काठमाडौं– अमेरिकास्थित नेपलिज् अमेरिकन च्याम्बर अफ कमर्सले नेपालको कोभिड राहतका हालसम्म करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जसमध्ये ५० हजार डलर नगद र ४० हजार डलर बराबरका ५ ओटा भेन्टिलेटरहरु रहेका छन्।
नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेपलिज् अमेरिकन च्याम्बर अफ कमर्सले शनिबार मात्र महावीर पुन प्रमुख रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार अमेरिकी डलर र करिब ४० हजार अमेरिकी डलर लागतका ५ थान भेन्टिलेटरहरु (२ थान नयाँ पोर्टेबल र ३ थान प्रयोगात्मक प्रयोगका लागि) हस्तान्तरण गरेको छ।
अवसरमा च्याम्बर र आविष्कार केन्द्रका बीचमा एक सम्झौता पत्रमा समेत हस्ताक्षर भएको थियो। च्याम्बरका सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
नेपालमा कोभिडको दोश्रो लहर शुरु भएपछि नेपलिज् अमेरिकन च्याम्बर अफ कमर्सले अमेरिकामा सहयोग संकलन अभियान शुरु गरेको थियो। सहयोग संकलन अभियानका संयोजक सुरेश पोख्रेलका अनुसार च्याम्बरले मुख्य रुपमा नेपाल झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अस्पताल, कैलालीको टीकापुर अस्पताल, सुर्खेतको पञ्चपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउँपालिकास्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ।
यस्तै, बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन 'आइसोलेशन सेन्टर' का लागी च्याम्बरले नेपाली समाज टेक्सासको सहयोगमा १० लाख नेपाली रुपैयाँको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए।
च्याम्बरले नेपालगञ्जस्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सास नेपाली मेडिकल एसोसियसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरुका परिवारका लागी सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।
च्याम्बरले शुरु गरेको कोभिड राहतमा अमेरिकास्थित नेपाली र अन्य समुदाय लगायत नेपाली समाज टेक्सास, टेक्सास नेपाली मेडिकल एसोसियशन, एभन्ट फाउन्डेशन, पूण्य फाउन्डेशन लगायतका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।