अमेरिका- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन्। सुवेदी २०२१–२०२३ का लागि अध्यक्ष पदमा विजयी भएका हुन्।
शनिबार र आइतबार भएको निर्वाचनमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कूल २० हजार १३८ मतदाता रहकोमा १५ हजार ७६८ ले मतदान गरेका थिए। सुवेदीले कूल मतको ३६ प्रतिशत ल्याएका छन्। उनले ५ हजार ६ सय १८ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत प्राप्त गरे।
तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन्। उनले ४ हजार १ सय भोट ४८ मत पाए। यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन्।
को हुन सुवेदी ?
सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन्। एनआरएनको तल्लो तहदेखि काम गरेको अनुभव बटुलेका सुवेदी च्याप्टर अध्यक्ष र एनसीसी अमेरिकाको उपाध्यक्ष हुँदै २०२१–२०२३ को लागि अध्यक्षको प्रत्यासी भएका थिए। उनी विस्किन्सान राज्यको संस्थापक च्याप्टर अध्यक्ष हुन्।
सुवेदी परिवार स्याङ्जा टक्सारबाट चितवनमा बसाइ सरेको हो। चितवनको माडीमा बाल्यकाल बिताएका सुवेदी अमेरिका जानुअघि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थिए।
सन् २००३ मा परिवार साथ अमेरिका पुगेका सुवेदी अहिले अमेरिकामा स्थापित नेपाली व्यवसायीका रुपमा परिचित छन्। सन् २००६ बाट व्यवसाय प्रारम्भ गरेका सुवेदीले दुई सय जनाको हाराहारीमा नेपालीलाई रोजगारी पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।