काठमाडौं- कोरोना भाइरस संक्रमण दोस्रो लहर सुरू भएसँगै नेपालमा पनि अक्सिजनको अभाव देखिएको छ। भारतमा अक्सिजन अभावकै कारण हजरौं कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला नेपालमा पनि अक्सिजन अभाव देखिएको हो।
सरकारले अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर, उद्योगहरूमा अझै अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै तत्काल फिर्ता गर्न स्वास्थ्य मन्त्रालयले उद्योगीहरूलाई फेरि निर्देशन दिएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएपछि विभिन्न व्यक्ति र संघ/संस्थाले स्वतः स्फूर्त रूपमा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिदिन थालेका छन्।
यसैबीच ‘हाम्रो सानो प्रयास’, ‘हाम्रो टिम नेपाल’, ‘इन्स्टिच्युट फर नेपाल’ र ‘समानुभूति नेपाल’ले कोभिड-१९ बाट अति सिकिस्त बिरामीहरूका लागि ‘अक्सिजन बैंक’ सुरू गरेका छन्। अघिल्लो पटकको लकडाउनमा मजदुरलाई खाना खुवाउन सक्रिय उनीहरू अहिले अक्सिजन जुटाउन लागेका हुन्।
‘अक्सिजनको अभाव देखिएकाले यसको प्रयास थाल्न धेरैले सुझाव दिए। र, त्यही सुझाव र मागका कारण ‘अक्सिजन बैंक’ सुरू गरेका हौं,’ हाम्रो सानो प्रयासका संयोजक पुकार बम बताउँछन्। खाली सिलिण्डर जम्मा गर्ने त्यसमा अक्सिजन भरेर चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउने काम गरिरहेको उनले बताए।
‘जसले सक्नुहुन्छ, उहाँहरूले खाली सिलिण्डर हामीलाई दिनुहुन्छ। केही हामी किन्छौं पनि। खाली सिलिण्डरमा अक्सिजन भरेर डाक्टरको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउदैं आएका छौं,’ बमले भने।
यो समूहले अस्पतालबाट डिस्चार्ज हुँदा अक्सिजना जरूरी पर्ने बिरामीको हकमा पनि सिलिण्डर उपलब्ध गराउँदै आएको छ। त्यसका लागि पनि डाक्टरको सिफारिस नै मुख्य आधार हो।
काठमाडौंमा आइतबारदेखि सुरू भएको ‘अक्सिजन बैंक’ बुधबारबाट बागलुङमा पनि सुरू भएको छ। त्यस्तै बुटवलमा मंगलबारदेखि र हाम्रो सानो प्रयासमा जोडिएका सातवटै प्रदेशका प्रतिनिधिले अन्य स्थानमा पनि प्रयास थालेका छन्। सुरूमा गाह्रो भए पनि अगाडि बढ्दै गयो भने स्थानीय सरकारले सहयोग गर्दै जाने संयोजक बमको छ।
आइतबारबाट सुरू गरिएको अक्सिजन बैंकले मंगलबारसम्म ४०/४५ वटासम्म सिलिण्डर बिरामीलाई उपलब्ध गराएको छ। दिनमा सयदेखि डेढ सयभन्दा बढी सिलिण्डर उपलब्ध गराउने उनीहरूको योजना छ।
‘किन्छु भन्दा पनि अक्सिजन सिलिण्डर पाउन गाह्रो भएको छ,’ बमको अनुभव छ, ‘कालोबजारी बढिरहेको छ। सरकारले हामीसँग बेडको अभाव छैन भन्दै तथ्यांक दिन्छ। तर, हामी विभिन्न अस्पतालमा दौडिरहेका छौं। अस्पतालमै पुगेर काम गरिरहेका छौं। कुनै पनि अस्पतालमा बेड पाउन गाह्रो छ।’
कोरोना संक्रमणपछि निको भएकासँग पनि उनीहरूले अक्सिजन सिलिण्डरका लागि आग्रह गर्दै आएका छन्। आठ महिनाअघि कोरोना संक्रमणबाट श्रीमती गुमाएका व्यक्तिले अक्सिजन बैंकको पोस्ट देखेर सिलिण्डर उपलब्ध गराएका छन्। बुझ्नेहरूले आफूसँग भएका सिलिण्डर आफैं सम्पर्क गरेर दिइरहेका छन् भने केही उनीहरूले किनिरहेका छन्।
सरकारसँग माग्न भन्दा पनि सरकारलाई नै सहयोग गर्न जाँदा सरकारी अधिकारीबाट उनीहरूले कुनै प्रतिक्रिया पाएका छैनन्।
‘उहाँहरूले हामीसँग सहयोग लिन चाहिररहनुभएको छैन। किनभने त्यो त जिम्मेवारी हो। दिनमा सयौं फोन आउँछ। तर, त्यो जिम्मेवारी लिन उहाँहरू तयार हुनुहुन्न,’ बम भन्छन्, ‘अहिले पनि स्वास्थ्य मन्त्रालयमा बेलुका ५ बजे जानुभयो भने सबै बन्द भइसकेको हुन्छ।’
नागरिकले पनि सामूहिक तवरबाट गर्नसक्ने सहयोगका लागि पहल गर्नुपर्नेमा उनको जोड छ।
