ भदौ २१ गते आईसीसी सचिवालयले प्रकाशित गरेको महाधिवेशन प्रतिनिधिहरुको नामावली अवैधानिक रहेकोले तत्काल सच्याउन आईसीसीलाई निर्देशन पनि माग गरिएको छ।
निवेदनमा विधानविपरीत सार्वजनिक गरिएको नामावली नसच्चिएसम्म आगामी अक्टोबर २३-२५ का लागि तोकिएको संघको महाधिवेशनसम्बन्धी कुनै काम कारबाही तत्काल अगाडि नबढाउन गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् र सचिवालयको नाममा निर्देशन जारी गर्न पनि माग गरिएको छ।
परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको निवेदन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।