प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एउटा कार्यक्रममा ‘पानीसरा’ भनिने एक स्वास्थ्य समस्यालाई निको बनाउने ‘टिप्स’ प्रस्तुत गरे। ‘साधारण औषधि कालो तिल आफैंले चपाएर थपक-थपक लगाइदियो भने, बिमारीले चपाउन पनि आनन्द मान्छ र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, त्यो फोका–फोका, त्यो जिलजिल गर्ने फोकाहरू समाप्त हुन्छ’, उनको भनाइ थियो।
यसअघि पनि प्रधानमन्त्री ओलीबाट कोरोनालक्षित, विज्ञानका हिसाबले अप्रमाणित ‘टिप्स’हरु सार्वजनिक भएका छन्। उनले अघिल्लो वर्ष राष्ट्रिय सभामा सम्बोधन गर्दै भनेका थिए- ‘कोरोना भनेको एउटा रुघाखोकीजस्तो हो। लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ।‘ त्यस्तै, सात प्रदेशका मुख्यमन्त्रीसँग गरिएको एउटा भिडियो छलफलमा उनले भनेका थिए- ‘तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ। मर्ने होइन, त्यसको जुन जीवतत्त्वको रूपमा त्यो बाहिरी लेयरको बोसीय तत्त्वले जे उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।‘ नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दा उनको ‘टिप्स’ थियो- ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ, घाँटीमा बसेको (कोरोना भाइरस) चट्, स्टिम लिइदिउँ फोक्सोबाट चट्, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ।'
बेसार, कालो तिल वा अम्बामात्रै होइन, हाम्रा घरेलु प्रयोगका कैयौं यस्ता वस्तुहरुमा औषधीय गुण हुने कुरालाई नकार्न सकिँदैन। तर, त्यही नै औषधि होइन, जसले गम्भीर रोगहरु निदान गर्न सकोस्। प्रधानमन्त्रीले जसरी निश्चित स्वास्थ्य समस्याको नाम लिएर त्यसको प्रयोग विधिलाई उल्लेख गरेका छन्, ती पूर्ण प्रमाणित विषय होइनन्। त्यसकारण पनि प्रधानमन्त्री ओलीबाट यस खालका धारणा सार्वजनिक हुने बित्तिकै विज्ञहरुबाट चर्को आलोचना हुने गरेको छ। त्यसको प्रमाणिकतालाई लिएर प्रश्न उठ्ने गरेको छ। त्यसले मुलुकका प्रधानमन्त्रीको छविमा प्रश्न उठेको छ भने त्यो पदको गरिमा हलुका बनेको छ। तर, प्रधानमन्त्री ओलीले भने त्यसको पर्वाह गरेकै देखिन्न, बरु उनले वैज्ञानिक आधारमा टेकेर भइरहेको आफ्नो आलोचनालाई सुनेको नसुन्यै गर्ने, अझ बेवास्ता नै गर्ने र पुनः त्यही शैलीलाई निरन्तरता दिइरहने गरेका छन्।


केपी शर्मा ओली कोही साधारण व्यक्ति हुन्थे, अथवा कुनै पार्टीको नेता मात्र हुन्थे र आफूसँग सल्लाह लिन आउनेलाई यस्ता सल्लाह दिएका हुन्थे भने त्यसलाई बेवास्ता गर्न सकिन्थ्यो। उनी त यो देशका प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीका भाषणहरुलाई ध्यानपूर्वक सुन्ने र त्यसलाई अपनाउने, अनुसरण गर्नेहरुको संख्या ठूलो हुन्छ। किनभने मुलुकको सरकार प्रमुख नागरिकको अभिभावकीय भूमिकामा रहेको हुन्छ। स्वभावतः आफूले अभिभावक मानेका व्यक्तिका सल्लाहमात्र होइन, जीवनशैली नै अनुसरण गर्ने आम स्वभाव हुन्छ। त्यसकारण पनि उनले बोल्ने विषयहरु वैज्ञानिक रुपमा प्रमाणित हुनुपर्छ। भन्नुको अर्थ प्रधानमन्त्रीले प्रमाणित विषयमा मात्र बोल्नुपर्छ। उनको बोलीको तथ्य जाँच, विश्लेषण र प्रभावको आकलन हुँदा त्यसको नतिजा सकारात्मक देखिनुपर्छ। जब प्रधानमन्त्री नै सार्वजनिक रुपमा विज्ञानले प्रमाणित नगरेका उपचार पद्दति र औषधीय ‘टिप्स’ बाँड्दै हिँड्छन् भने त्यसबाट जनमानसमा कस्तो खालको सन्देश प्रवाह होला? अनि त्यसले जनस्वास्थ्यमा कति ठूलो समस्या निम्त्याउन सक्ला भन्नेबारे प्रधानमन्त्रीले कत्ति पनि हेक्का राखेको देखिएन।
