एजेन्सी– रुसमा यहि जुन १४ देखि जुलाई १५ सम्म आयोजना हुने विश्वकप फुटबलमा भिडियो एसिसटेन्ट रेफ्री (भिएआर) प्रविधिको उपयोग हुँदैछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पहिलो पटक यस वर्ष आयोजना हुने आफ्ना सबै प्रतियोगिताहरुमा सो प्रविधिको उपयोगका लागि स्वीकृति प्रदान गरेसँगै विश्वकपमा पनि यसको प्रयोगका लागि बाटो खुलेको हो।
पछिल्लो दुई वर्षदेखि सतहमा रहे पनि यो प्रविधिले उल्लेख्य रुपमा सफलता हात पार्न भने सफल नभएको फुटबल विश्लेषकहरु बताउँछन्। हरेक फुटबल खेलमा सही निर्णय मात्र आओस् र दुई टोलीका बीचमा विवाद नरहोस् भन्न सुरु गरिएको भिएआर प्रविधि आफै उल्झनमा परेको आलोचकहरुको भनाइ छ।
उता विश्व फुटबलको नियमनकारी निकाय फिफा अध्यक्ष जिआनी इन्फान्टिनो भने समयअनुसार प्रविधिको उपयोग गर्नुपर्ने तर्क गर्छन्। ‘हामी चाहन्छौँ कि रेफ्रीका लागि केहि सुविधा मिलोस्, जसले उनीहरुलाई सही निर्णय लिन सघाउ पुग्नेछ।,' अध्यक्ष इन्फान्टिनोले भने, ‘आगामी विश्वकपमा यसकै सहायतामा रेफ्रीले पक्कै केही महत्वपूर्ण निर्णयहरु गर्नेछन्।’
यो अझै सम्भव भइनसकेको उनले बताए। 'सन् २०१८ मा सबै फुटबलप्रेमीले आफ्नो कोठामा खेल हेर्दाको केही सेकेन्डमै जान्न सक्छन् कि रेफ्रीले सही या गल्ती निर्णय गरेका छन्,’ उनले थपे।

इन्फान्टिनोले भनेजस्तै सबै फुटबलप्रेमी तथा आलोचकहरु यो विचारमा सहमत नहुन सक्छन्। खेल हेर्न रंगशाला पुगेका कतिपय दर्शकले भने यसको उपादेयताको आलोचना गर्न सुरु गरिसकेका छन्। मुख्यत: दर्शकले यसले दिने निर्णय र खर्चिने समयमा प्रश्न गरेको पाइन्छ।
‘ममा पहिलो पटक सन्देह थियो तर कुनै कोसिसबिना तपाईं यो जान्न सक्नुहुन्न कि त्यो लायक छ वा छैन,' इन्फान्टिनोले भने, ‘भिएआरबिना रेफ्रीले प्रत्येक तीन खेलमा एक महत्वपूर्ण निर्णयमा गल्ती गरिरहेका हुन्छन्। तर भिएआर लागू भएपछिका खेललाई आधार मान्दा १९ खेलमा एकमात्र महत्वपूर्ण गल्ती हुने गरेको छ।’
अन्तर्राष्ट्रिय फुटबल परिषद् बोर्ड (आइएफएबी) ले मार्चको सुरुवातमै सर्वसम्मतिबाट भिएआरलाई स्थायी रुपमा नै लागू गर्ने निर्णय गरेपछि फिफाले पनि भिएआरलाई प्रयोगमा ल्याउने निर्णयमा पुगेको हो। आइएफएबी इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डको फुटबल संघ मिलेर बनेको संयुक्त संस्था हो।
फिफाको विधानअनुसार प्रत्येक फुटबल संघको एक भोट मानिन्छ र नियम परिवर्तन गर्न ४ देखि ६ भोटको आवश्यकता पर्दछ। भिएआरको बेल्जिएन विश्वविद्यालयका केयु लेयुभेनको स्वतन्त्र विश्लेषणपछि फिफाको कार्यसमितिले यसलाई उपयोग गर्ने निर्णयमा पुगेको हो।
भिएआरको इतिहास
भिएआरको उपयोग पहिलो पटक सन् २०१६ को मार्चमा गरिए पनि फिफाले भने सोही वर्ष डिसेम्बरमा आयोजना भएको क्लब विश्वकप तथा सन् २०१७ को कन्फेडेरेसन्स कपमा गरिएको थियो। सो प्रविधिलाई परिक्षणका लागि जारी सिजनअन्तर्गत केही इंग्लिस फुटबल प्रतियोगिताहरु, जर्मनी र इटालीमा भएका खेल तथा केही मैत्रीपूर्ण खेलहरुमा पनि उपयोग गरिएको थियो।

