एजेन्सी– रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ सुरु हुन अब ३७ दिन बाँकी छ। प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन्। ३२ टिमबीच ६४ खेल हुनेछ। ६४ खेल रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा हुनेछ। आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकपका १२ रंगशालाका यस्ता छन् :
लुज्निकी रंगशाला, मस्को

आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुने यो रंगशाला मस्कोमा अवस्थित छ। ८० हजार दर्शक क्षमता भएको यो रंगशालामै फाइनल खेल सञ्चालन हुनेछ। यो मैदानमा विश्वकप २०१८ उद्घाटन र फाइनल खेलसहित ७ खेल हुनेछन्।
विश्वकपका लागि यो रंगशालाको पुनर्निर्माण सन् २०१३ मा थालिएको थियो। यही रंगशालामा सन् १९८० को ओलम्पिक गेम्सका मुख्य इभेन्ट भएका थिए। मैदानलाई यसअघि सिएसकेए मस्को र स्पार्टक मस्कोले होम ग्राउन्डको रुपमा प्रयोग गरे पनि अहिले रसियाको राष्ट्रिय टिमको होम मैदानको रुपमा लिने गरिएको छ। सुरुमा कृत्रिम घाँस भएको यो मैदानमा अहिले भने प्राकृतिक घाँस छ।
स्पार्टक रंगशाला, मस्को

स्पार्टक रंगशालामा रसिया विश्वकपका ५ खेल सञ्चालन हुनेछन्। ४५ हजार दर्शक क्षमता भएको मैदानमा विश्वकपका समूह चरणका ४ र प्रिक्वार्टरफाइनलका एउटा खेल हुनेछ। यो मैदान रसियन क्लब स्पार्टक मस्कोको घरेलु मैदान हो। १९२२ मा निर्माण गरिएको मैदान सन् २०१० मा पुनर्निर्माण गरिएको थियो। सन् २०१४ देखि रंगशालाको औपचारिक उद्घाटन गरिएको थियो।
सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग

लुज्निकी जस्तै यो रंगशाला पनि रसिया विश्वकपका सर्वाधिक ७ खेल सञ्चालन हुनेछन्। रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ। यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो। यो सेन्ट जेनिट पिटर्सवर्ग क्लबको घरेलु मैदान हो। १.१ बिलियन डलर निर्माण खर्च भएको रंगशालाको गत वर्ष उद्घाटन भएको थियो।
फिस्ट ओलम्पिक रंगशाला, सोची

सोची सहरमा अवस्थित फिस्ट ओलम्पिक रंगशालामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन्। प्राकृतिक घाँस रहेको मैदानमा एक क्वार्टफाइनलको खेल तथा बाँकी समूह चरणका खेल हुनेछन्। रंगशालामा ४८ हजार दर्शक अट्छन्। यो रंगशाला सन् २०१४ को विन्टर ओलम्पिकका लागि निर्माण गरिएको हो। यहीँ सोची ओलम्पिकको उद्घाटन र समापन समारोह भएको थियो।
कसमस एरेना, सामरा

सामरा सहरमा रहेको कसमस एरेनामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन्। जसमा एक क्वार्टरफाइनलको खेल पनि सञ्चालन हुनेछ। रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ। मैदानमा प्राकृतिक घाँस रहेको छ। मैदान सन् २०१४ मा निर्माण सुरु भएको रंगशाला यही महिना तयार भएको हो। रंगशाला निर्माणमा ३ सय २० मिलियन डलर खर्च भएको थियो।
काजन एरेना, काजन
काजन सहरमा अवस्थित काजन एरेना रंगशाला ४५ हजार दर्शक क्षमता भएको रंगशाला हो। यो रंगशालामा पनि क्वार्टफाइनलका एक खेलसहित ६ खेल हुनेछन्। २०१० मा निर्माण सुरु गरेर २०१३ मा सकिएको रंगशालाको लागत ४ सय ५० मिलियन डलर रहेको छ। रंगशालाबाहिर युरोपकै ठूलो स्क्रिन छ। प्राकृतिक घाँस भएको मैदानमा कन्फेडेरेसन कपका ४ खेल भएका थिए।
रोस्टोभ एरेना, रोस्टोभ

रोस्टोभ सहरको यो रंगशालामा विश्वकपका प्रिक्वार्टरफाइनलका एक खेलसहित ५ खेल सञ्चालन हुनेछ। रंगशालाको दर्शक क्षमता ३७ हजार रहेको छ। २०१४ मा निर्माण सुरु गरिएको मैदानमा प्राकृतिक घाँस छ।
भोल्गोगार्ड एरेना, भोल्गोगार्ड

भोल्गोगार्ड मैदानमा विश्वकपका ४ खेल सञ्चालन हुनेछन्। यहाँ समूह चरणका खेल मात्र हुने तय छ। रंगशालाको दर्शक क्षमता ४५ हजारभन्दा बढी छ। सन् २०१५ मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण यही वर्ष सकिएको थियो।
निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड

निज्नी नोवगोरोड सहरमा अवस्थित रंगशालाको दर्शक क्षमता ४४ हजार ८ सय रहेको छ। रंगशालामा विश्वकपकको एक प्रिक्वार्टफाइनल खेलसहित ५ खेल सञ्चान हुनेछन्। सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो। यो मैदान रसियन क्लब एफसी रोस्तोफको होम मैदान हो।
मोर्डोभिया एरेना, सारान्सक

सारान्सक सहरको रंगशाला मोर्डोभिया एरेनामा विश्वकपका ४ खेल सञ्चालन हुनेछन्। यो मैदानमा समूह चरणका मात्र खेल सञ्चालन गर्ने तय छ। रंगशालाको दर्शक क्षमता ४४ हजार रहेको छ। सन् २०१० मा निर्माण सुरु गरिएको मैदान अप्रिल २०१८ मा सकिएको थियो। मैदान निर्माणका लागि ३ सय मिलियन डलर खर्च भएको थियो।
सेन्ट्रल रंगशाला, एकाटेरिङवर्ग

एकाटेरिङवर्ग सहरको सेन्ट्रल रंगशालामा विश्वकपका समूह चरणका ४ खेल हुनेछन्। सन् १९५७ मा निर्माण गरिएको यो रंगशाला सन् २०१४ देखि पुनर्निर्माण थालिएको थियो। सन् २०१७ मा पुनर्निर्माण सकिएको मैदानको दर्शक क्षमता ३५ हजार रहेको छ।
किलिनिङगार्ड रंगशाला, किलिनिङगार्ड

किलिनिङगार्ड सहरको यो रंगशालाको दर्शक क्षमता ३५ हजार रहेको छ। यहाँ विश्वकपका समूह चरणका ४ खेल हुनेछन्। सन् २०१६ मा निर्माण सुरु गरिएको मैदान भरखरै सम्पन्न भएको हो। मैदानको निर्माणका लागि २ सय ५७ मिलियन युरो खर्च लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।