काठमाडौं- आइतबार साँझ पर्न लाग्दा माइतीघर मण्डलामा केही मानिसहरू जम्मा भए। केही मैनबत्ती र पाला उनीहरूले साथमा ल्याएका थिए। त्यसलाई ‘१३०० प्लस’ अक्षरको संकेत बन्नेगरी उनीहरूले सडकमा सजाए।
वर्षौंदेखि बेपत्ता पारिएका आफन्तहरू सम्झे, अनि दीप बाले। यसरी दीप बाल्न आइपुगेका मध्येकी एक हुन् स्वस्तिका माली। उनी जम्मा २ वर्षकी थिइन्। उनका बुबालाई बेपत्ता पारिएको थियो। बुबाको धमिलो तस्बिर सम्झना हुँदैदेखि उनले बुबाको न्यानो माया गुमाइन्।
आज ३० अगस्ट, बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस। यही दिवस मनाउन उनी माइतीघर मण्डला आउँदा बुबाको धमिलो तस्बिरलाई कविताको रूपमा माइतीघर मण्डलामा प्रस्तुत गरिन्।
आज पनि म मेरो जन्म दिन मनाउन बस्छु
मेरो बुबा तपाईंले थप्पडी बजाएको सम्झन्छु
अनि मलाई माया गरेर जन्म दिनको लाख-लाख शुभकामना भनेको झझल्को आउँछ
म दुई वर्षको थिएँ, अहिले जवान भएकी छु।
तर खै तपाईंलाई देखिनँ
बुबा थप्पडी बजाएर जन्मदिनको शुभकामना भनेको सुन्दिनँ
उनले यसरी प्रस्तुत गरेको यो अंश वाचन गर्न लागेको ठ्याक्कै कति वर्ष भयो उनलाई नै थाहा छैन। उनी हरेक वर्ष ३० अगस्टका दिन यसैगरी माइतीघर मण्डला आउन लागेको भने १० वर्ष पुगेको छ। नेपाल लाइभसँग कुरा गर्दै उनले बुबा हराएको समय आफू २ वर्षको मात्र भएकाले धेरै ज्ञान नभएपछि मेरो बुबा खै, किन हराउनुभयो, कसले लग्यो भन्ने जस्ता प्रश्न सधैँ खेल्ने गरेको बताइन्।
सरकारले विस्तृत शान्ति सम्झौता गर्दा यस्ता बेपत्ता व्यक्तिहरूको अवस्था ६ महिनाभित्र सार्वजनिक गर्ने भने पनि हालसम्म नगर्दा आफूहरू पीडामा रहेको उनले बताइन्। सुरक्षाकर्मीले बेपत्ता पारेका आफ्ना बुबाको के कसूर थियो भन्ने आजसम्म आफूले थाहा नपाएको उनको भनाइ थियो।
‘यही प्रश्नको उत्तर खोज्न म हरेक वर्ष माइतीघर मण्डलामा आउँछु,’ उनले भनिन्, ‘बुबालाई सम्झेर बत्ती बाल्छु, अनि जवाफ नपाउँदै फर्कन्छु।’ सरकारसँग धेरै सोध्न मन नभएको एउटै मात्र प्रश्नको उत्तर पाए हुने उनले बताइन्। ‘मेरो बुबा किन र कसले बेपत्ता पारेको हो कहाँ हुनुहुन्छ जान्न पाए हुने,’ उनले भनिन्, ‘खै, जो सरकारमा आए पनि छिट्टै हुन्छ मात्र भन्छन् रे!’
श्रीमानलाई घरैबाट बेपत्ता पारिदिएपछि चितवन माडीकी मोहनकला आचार्य पनि २० वर्षदेखि बेचैनपूर्ण जिन्दगी बाँचिरहेकी छन्। त्यतिबेलाको त्यो कहालीलाग्दो क्षण सम्झिँदा उनका आँखामा आँसु छचल्किन्छन्।
यसरी माइतीघरमा साझा पीडा पोख्न आउने मध्येकी एक हुन् मोहनकला। उनका पति कृष्णप्रसाद आचार्य नेपाली सेनामा थिए। सशस्त्र द्वन्द्व बढ्दै गएपछि उनी सेनाको जागिर छाडेर घरमै बस्न थालेका थिए। पाँच-छ वर्ष सेनामा काम गरेका उनले जागिर छाडेको तीन वर्ष भएको थियो। अपरिचित मान्छे आएर जागिर लगाइदिने भन्दै कृष्णप्रसादलाई लगेर गएका थिए। ‘पहिले सेनामा काम गरेको मान्छे, राम्रो जागिर पाइन्छ भन्दै लिएर गए,’ मोहनकला सम्झन्छिन्, ‘माओवादीले लिएर गएको भन्ने हल्ला चल्यो तर कसले लगेर गयो भन्ने ठ्याक्कै थाहा छैन।’
भूपू सेना भएकाले कृष्णप्रसादलाई माओवादीले आफ्नो सेनामा लगेर गएको गाउँलेको आसंका छ। मोहनकलालाई पनि त्यस्तै लाग्छ। तर, मान्छे किटान गर्न नसक्दा उनलाई अप्ठ्यारो भएको छ। ‘माओवादीलाई सोध्दा प्रमाण के छ भन्छन्?’ उनी सुनाउँछिन्, ‘मैले के प्रमाण ल्याएर दिने? मेरो श्रीमान् मसँग नहुनु प्रमाण होइन र?’