हालसम्म करिब २० प्रतियोगिताहरुमा यो प्रविधि उपयोग भएको तथ्यांक छ। आसन्न एफए कपको क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनलमा यसको उपयोग गरिएको थियो। इंग्लिस फुटबल प्रतियोगिता काराबाओ कपमा यो प्रविधि लागू गरिए पनि प्रिमियर लिग खेलिने मैदानहरुमा मात्रै यो प्रविधिको उपयोग गर्न सकिने व्यवस्था छ।
एफए कप अन्तर्गत गत फेब्रुअरीमा टोटनह्यामले रोच्डालेविरुद्ध ६–१ को जित दर्ता गर्दा केही निर्णयका लागि भिएआर प्रविधि अपनाइएको थियो। सो खेलमा गोललाई मान्यता नदिएको र परिवर्तित पेनाल्टी प्रहारलाई पनि पुनः उल्टाइएपछि सो प्रविधिलाई हास्यप्रधान र निर्णयलाई शर्मनाक भनेर आलोचना भएको थियो।

आगामी सिजनमा प्रिमियर लिगमा सो प्रविधिलाई उपयोग नगर्ने सम्भावना बढेर गएको देखिएको छ। उता आगामी सिजनको च्याम्पियन्स लिगमा भिएआर प्रणाली लागू नगर्ने भनेर युइएफएले प्रस्ट पारिसकेको छ। स्पेनिस ला लिगा र फ्रान्सको लिग–१ मा अर्को सिजनदेखि लागू गरिने बताइरहँदा बुन्डेसलिगामा भने आगामी मार्च २२ देखि नै लागू हुनेछ।
भिएआरले कसरी काम गर्छ?
मुख्य रेफ्रीले कुनै निर्णयमा दुविधा भएमा भिडियोको सहायता लिने प्रविधिलाई भिएआर भनिन्छ। यसका लागि थप सहायक रेफ्री भने राखिएको हुँदैन।
भिएआरले सबै गोल, पेनाल्टी तथा रातो कार्ड दिएको अवस्था लगायतमा पनि लगातार निगरानी गरिरहेको हुन्छ। सो अवस्थामा कुनै गल्ती भएको पत्ता लाग्नेबित्तिकै रेफ्रीले ‘रिभ्यु’ नमागे पनि उसले रेफ्रीलाई सूचना दिन्छ।
(भिडियो हेर्नलाई नयाँ विन्डोमा खोल्नुहोला)
उक्त अवस्थामा रेफ्रीलाई कुनै शंका लागेमा रिभ्यु लिन सक्छन्। यदि रेफ्रीले रिभ्यु लिन चाहे तर खेल चलिरहेको छ भने दुवै टोलीको एक-अर्कामा गोल गर्न सक्ने अवस्थाबाहेक खेललाई रोकिदिनुपर्छ। रिभ्यु लिएपश्चात् खेल मैदान नजिकै राखिएको मोनिटरमा भिडियो रिप्ले देखाइन्छ र सोको आधारमै रेफ्रीले आफ्नो निर्णय सुनाउँछन्।
भिएआरमा केही अन्योल हुने र सो प्रविधिको उपयोग गर्दा धेरै समय खर्च हुने हुँदा पछिल्लो समय यो प्रविधिमाथि टिप्पणी हुने गरेको छ। रंगशालामा उपस्थित दर्शकहरुका लागि लामो समय कुर्नुपर्ने भएकोले एक अध्ययनले सो प्रविधि खासै नरुचाइएको देखाएको छ।
(भिडियो हेर्नलाई नयाँ विन्डोमा खोल्नुहोला)
अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।