सोल- दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले दुईदिने शैक्षिक सेमिनार गर्ने भएको छ। मार्च १३ र १४ मा आयोजना हुने सेमिनारमा ६ सत्र निर्धारण गरिएको संस्थाका अध्यक्ष राजाराम श्रेष्ठले जानकारी दिए।
कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सेमिनार आयोजना गरिएको छ। विदेशमा सिकेको ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न सेमिनार फलदायी हुने विश्वास आयोजकको छ।
सेमिनारमा नेपाल, कोरियालगायत विश्वका विभिन्न देशमा पुगेका विषय विज्ञ नेपालीहरूको अनुभव र ज्ञानलाई नेपालको समृद्धिमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठले बताए।
कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विज्ञ, अनुभवी तथा दक्ष व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारी हुने आयोजकको भनाइ छ।
सेमिनारको पहिलो दिनको पहिलो सत्रमा मुख्य वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका उप-कुलपति प्राडा भोला थापा र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको प्रस्तुति रहने सेमिनारका संयोजक डा टङ्किङ बास्तोलाले जानकारी जानकारी दिए।
त्यस्तै दोस्रो दिनको सेसनको प्रमुख वक्ता डा. दिग्विजय महत रहनेछन्। इन्जिनियर रवि घिमिरेको संयोजनमा सम्पन्न हुने पहिलो दिनको कार्यक्रम ३ सत्रमा विभाजन गरिएको छ। ती सत्रको सहजीकरण डा. कृष्ण सोमाई, यज्जु प्रधान र चारू विष्टले गर्ने उल्लेख छ।
डा. दिग्विजय बस्नेत प्रमुख वक्ताका रूपमा रहेको दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका विभिन्न विषयहरू समेटेर ६ वटा सत्रमा विभाजन गरिएको छ। विभिन्न ६ सेसनमा इञ्जिनियरिङ एन्ड आर्टिफिसियल इन्टेलिजेन्सी, नेचुरल साइन्स, एप्लाइड साइन्स एन्ड बायो टेक्नोलोजी, हेल्थ एन्ड अलाइड साइन्स, एग्रिकल्चर फरेस्ट्री, फुड, ग्रिन इनर्जी एण्ड इकोलोजी र सोसियल साइन्स एन्ड म्यानेजमेन्ट रहेका छन्।
सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न हुने सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहेका विभिन्न व्यक्तित्वहरूको प्रस्तुति रहने छ।
कार्यक्रममा नेपाली दूतावास सोलका उपनियोग प्रमुख रामसिंह थापाको प्रमुख गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष, सोनसिका पूर्व सभापतिहरू, सल्लाहकार लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।