१६ पुस २०५७ को घटना थियो त्यो। कृष्णप्रसाद बेपत्ता भएपछि मोहनकलाको परिवारै छिन्नभिन्न भयो। छोरा बेपत्ता भएको वेदनाले कृष्णकी आमा बितिन्। उनका बुबाले अर्की श्रीमती ल्याए। कान्छी श्रीमतीलाई सम्पत्ति दिनुपर्ने दबाब परेपछि कृष्णका बुबा घर छाडेर प्यूठान, स्वर्गद्वारीको आश्रममा लामो समय बसे।
परिवारमा सुख, शान्ति नभएपछि मोहनकला पनि पाँच-छ वर्ष माइतीमा गएर बसिन्।
आफ्ना प्रिय श्रीमानलाई न उनले बिर्सन सकेकी छन्, न पाउन नै। सबैभन्दा धेरै याद उनलाई चाडपर्वमा आउँछ। दसैं र तिहारजस्ता चाडमा त आउँदै पो छन् कि भनेझैं हुन्छ। अरूको परिवारमा बाबुसँग छोरा छोरी रमाएको देख्दा टुप्लुक आइपुगे हुन्थ्यो जस्तो लाग्छ। तर, यसरी उनले हरेक चाडमा आँखा बाटोमा चिहाएको धेरै भयो। न त लास भेटिन्छ न त आस नै मरेको छ। उनको पनि सरकारसँगै एउटै प्रश्न छ- बेपत्ता पतिको कहिले अवस्था जानकारी पाइन्छ? देशमा चलिरहको सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्नै लाग्दा श्रीमान् कृष्णप्रसाद आचार्यलाई घरबाटै बेपत्ता पारियो। उनलाई बेपत्ता पार्नेबारे अहिलेसम्म मोहनकलाले केही भेउ पाउन सकेकी छैनन्।
बेपत्ता श्रीमान् पाउने आसैआसमा चितवनदेखि काठमाडौंसम्म पटक-पटक बेचैनपूर्ण यात्रा नापिसकेकी छन्, मोहनकलाले। नारा जुलुस, धर्ना, विरोध प्रदर्शन उनको बलबुताले भ्याउनेजति सबै गरिसकिन् तर बिडम्बना, सरकारले केही गरेन। केही महिनाभित्र बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्ने शान्ति सम्झौता भएको पनि डेढ दशक बिते, तर मोहनकलाजस्ताले जानकारी पाएका छैनन्।
मोहनकलाजस्तै वेदना र दुःखको पहाड भोगेकी चितवन पदमपुरकी लीलादेवी भण्डारी (लोप्चन) पनि हुन्। उनले पनि राज्य संयन्त्र परिवर्तन गर्न र जनताको सत्ता ल्याउने भनी चलाइएको सशस्त्र द्वन्द्वमा श्रीमान् बेपत्ता भएको घटना भोग्नुपर्यो। हरेक चाडपर्वमा श्रीमान् आउँछन् कि भन्ने आस अझै लाग्छ उनलाई। ‘अघि-पछि नभए पनि दसैंको टीका लगाउन र तिहारमा सयपत्री लगाउन आउँछन् कि भन्ने आस बाँकी नै रहन्छ,’ उनले भनिन्, ‘न लास, न त श्वास नै भएको दुई दशक भइसक्यो आस मार्दा पनि चाडपर्वमा धेरै याद आउँछ।’
यसरी नै यस्तै यादमा आजसम्म उनी परिवार धानेर बसेकी छन्। उनले श्रीमानको अवस्था पत्ता पाउन गरेको दुःख झन् पहाडझैँ छन्। हरेक पटक काठमाडौं आउनेदेखि सदरमुकाम नेतापिच्छे श्रीमान् बेपत्ता भन्दा-भन्दा उनी आफैं थाकिसकेकी छन्।
‘संघीय सरकार बसेको काठमाडौं खाल्डोले न्याय देला या नदेला?,’ उनले भनिन्, ‘हामीसँग बाँकी भनेको आसा मात्रै छ। तर भरोसा छैन।’ उनले आफ्ना आफन्त कहाँ छन् भन्नेमात्र सरकारले जानकारी दिए पुग्ने बताइन्।
द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी अध्यक्ष सिर्जना श्रेष्ठले पनि यसरी सधैँ पीडामा कति बस्ने भनेर प्रश्न सोधिरहेको बताइन्। ‘हरेक वर्ष नयाँ सरकार बन्छ। सरकारपिच्छे नै प्रतिबद्धता आउँछ,’ उनले भनिन्, ‘तर, बेपत्ताहरू कहाँ छन् कहिल्यै कुनै सरकारले भनेनन्।’
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग बने पनि त्यसले प्रभावकारी काम गर्न नसकेको उनीहरूको गुनासो छ।
तस्बिरहरु: निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।