‘केही गरौं न’ बाट सुरू भएको अभियान
गत वर्ष कोरोना महामारीले नै जन्माएको हो, ‘हाम्रो सानो प्रयास नेपाल’। त्यतिबेलाको लकडाउनमा हिँडेरै घर जाने मानिसको संख्या ठूलो थियो। तीन/चार सय किलोमिटर हिँडेरै मानिस घर जाँदै थिए। त्यहीबेला मीनबहादुर भामलगायतले ‘केही गरौं न’ यो बेला भन्ने छलफल गरे।
चैत १४/१५ गतेदेखि अरू केही गर्न नसके पनि पैदल हिँडेर घर जान लागेकाहरूलाई एक छाक तातो खाना खुवाउने निधो भयो। पहिलो दिन प्याकिङ खाना एक छाक जगातीको जंगलबाट कम्तीमा ८० देखि १०० जनासम्मलाई खुवाए। खाना एक हप्तामात्रै खुवाउने भनिएको थियो।
‘त्यो भन्दा धेरै गर्नसक्ने क्षमता हामीसँग थिएन। तर, आन्तरिक रूपमा अन्य साथीहरूले सहयोग गर्दै गएपछि विभिन्न स्थानीय सरकार पनि जोडिन आए,’ बम आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘त्यसरी खाना खुवाउने अभियान सातवटै प्रदेशमा सुरू भयो।’
अहिले देशभर आमा समूह र युवा समूह गरेर २५० भन्दा बढी संघसंस्था यो सञ्जालमा जोडिएका छन्। चार हजारभन्दा बढी स्वयंसेवक यस अभियानमा जोडिएका छन् भने छ लाखभन्दा बढीले विभिन्न सहयोग गरेको बम बताउँछन्।
सुरूमा निःशुल्क खाना खुवाउने, राहत वितरण र घर जानेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिनेमा अभियान केन्द्रित थियो। लकडाउनमा उनीहरूले एकै दिन चार/पाँच हजारसम्मलाई खाना खुवाउने काम गरे। तर, पछि यही संस्था शिक्षा र जनचेतनाको क्षेत्रमा पनि लाग्यो।
केही महिनाअघि ‘इनफ इज इनफ’ को आन्दोलनमा बम आफैं पनि जोडिए। कोरोना महामारीमा सरकारले उदासीनता देखाएको भन्दै सत्याग्रह पनि बसे। अहिले पनि विभिन्न संघसंस्थाको पहलमा खाना खुवाउने र राहत तथा उद्धारको काम जारी छ।
अघिल्लोपटक तीनदेखि चार सय जनासम्म स्वयंसेवक थिए, अहिले उनीहरू घरबाट निस्किएका छैनन्। र, अहिले स्वयंसेवकको संख्या ५० देखि ६० जनामा खुम्चिएको छ। गत वर्ष प्रदेशका नाकामा दुई/तीन सय जनाको हाराहारीमा स्ययंसेवक खटिएका थिए। तर, अहिले ५/१० जनामात्रै अस्पतालमा दौडिरहेका छन्।
अघिल्लोपटकको महामारीमा भएको लकडाउनमा भन्दा यसपटक सहयोगको सीमा झन् साँघुरो बनेको बमको अनुभव छ।
‘फेरि आन्दोलन हुनसक्छ’
संयोजक बमले यही अवस्था रह्यो भने कोरोना महामारीकै बीचमा जनता आन्दोलित हुनसक्नेतर्फ सरकारलाई सचेत गराएका छन्। ‘यसपटक छिट्टै आन्दोलन हुन्छ जस्तो लागेको छ। हामीले पनि दिमाग गुमाउँछौं। हालत खराब हुँदै गइरहेको छ। चुप लागेर, रमिता हेरेर बस्न पनि सकिँदैन। काम गर्दै जाँदा शरीर हो थाक्छ पनि। रिस पनि उठ्छ,’ बमले आक्रोश पोखे।
महामारीले सन्त्रास फैलाइसक्दा सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको उनको आरोप छ। ‘अहिले अभियन्ताहरू मिलेर १५/२० लाख रूपैयाँ रकम जम्मा गरेर सिलिण्डर किन्यौं भने चीनबाट दुई/चार दिनमै नेपाल आउँछ। तर, त्यही कुरा सरकारले गर्न सकिरहेको छैन। त्यसैले कारोना संक्रमितको उपचारमा सरकारलाई दबाब दिन खोजेका हौं,’ बमको भनाइ छ।
सुझाव
अरू केहि गर्न नसके पनि घर वरपर आफैंले जिताएका जनप्रतिनिधिहरू छन्, उनीहरूलाई झकझक्याउनुपर्नेमा बमको जोड छ। वडा प्रतिनिधिमार्फत् नगरपालिका, गाउँपालिकालाई दबाब दिनुपर्यो। कोरोना भाइरस सहरबाट गाउँ गइरहेको छ। सहरमा त सहयोग गर्ने संघसंस्था र मानिसहरू छन्। तर, गाउँमा केही र कोही पनि छैनन्। त्यसैले एक महिनापछि हुनसक्ने भयावह स्थिति रोक्न अहिलेदेखि नै जनप्रतिनिधिलाई झकझक्याउन नागरिकलाई उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।