प्रतिकात्मक तस्वीर काठमाडौं– परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको जनाएको छ।
कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भइ काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली नागरिकहरू स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका मन्त्रालयले जानकारी दिएको छ।
अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिनसकेको पनि मन्त्रालयले जानकारी दिएको छ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूले आफैं वा उनीहरुका परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ। यस्तै, भाइबर र ह्वाट्सएप सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (सिचुएसन रूम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिने पनि मन्त्रालयले जनाएको छ।
नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि सोको जानकारी उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट गराइदिन समेत मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।