काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमप्रति युएईका प्रवासी नेपाली संगठनहरूले विरोध जनाएका छन्।
नेपाली जनसम्पर्क समितिका सभापति भुवानी प्रसाद तिमिल्सिना, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष बाबुराम लाेप्चन, प्रवासी नेपाली मञ्च (माधव समूह) का अध्यक्ष प्रविण पोख्रेल, युएई नेपाली एकता समाजका काबा अध्यक्ष दिनेश थापा र विवेकशिल साझा सद्भावका संयोजक नवराज कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरेका हुन्।
कोरोनाम महामारीको विषम परिस्थितिमा जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरकार आफै एक पछि अर्को चरणबद्ध रुपमा मुलुकको संविधान र व्यवस्थामाथि नै खलल पुग्ने कार्य गर्न उद्दत रहेको उनीहरूको टिप्पणी छ।
'२०७८ जेष्ठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघट्न गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाले आम प्रवासी नेपालीहरुको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ, 'नेपाली जनताको ७० वर्ष भन्दा लामो इतिहास, संघर्ष, बलिदान र आन्दोलनहरुबाट प्राप्त गणतन्त्र र संविधान सभाबाट बनेको संविधान नै खतरामा पार्ने गरि देशका कार्यकारी प्रमुख र संविधानका रक्षक तथा राष्ट्र प्रमुखबाट नै पटक पटक आक्रमण भैरहनु कुनै पनि कोणबाट सामान्य र संयोगको रुपमा मात्र लिन सकिँदैन।'
प्रतिनिधि सभाको विघटनविरुद्ध आ-आफ्नो ठाउँबाट प्रतिकार र खबरदारी गर्दै नेपालको संविधान, संघीय गणतन्त्रलगायत नेपालको सर्वाेपरि हितको पक्षमा उभिन र ऐक्यवद्धता जाहेर गर्न देश तथा विदेशमा रहेका नेपालीहरूलाई आह्वान समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।