काठमाडाैं- कुवेतमा पछिल्लो सातामा ६० हजार श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
कोभिडविरुद्धको खोपको घुम्ती खोप अभियानका प्रमुख डा दिना अल–धाबिबले घुम्ती खोप अभियानको चौथो चरणमा उनीहरुलाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको जानकारी दिएका हुन्।
‘ग्यास स्टेशन, सुरक्षा तथा गार्ड कम्पनी, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पोर्ट र नेभिगेसन कम्पनीका श्रमिकहरुलाई लक्षित गरी सो खोप अभियान सञ्चालन गरिएको थियो। यो कदमले देशमा खोप र प्रतिरक्षाको गतिलाई तीव्रता दिने छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनका अनुसार खोप अभियानको चौथो चरण २१ जुनमा सुरु भएर १७ दिनसम्म सञ्चालन भएको थियो।
उनले जनतालाई खोप प्रदान गर्न देशभर दशवटा नयाँ खोप केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिएका छन्।
यससँगै देशभरमा खोप केन्द्रको कूल संख्या ४० पुग्ने छ। एउटा खोप केन्द्रमा एकदिनमा एक हजार डोजसम्म प्रदान गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।