आमाबुवालाई धेरै गाह्रो भएको महसुस भएपछि जेठ ३ गते दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्न पठाएँ र रातारात म पनि भाइलाई लिएर दाङ पुगेँ। रिपोर्ट अर्को दिन आउने वाला थियो।
आमालाई घरमै हेरचाह गर्नु भनी भाइलाई सम्झाएर केही अग्रजको सल्लाहमा मैले बुवालाई त्यही दिन काठमाडौं ल्याएँ। बाटोमा बुबाको स्थिति धेरै बिग्रन थाल्यो। दायाँबायाँ सोच्ने कुनै अवस्था नै भएन। अन्यत्र बेड खोज्न ढिला गर्नुभन्दा मैले सरासर टेकु अस्पताल लगेँ। त्यहाँ बुवालाई बाटोमै लडाएर अक्सिजन दिइयो। पानी पर्न थालेपछि बल्लतल्ल धेरै पहल गरेपश्चात् करिब १६ घण्टापछि भित्र लग्न पाइयो। त्यहाँ बुवालाइ हेर्ने कोही थिएन। बुबाको छट्पटीमा म टाढा बस्न सक्ने कुरै थिएन। मैले सबै कुरा बिर्सिएर आफैले बुवाको सम्पूर्ण हेरचाह गरेँ। त्यहाँ नर्स र डाक्टर त सुई घोच्ने र अक्सिमिटर राख्ने पात्र मात्र थिए। मानवता भन्ने कुरा शून्य थियो। प्रतिमिनेट १५ लिटर अक्सिजन दिइराखेको बिरामी २ मिटर टाढा मोबाइल शौचालय जानुपर्थ्यो फर्किदा स्याचुरेसन ह्वात्तै घटेर ६०-६५ को रेन्जमा आइपुग्थ्यो। त्यो कुराको मतलब त्यहाँ कसैलाई थिएन। सायद बिरामीको चाप र जनशक्तिको अभावले गर्दा पनि होला।
अर्को दिनसम्म बुबाको स्थिति झन बिग्रँदो भएपछि डाक्टरलाई सल्लाह गर्दा आईसीयू खोज्नु भन्ने कुरा आयो। तीन दिनसम्म नसुतेको, नखाएको म आफै अर्ध बेहोस जस्तो थिएँ। अब आईसीयू कहाँ खोज्ने, चिनेजानेको सबैलाई फोन गरेँ। एक जना साथीले पाँच मिनेटमा आईसीयू व्यवस्था गरिदिनुभयो।
मैले तुरुन्तै बुबालाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल लिएर आएँ। सायद दुई मिनेट ढिलो गरेको भए परिस्थिति फरक हुन सक्थ्यो। आईसीयूमा राखेको आठ दिन हुँदा पनि सुधार आएन, मैले भगवानसँग प्रार्थना गरिरहेको थिएँ। फेरि मन न हो आत्तिन थाल्यो, ओठ तालु सबै सुकेर आए। यता म आफू पनि धेरै गलिरहेको थिएँ।
म आफू पनि जोखिममा भएपछि छोरी, श्रीमती र बुहारीलाई छुट्टै फ्ल्याट्मा राखेको थिएँ। तर, फेरि पछि मैले नसक्ने नै भएपछि भर्खरै अप्रेसन गरेर आराम गरिरहेकी आमालाइ पनि बीचमा यतै बोलाएँ।
भाइलाई पनि बोलाएँ। भाइको काठमाडौं आउँदा बाइक दुर्घटना भयो। फेरि अर्को तनाव थपियो, भाइलाई साथीभाइको सहयोगमा बि एण्ड बि हस्पिटलमा ल्याई इमर्जेन्सी चेक जाँच गरियो। त्यहाँ चिनेको डाक्टर (डा.प्रकाश)भएकाले उपचार फटाफट भयो। टाउकोको चोटका कारण केहि दिन मेमोरी लस जस्तो भएको थियो तर रिपोर्ट सामान्य भएकोले उनले स्वास्थ्यलाभ गरिरहेका छन् ।
उसो त म सरकारको हिमायती हुँ, शुभ चिन्तक हुँ, अब असार मसान्त पनि आउदै छ कर तिर्नुपर्ने होला, लकडाउन केही खुकुलो पारिदिनु सरकार धेरै कर तिर्न बाँकी छ मैले पनि।
यता मेरो स्वास्थ्य बिग्रँदै गएपछि १३ जेठमा पीसीआर परीक्षण गराएँ। बेलुका रिपोर्ट पोजिटिभ नै आयो। म गलेको ४/५ दिन भैसकेकाले स्याचुरेसन घट्दै गइरहेको थियो। अथाह डर लागे पनि सावधानी अपनाएर पछि श्रीमती, छोरी बुहारी पनि सँगै बस्न थाले र सेवामा खटिए।
