प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विषयमा लक्षणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा जनता समाजवादी पार्टीबाट कार्यदल बनाएको छ। सरकारले पनि आफ्नो तर्फबाट अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित तीन सदस्यीय कार्यदल बनाएको छ। जसपाका चार जना शीर्ष नेताहरुले प्रधानमन्त्रीसँग भेटेर आफ्ना कुरा राखिसकेका छन्। जसपाका शीर्ष नेताहरूले भेटेलगत्तै कार्यदल तहमा पटकपटक छलफल समेत भइरहेको छ। ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपाका नेता लक्षमणलाल कर्णसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पिादित अंशः
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तपाईंहरुले पनि सहकार्य हुने स्थितिमा बनेको हो?
अहिलेसम्म हामी कुन पार्टीसँग सत्ता सहकार्य गर्ने भन्ने टुंगोमा पुगेका छैनौँ। पार्टीबाट निर्णय पनि गरेका छैनौँ। ओलीसँग सहकार्य गर्न कार्यदल बनाएका छौँ। त्यो कार्यदलले आफ्नोतर्फबाट जुन माग हो, त्यो पूर्तिको लागि केही होमवर्क गरिराखेका छौँ। हामीले अहिले नै समर्थन गर्छौं भनेको पनि छैनौँ। अगाडि बढाएको पनि छैन।
तपाईंहरूका कुन-कुन माग पूरा गरेपछि सरकारमा जाने हुन सक्छ?
सरकारमा जाने वा सरकार बाहिरै समर्थन गर्ने अलग विषय हो। पहिला काम हुनुपर्यो। रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको विषयलाई मूर्त रूपमा अगाडि बढाउने होमवर्क गर्नुपर्यो। त्यसमा हामीले काम गरिराखेका छौँ।
ओली सरकारमा जान सहमतिको मस्यौदा तयार भइसकेको छ भन्ने कुरा पनि आएको छ नि?
धेरैले धेरै कुरा गर्छन्। मैले आफ्नो कुरा तपाईंलाई भनेको हुँ। अरु कुरा मलाई थाहा छैन।
जसपाको एउटा पक्ष 'ओली सरकारसँग सहकार्य नै गर्नुहुँदैन' भन्दैछ नि?
मान्छेले आ–आफ्नो विचार भावना व्यक्त गर्न सक्छन्। जुन निर्णय हुन्छ। सर्वसम्मत हुन्छ। त्यसलाई मानेर जाने हुन सक्छ। पार्टी सर्वसम्मत निर्णय गरेको छैन। त्यो प्रक्रियामा पुगेको पनि छैन। सर्वसम्मत निर्णय गर्ने विषयमा छिरेकै छैनौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।