काठमाडौं- विवेकशील साझा पार्टीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई राज्यबाटै संरक्षण नहोस् भनेर सचेत गराएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै उसले विगतका यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने गरेको स्मरण गर्दै भागरथी घटनामा यो क्रम नदोहोर्याउन सचेत गराएको हो।
हत्या हुनुअघि बलात्कारको आशंका गरिएको घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन पनि विवेकशील साझाले माग गरेको छ।
दोषीलाई कारबाहीको माग गर्दै न्याय प्राप्तिका लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा उसले ऐक्यवद्धता समेत जनाएको छ।
‘शहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ’, प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहीन ढङ्गबाट नियाल्न आग्रह गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।