घरको उपचारले पुग्ला जस्तो लागेन। मेरो अक्सिजन लेभल (स्याचुरेसन) घट्दो क्रममा भएपछि अर्कोदिन बिहानै म पनि अस्पताल भर्ना भएँ। बुवालाई यो सब केही थाहा दिइएको छैन। म र बुवा बेग्लाबेग्लै ब्लकमा भएपनि बुवाको निगरानी र खानपिनको ख्याल हरेक पलपलमा अर्को बिरामीको कुरुवाको सहारामा गरिरहेको छु। अहिले अक्सिजनको सहारामा छुट्टाछुट्टै ब्लकमा हाम्रो जीवन टिकिरहेको छ।
यसरी बाबुछोरा अस्पताल बस्दा दैनिक जसो १ लाख बढीको बिल अस्पतालले थमाउँछ। पेमेन्ट गर्दिनु हजुर भनेर स्वाव मेसिन र क्यूआर कोड लिएर अस्पताल प्रशासनको मान्छे बेडसम्म आइपुग्छन्। फेरि यो अस्पताल आफैमा महँगो अस्पतालको रुपमा चिनिँदो रहेछ, त्यो मलाई थाहा थिएन। थाहा भएपनि मसँग विकल्प पनि त थिएन।
आफ्नो जीवनको उर्जाशील समय समाजसेवामा समर्पित गर्दै र निर्वाहमुखी जीवनको सोचभन्दा बढी महत्त्वाकांक्षा नराखेर होला सायद खर्चको यो दर अनुसार एक महिनासम्मको अस्पताल बसाइलाई समेत धान्न सक्ने सामर्थ्य मेरो बैंक खातासँग रहेनछ, जुन कुराले चाहिँ मलाई धेरै पोलेको छ। तर, अर्कोतिर मैले धेरै मनकारी साथीभाइ आफन्त पनि कमाएको रहेछु ,जसका कारणले जीवनमा आशाको दीप जलाएको छ।
जे होस् मलाई जीवन टिकाउन यति महँगो हावा (अक्सिजन) किन्ने जुन अवसर मिल्यो सरकारलाई धेरै धेरै धन्यवाद। आज सरकारी अस्पताल राम्रा हुन्थे, त्यहाँको म्यानेजमेन्ट चुस्त हुन्थ्यो भने यो दुर्दशा दुई छाकका लागि दुःख गरिरहेका नागरिकले भोग्नुपर्ने थिएन। सरकारी अस्पताल गयो सास रहन्न, निजी अस्पताल गयो बास रहन्न भनेको सुनेको थिएँ, याद आयो।
उसो त म सरकारको हिमायती हुँ, शुभचिन्तक हुँ, अब असार मसान्त पनि आउदै छ कर तिर्नुपर्ने होला, लकडाउन केही खुकुलो पारिदिनु सरकार धेरै कर तिर्न बाँकी छ मैले पनि।
हाम्रो भविष्य जति थिलोथिलो भए पनि सरकार तिम्रो सत्ता डगमगाउनु हुँदैन। तिम्रो कुर्सी अमर रहोस्। हाम्रा लागि अस्पतालमा सुत्ने कोलिया समेत छैन, ठिकै छ। बालुवाटार, सिंहदरबार, टुडिखेल, दूतावासका सबै जग्गा तिम्रा परिवारका हुन्, सकेसम्म ब्रह्मलुट गर्नु, मिलाइमिलाई सबै ठाउँमा आराम गर्नु।
मन बलियो बनाएर सोचेको छुँ त्यसरी ढलेको धरहरा त फेरि नयाँ चमकताका साथ उठेको छ, म त आत्मविश्वास, आत्मवल सहितको सक्षम व्यक्ति हुँ म झन् जरुर उठ्नेछु पहिला भन्दा झनै खारिएर, झनै माझिएर।
यो बीचमा जसले आफ्नो ज्यानको समेत परवाह नगरी हरेक पलपलमा साथ दिनुभएको छ, उहाँहरुको बारेमा त कति लेख्नु छ कति! निस्वार्थ तरिकाले निरन्तर हामीलाई हरेक तहबाट सहयोग गर्ने आफन्ती, साथीभाइको लिस्ट धेरै लामो छ, उहाँहरु सबको बारेमा अनुमति लिएर लेख्नेछु ।
यो बीचको भोगाइले मलाई धेरैभन्दा धेरै बलियो बनाएको छ। त्यसै पनि मैले जीवनको महत्त्वपूर्ण कालखण्ड समाज र जनताप्रति समर्पित गराएर बिताएको छु, अब झन् परिवार र समाजप्रतिको मेरो दायित्वलाई मैले धेरै सशक्त र नवीन तरिकाले बहन गर्नेछु।
मेरो कामसँग जोडिनुभएका धेरै जनालाई मेरो अभावले असर परेकोप्रति छिटोभन्दा छिटो लयमा फर्किने अपेक्षासहित क्षमाप्रार्थी छु। आज त आकाश पनि खुलेको जस्तो लागेको छ, विस्तारै हामी सुधारको चरणमा छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।