काठमाडौं– भारतीय सेनाले नेपाली महिलाका लागि समेत भर्ना (भर्ती) आह्वान गरेको छ। नेपालस्थित भारतीय दूतावासको कल्याणकारी शाखाले भारतीय सेनामा नेपाली महिलाको लागि पनि भर्ती खोलिएको जानकारी दिएको छ।
भारतीय दूतावास स्रोतका अनुसार भारतीय सेनामा पहिलोपटक नेपाली महिला भर्ती गर्न लागिएको हो। भारतीय सेनामा महिला पुलिस छनोटका लागि हुने 'र्याली'का लागि नेपाली महिलाले पनि आवेदन दिन सक्नेछन्।
भर्तीका लागि छनोट र्याली भने भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा हुने छ। भर्तीका लागि हुने छनोटमा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ।
महिला सेना प्रहरीका लागि न्यूनतम १० कक्षा उत्तिर्ण भएको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। उमेर भने १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मको हुनुपर्ने जनाइएको छ। 'वीर नारी'हरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिएको भारतीय दूतावासको कल्याणकारी शाखाले जानकारी दिएको छ।
शारिरीक मापदण्डका लागि उचाइ १५३ सेन्टिमिटर हुनुपर्ने छ। नेपाली महिलाको हकमा १४९ सेन्टिमिटर उचाइ भएपनि पुग्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।