तीन महिनाअघि माइतिघर मण्डलामा एक हुल कालो कपडाधारी युवतीहरु जम्मा भए। उनीहरुले आँखामा पनि कालो पट्टी बाँधेका थिए । सडकमा बाजा बजाउँदै उनीहरुले चोरऔंला ठड्याउँदै भने, 'तँ बलात्कारी होस्।' उनीहरुले कलात्मक तरिकाले आफ्नो मत प्रस्तुत गरे। बलात्कारीलाई फाँसी दिनुभन्दा सानैदेखि यौन शिक्षामा ध्यान दिन सरकारलाई कलाकै माध्यमबाट सुझाए।
त्यही माइतिघर मण्डलामै नाटक मञ्चन भये, 'प्रतिगमन।' नाटकमा कसरी जनताले निरंकुश शासकको कुर्सी खुस्काए र फेरी कसरी अर्को आएर जनताको अधिकारमा प्रतिगमन गर्यो भन्ने विषय सम्प्रेषित थियो। यो क्रम चल्ने क्रममा केही दिनअघि मात्रै टेकु पचलीघाटको खरीको बोटमुनि शिल्पी थिएटरको टोलीले नै अर्को नाटक मञ्चन गर्यो र सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको क्षणको स्मरण गरायो। जसको यतिवेला विशेष अर्थ छ।
विरोधको अर्थ आफूलाई कुनैपनि अव्यवस्थाको विपक्षमा उभ्याउनु हो। त्यसमा फरक मत राख्नु हो। तर आन्दोलन नै गर्ने, टायर नै बाल्ने, इँटा नै प्रहार गर्ने खालका शास्त्रीय तरिकामा अभ्यस्त छौं हामी। धेरैले गरेको त्यही र देखेको पनि त्यही। तर आफ्नो फरक मत सिर्जनशील तरिकाले प्रस्तुत गर्ने अभ्यास हुन थालेको छ। रंगकर्मी घिमिरे युवराज र उनको नाट्य समूह कलामार्फत् विरोध प्रदर्शन गरिरहेको छ।
नागरिक माझ आफ्ना कुरा राख्ने र सही कुरा बुझाउने उत्कृष्ट माध्यम कला हो। त्यसलाई प्रयोग गरेर अहिले आफूले निरन्तर सरकारको खबरदारी गरिरहेको युवराज बताउँछन्। नागरिक समाजको प्रतिगमन बिरुद्धको शान्तिपूर्ण आन्दोलनमा छ। यसलाई कसरी कलात्मक बनाउने भन्नेबारे त्यहाँ छलफल भइरहन्छ।
उक्त छलफलमा सहभागी हुने र आन्दोलनमा सक्रिय सहभागीता जनाउने रंगकर्मी युवराज भन्छन्, 'इन्डिपेन्डेन्ट आर्टले सधैं सरकारको खबरदारी गर्ने गरेको छ। यसले निरन्तर शक्तिमा बसेका मान्छेलाई अराजक नहुन खबरदारी गरिरहन्छ र यो निरन्तर प्रक्रिया हो।'
उनी आफू सडकमा छन्। सडकलाई नै रङ्गमञ्च बनाएका छन्। आफू सडकमा पुगेर खबरदारी गर्नुको कारणबारे रंगकर्मी घिमिरे भन्छन्, 'म आफ्नै रुपान्तरणका लागि सडकमा छु। समाजको रुपान्तरणका लागि सडकमा आएको भनेर भन्दिनँ तर यसले समाज रुपान्तरणलाई पनि सहयोग गरिरहेको हुँदोरहेछ।'
उनलाई थाहा छ– यो एलोप्याथिक औषधि जस्तो होइन, प्रयोग गर्नेबित्तिकै प्रभाव छाड्न सुरु गरोस्।
उनलाई लाग्छ– कलात्मक गतिविधि त आयुर्वेदिक उपचार पद्धति हो। यसले समाजमा विस्तारै प्रभाव पार्दै लैजान्छ। असर छाड्ने प्रक्रिया लामो छ र प्रभाव पनि लामै समय रहन्छ।
कलामार्फत् समाज परिवर्तनका कुरा गरिरहँदा नेपालमा बन्ने फिल्म व्यापार र मनोरञ्जनतर्फ मात्रै ढल्किरहेको बताइन्छ। 'फिल्मकर्मीमै समेत राजनीतिबारे चासो छैन,' यस विषयमा उनले भने, 'यहाँ कस्तो फिल्म बनिरहेको छ भन्ने पनि राजनीति हो । किन फरक कथाले स्थान पाएको छैन। पारिश्रमिक पाउन कति राजनीति गर्नुपर्छ भन्ने कुरा यही क्षेत्रका मानिसले भोगेका हुन्छन्।'
नाटकलाई मनोरञ्जन क्षेत्रको रुपमा ब्याख्या गरेको पनि मन पर्दैन घिमिरेलाई। रंगमञ्च समाजको ऐना भएको बताउँदै उनले भने, 'हरेक कला गम्भीर हुन्छन्, कलाले मानिसलाई बिरेचन र उद्वेलित बनाउने काम गर्छ।'
