काठमाडौं- सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिडविरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउन अवरोध गर्ने एजेन्टललाई नै कोभिशिल्ड खोप आयात गर्ने अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले कोभिडविरुद्धको भारतबाट कोभिसिल्ड खोप ल्याउन हुकुम डिस्ट्रिव्युर्टसलाई अनुमति दिएको हो। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले सेरम इन्स्टीच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकुम र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप ल्याउन इमराल्डलाई अनुमति दिएको जानकारी दिए।
हुकुम त्यही एजेन्ट कम्पनी हो जसले भारतको सेरम इन्स्टीच्युटबाट सरकारले खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिनमा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन माग गरेको थियो।
सरकार र कम्पनीबीच सिधै खरिद गर्न लागिएको खोपमा आफ्नो कुनै संलग्नता नभएपनि हुकुमले कमिसनका नाममा रकम माग गरेपछि खोप खरिद प्रक्रिया नै अवरुद्ध भएको थियो। हुकुमले कम्पनीसँग १० प्रतिशत कमसिन मागेपछि स्वास्थ्य मन्त्रालयले खोपका लागि अग्रिम रुपमा रकम पठाएपनि १० लाख डोज खोप अझै आउन सकेको छैन।
हुकुम सेरमको नेपालस्थित एजेन्ट हो। हुकुमले खरिद प्रक्रियामा कुनै पनि संलग्नाता नभए पनि सेरमबाट खोप ल्याउँदा आफूलाई १० प्रतिशत कमिसन चाहिने भन्दै खरिद प्रक्रिया नै रोकेको थियो। हुकुमले खरिद प्रक्रियामा अवरोध गरेकै कारण सरकारले सेरमसँग ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया समेत रोकिएको छ।
हुकुम कम्पनीमा व्यवसायी सुरज वैद्य र विजय दुगड साझेदार छन्।
हुकुमले कमिसन माग गरेकै कारण खोप खरिद प्रक्रिया प्रभावित हुन लागेको समाचार नेपाल लाइभले गत फागुन २६ गते नै प्रकाशित गरेको थियो।
सो समाचार प्रकाशित भएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कमिसनको खेलका कारण खोप खरिदमा समस्या आएको सार्वजनिक प्रतिक्रिया दिएका थिए। तर, उनले कमिसन मागेर खोप खरिद प्रक्रिया रोक्ने एजेन्टको नाम भनेर सार्वजनिक गरेका थिएनन्।
मन्त्री त्रिपाठीले कमिसन एजेन्टको नाम गोप्य राख्नुको पछाडि पनि केही स्वार्थ रहेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन्।
दुई महिनाभन्दा बढी समयसम्म मन्त्री त्रिपाठीले पनि ऐजेन्टको नाम गोप्य राख्नुका थुप्रै कारण छन्। मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, 'यो सेटिङमा कहाँ के कुरा नमिलेपछि अहिले आएर एजेन्टको नाम सार्वजनिक भएको हो। तर अहिले फेरि त्यही ऐजेन्टलाई खोप ल्याउने अनुमति दिनुको पछाडि पनि कारण छ।'
औषधि व्यवस्था विभागका कर्मचारीले भने प्रक्रिया अनुसार नै कागजपत्र हेरेर अनुमति दिएको बताएका छन्।
कमिसनका कारण बढ्यो खोपको मूल्य
स्रोतका अनुसार सरकारले खरिद गर्न लागेको ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसन उपलब्ध गराउने खेल सुरु भएपछि खोपको मूल्य नै बढेको छ। खोप उत्पादक कम्पनीले पनि स्वास्थ्य मन्त्रालयलाई एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर खोपको नयाँ मूल्य प्रस्ताव गरेको थियो।
‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रति डोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको थियो’ स्रोत भन्छ, ‘उक्त कमिसन नजोड्दा प्रति डोज ५ दशमलव ५० डलर पर्छ।’
सरकारले अघिल्लो पटक प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरीद गरेको थियो। तर हुकुमको खेलपछि प्रति डोज ६ दशमलव ०५ डलर पुगेको हो। पछिल्लो समय कोरोना संक्रमण बढेपछि यो रकम पनि थप बढाउने खेल सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।