काठमाडौं- अफगानिस्तानबाट उद्धार गरिएका थप आठ जना दोहाबाट आज यहाँ आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ।
अफगानिस्तानबाट हालसम्म ७७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि परराष्ट्रले आज विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएसन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।