हो, बहुदलीय अभ्यासमा प्रधानमन्त्री कुनै निश्चित दलसँग आबद्ध हुन्छन् र उनका राजनीतिक सीमितताहरु पनि हुन्छन्। त्यहीकारण उनका राजनीतिक अभिव्यक्तिहरु विवादित नै बने पनि समाजले त्यसलाई त्यति असहज ठान्दैन। राजनीतिक विषयमा दाबी गर्ने, अरुको खण्डन गर्ने र आफ्नो महानता स्थापित गर्ने जस्ता विषय सामान्यतया अस्वाभाविक मानिँदैनन् पनि। तर, राजनीतिक सन्दर्भबाहेक प्रधानमन्त्रीबाट सार्वजनिक हुने अन्य अभिव्यक्ति विवादस्पद हुने अपेक्षा गरिँदैन। तर, स्वास्थ्य जस्तो संवेदनशील विषय, अझ त्यसमा बृहत् समूहको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने विषयमा प्रमाणित नभएको कुरा प्रधानमन्त्रीले बोल्ने अपेक्षा कदापि गरिँदैन। प्रधानमन्त्री ओली भने त्यसमा अपवाद देखिन्छन्, अझ भनौं– बेपरवाह लाग्छन्। कतिसम्म भने ‘मैले बोलेपछि त्यही नै प्रमाण’ भन्ने खालको शैली उनमा देखिइरहेको छ। त्यसैले त उनी धाराप्रवाह रुपमा बेसारदेखि कालो तिलसम्मका सिद्धान्त सार्वजनिक गर्न अप्ठ्यारो मानिरहेका छैनन्।
बिहीबार प्रधानमन्त्री ओलीले ‘कालो तिलको टिप्स’ दिइरहँदा त्यही कार्यक्रममा उपस्थित रहेका वैज्ञानिक उत्तमबाबु श्रेष्ठले राति ट्वीटरमा लेखेका थिए– ‘सम्बोधनमा मैले बुझेको बिज्ञानको हिसाबले कैयौं कुरा अप्रमाणित थिए। उहाँले भाष्कराचार्यदेखि सर्नसम्मको, कालो तिल र सुश्रृतदेखि अंग प्रत्यारोपणसम्मका कुराहरू जोड्नुभयो, जेनिटिक मेमोरीदेखि हिमालमा पानी कसरी पर्छ लगायतका कुरा गर्नुभयो। त्यसमा खासै नविनता थिएन, उहाँले दोहोर्याइरहने कुराहरू नै थिए, जुन कुराहरू अप्रमाणित थिए।’
कुनै पनि आधुनिक राज्य हाँक्ने भूमिकामा रहेका सरकार प्रमुखहरुले वैज्ञानिक प्रामाणिकताको यति हुर्मत लिँदैनन्, जति प्रधानमन्त्री ओलीले लिइरहेका छन्। यहाँ सन्दर्भका रुपमा उल्लेख गरिएका ‘स्वास्थ्य टिप्स’ मात्रै होइनन्, उनले नेपाली नागरिकदेखि हात्तीसम्मको ‘जेनेटिक मेमोरी’को चर्चा गरेर नेपाली भूमिलाई विशेष भएको देखाउने प्रयत्न गर्दै आएका छन्। सबभन्दा उदेकलाग्दो त के भने तिनको प्रामाणिकता बारे उनलाई कुनै लिनुदिनु नै रहेको देखिन्न। बरु त्यसको आलोचना हुँदा भन्ने गर्छन्– कि सत्य के हो पत्ता लगाऊ, नभए यसैलाई पत्याऊ!
सामान्य अवस्था हुन्थ्यो भने प्रधानमन्त्रीले विज्ञानको हुर्मत लिएर दिने अभिव्यक्ति र बाँड्ने ‘टिप्स’ त्यति आपत्तिजनक नबन्न सक्थ्यो। तर, अहिले कोरोना महामारीको युग चलिरहेको छ जसले दुनियाँभरका मानिसलाई ‘बाँच्नका लागि’ गर्नुपर्ने संघर्षमा धकेलिदिएको छ। संसारका मै हुँ भन्ने शक्ति राष्ट्रहरु कोरोनाविरुद्धको लडाईंमा लखतरान देखिएका छन्। प्रधानमन्त्री ओलीले महामारीको यो भयावह अवस्थालाई समेत मजाक ठान्नेखालका ‘टिप्स’ बाँडेर विज्ञानलाई नै नजरअन्दाज गरिरहनु विडम्बना हो। ‘प्रधानमन्त्री ओली जे पनि बोल्छन्’ भनेरै स्थापित गर्ने हो भने बेग्लै कुरा, होइन भने विज्ञानका अप्रमाणित विषयलाई टेको लगाएर उनले दिइरहेका अभिव्यक्तिले विज्ञानको मात्र हुर्मत लिएको छैन, उनी स्वयं र प्रधानमन्त्री पदकै कद घटाइरहेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।