काठमाडौं– विश्वकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सन् १९३४ मा इटालीमा आयोजना भयो। जर्मनीको बर्लिनका गरिएको फिफाको सम्मेलनबाट दुई वर्षअघि नै इटालीलाई विश्वकप आयोजना गर्न दिने सहमति भइसकेको थियो। पहिलो विश्वकपमा छनोट चरणको व्यवस्था थिएन। तर यो विश्वकपमा सहभागी हुने टिमले भने छनोट खेल खेल्नुपर्ने थियो। ३२ टिमले दोस्रो विश्वकपको छनोट खेल खेलेका थिए। छनोटबाट १६ टिम विश्वकपमा छानिए।
युरोपबाट अस्ट्रिया, चेकोस्लोभाकिया, जर्मनी, हंगेरी, इटाली, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, फ्रान्स, रोमानिया, नेदरल्याण्ड्स र बेल्जियम दोस्रो विश्वकपमा छनोट हुन सफल भएका थिए। दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, अफ्रिकाबाट इजिप्ट तथा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिकाले विश्वकपको टिकट काटेका थिए ।
पहिलो विश्वकपको उपविजेता अर्जेन्टिना पहिलो खेलमै स्विडेनसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो। अन्य दक्षिण अमेरिकी टोलिहरुले पनि क्वार्टरफाइनलमा स्थान बनाउन सकेनन्। अस्ट्रिया, चेकोस्लोभाकिया, जर्मनी, हंगेरी इटाली, स्पेन, स्विडेन, स्विट्जरल्याण्डले आआफ्ना खेल जित्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल रहे। अर्जेन्टिना, नेदरल्याण्ड्स र फ्रान्सजस्ता उपाधिका दाबेदार टिमहरु पहिलो चरणबाटै बाहिरिएका थिए।

अस्ट्रियाले त प्रतियोगिताको सेमिफाइनलमै स्थान बनायो। तर सेमिफाइनलमा आयोजक इटलिसँग १–० गोल पराजित भयो । त्यसपछि अहिलेसम्म पनि अस्ट्रियाले दोस्रो पटक विश्वकपको टिकट काट्न सकेको छैन। अर्को खेलमा चेकोस्लोभाकियाले जर्मनीलाई ३–१ ले हरायो र इटालीसँगको फाइनल भिडन्त पक्का गर्यो। इटालीको .रोमको रंगशालामा ४५ हजार दर्शककाबीच भएको फाइनल खेलमा पहिलो अग्रता भने चेकोस्लोभाकियाले लिएको थियो।
चेकोस्लोभाकियाका तर्फबाट एन्टानिस पुकले खेलको ७६ औं मिनेटमा गोल गरे । तर इटालीले ८१ औ मिनेटमा खेल बराबरी गर्न सफल भयो र अतिरिक्त समयको पाँच मिनेट नबित्दै अर्को गोल थपेपछि खेल इटालीले २–१ ले जित्यो। विश्वकप जितिसकेपछि इटाली युरोपेली फुटबलकै पावर हाउसका रुपमा स्थापित भयो। त्यसअघि स्पेन र नेदरल्याण्डका क्लबहरुको दबदबा युरोपेली फुटबलमा रहेको थियो। चेकोस्लोभाकियाका ओल्रिच नेजेड्ली प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका थिए। फिफाले सन् २००६ मा ओल्रिच सहित प्रतियोगितामा चार गोल मात्रै गर्ने अन्य दुई खेलाडी जर्मनीका इडमड कोनेन र आयोजक इटालीका एन्जेलो स्चियाभियो लाई उक्त विश्वकपको उत्कृष्ट गोलकर्ता घोषित गरेको थियो।

इटालीका प्रमुखक आठ शहरमा प्रतियोगिताका विभिन्न खेल खेलाइएको थियो। जम्मा ३ लाख ५० हजार दर्शकहरुले आठ शहर गएर प्रतियोगिता प्रत्यक्ष हेरेका थिए। यसरी हरेक खेल हेर्ने दर्शकको औसत संख्या २१ हजार ५९ थियो।
पहिलो विश्वकप विजेता उरुग्वेले यो विश्वकपको छनोट खेल सहभागिता जनाएन। विश्वकपको इतिहासै उपाधि विजेता टिमले अर्को पटकको विश्वकप नखेलेको यो पहिलो घटना बन्यो।
युरोपमा त्यतिबेलै फुटबल निकै लोकप्रिय थियो । इटालीका एसी मिलान, युभेन्टस, स्पेनका रियाल म्याड्रिड र बार्सिलोना, इङल्याण्डको लिभरपुल र नेदरल्याण्ड्सको एजेक्सले युरोपेली फुटबलमा सनसनी मच्चाइरहेका बेला उरुग्वेका स्टार खेलाडीलाई इटालीमा विश्वकप खेल्न पठाए उनीहरु युरोपकै क्लबमा रमाउन सक्ने अवस्था थियो। त्यसैले पनि खेलाडीहरुलाई आफ्नो देशका क्लबमा सीमित राख्न उरुग्वेले युरोपमा भएको विश्वकप त्याग्ने निर्णय गरेको थियो।
आयोजक राष्ट्र इटालीले पनि यो विश्वकपको छनोट खेल खेलेको थियो। त्यसअघि सन् १९३० को विश्वकपमा सहभागि राष्ट्रहरुले छनोट चरणमा प्रतिस्पर्धा गरेका थिएनन्। सन् १९३८ को विश्वकपबाट फिफाले आयोजक राष्ट्र सोझै प्रतियोगिताका लागि छनोट हुने नियम लागू गर्यो। यसरी इटलि विश्वकपको छनोट चरण खेल्ने अहिलेसम्मकै एक मात्र राष्ट्र बन्यो।
ब्राजिल, अर्जेन्टिना, इजिप्ट र अमेरिका विश्वकपको छनोट चरण पार गर्ने पहिलो राष्ट्रहरु बने। प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्रै रोममा भएको छनौट खेलमा मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले विश्वकपमा स्थान बनाएको थियो। तर पहिलो विश्वकपको उपविजेता अर्जेन्टिनासहित कुनै पनि अमेरिकी राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाउन सकेनन्।
प्रतियोगितामा जम्मा १६ खेल खेलाईएको थियो। सिधै नकआउट चरणबाट खेलाईएको हुँदा १६ खेलमा ७० गोल भयो। यसरी हिसाब गर्दा यो प्रतियोगितामा हरेक खेलमा ४.१२ गोल भयो।
(भिडियो हेर्न नयाँ विन्डोमा खोल्नुहोला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।