मल्लकालीन र लिच्छविकालीन समयमा नाटक संस्कृति र जीवन पद्धतिसँग जोडिएको इतिहास उत्खनन् गरे उनले। तर राणाकालीन समयमा पुगेपछि यो मनोरञ्जनसँग जोडिन पुगेको बताए। घिमिरे भन्छन्, 'राणाहरुले अन्य देशमा डुलेर रंगमञ्चलाई अँध्यारो कोठमा ल्याए र त्यसलाई मनोरञ्जनका रुपमा प्रयोग गर्न थाले।' तर परिवर्तित समयसँगै रंगमञ्चलाई मनोरञ्जनको क्षेत्रबाट रुपान्तरण गर्न आफूहरु लागिपरेको उनले बताए।
कलाकर्मीले राजनिती, समाज र संस्कृति बुझेका हुँदैनन् भन्ने आम आरोप छ। यसप्रति घिमिरे युवराजले आपत्ति जनाए। भने, 'दर्शक र पाठकलाई विरेचन र उद्वेलित बनाउने स्रष्टा यी कुरा नबुझेर यस क्षेत्रमा लाग्दै लाग्दैनन्।'
त्यसोभए एक कलाकर्मीको नजरमा राजनीति के हो त? घिमिरे भन्छन्, 'जीवनलाई चलाउने प्रणाली हो राजनीति।'
यसलाई उनले थप व्याख्या गर्दै गए, 'परिवारमा राजनीति हुन्छ । मैले खाने चामल, पानी, नुन, तेलमा राजनीति छ। समाजको संरचनामा राजनीति छ।'
सामान्य मानिसको बुझाइमा पार्टी र सदन मात्रै राजनिती भएको बताउँदै उनले तर त्यो बुझाइ गलत रहेको स्पष्ट पारे।
'एउटा सानो बच्चा, जसलाई बोल्न आउँदैन, हिँड्न सक्दैन । ऊ आमाको दूध खान रोएर राजनीति गर्छ । त्यसैले राजनीति हरेक ठाउँमा छ,' उनको बुझाइ छ।
आफूले घरको राजनीति नुबझी घर राम्रो बनाउन नसक्ने बताए। उनको उदाहरण छ, 'त्यो घरमा कमैया प्रथा छ। वा त्यो घरमा घरेलु हिंसा भइरहेको छ भने त्यहाँ विधीको शासन छैन । त्यसैले हाम्रो जोड भनेकै विधिको शासन हो।'
यतिबेला उनी किन सरकारको विरोधमा बोलिरहेका छन्। प्रधानमन्त्री ओलीको विपक्षमा उभिएका छन् त?
उनको उत्तर छ, 'हामीले ओलीको बिरोध यसकारण गरिरहेका छौं। किनभने उनी विधीको शासनमा छैनन् । ओलीले देश बुझेका छैनन्। मजदुरको पिडा बुझेका छैनन्।'
उनले श्रमसँग जोडिएका भूइँमान्छेहरुको उदाहरण प्रस्तुत गरे, 'हामी साउदी कतारको कुरा मात्रै गरिरहेका छौं तर काठमाडौं निर्माण गर्ने मजदुरहरु जाडोमा इँटाको सुरुङ बनाएर पाल टाँगेर बसेका छन्। नागरिक समाजको बिरोध यस्तै कुरामा हो।'
नगरिक समाज भनेको निश्चित व्यक्ति, समूह मात्रै बुझेर अपनत्व नलिइरहेका आमजनलाई उनले सबै नागरिक समाज रहेको सन्देश प्रवाह गरे। भने, 'म, तपाई, हामी सबै नागरिक समाज हौं।'
देश लोकतान्त्रिक प्रणालीमा हुँदा पनि नागरिक समाजको खबरदारी जरुरी हुने बताउँछन्। उनी भन्छन्, ' लोकतान्त्रिक प्रणालीमा पनि शक्ति र सत्ता हात लागेपछि शासकले बाटो बिराउँछ। त्यसैले निरन्तर खबरदारी गर्ने काम नागरिक समाजको हो।'
नागरिक समाज कुनै पनि व्यवस्थामा चुप लागेर बस्न नहुने उनको बुझाइ छ। भन्छन्, 'राम्रो काम गरे सरकारको पक्षमा र नराम्रो काम गरे सरकारको विरोध गर्ने काम निरन्तर चलिरहने प्रक्रिया हो।'
सचेत नागरिकको अनौपचारिक समुह नागरिक समाजले सधैं विचारको बिउ जोगाइराख्ने पनि उनी बताउँछन्। उनले भने, 'नागरिक समाज सानो मात्रामा हुन्छ र यो शान्तिपूर्ण र कलात्मक रहन्छ । तर यसको प्रभाव भने दह्रो हुन्छ।'
आन्दोलनमा युवा सहभागीता प्रशस्त रहेको पनि घिमिरेले बताए । उनले ठट्यौलो पारामा भने, 'इतिहासलाई हेर्ने हो भने केही बाहेक आन्दोलनमा सहभागी अधिकांश अनुहार नयाँ छन्। जो नयाँ आउँछ, ऊ आन्दोलनका लागि युवा हो।'
अहिलेका पुस्तामा भने राजनितीप्रति नैराश्यता उनले स्विकारे । भने, 'देशमा बिधिको शासन छैन । विधिको शासन नहुने बित्तिकै शैक्षिक प्रणाली कमजोर बन्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।