काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि भन्दै खरिद गरेका चिनियाँ जहाज साउन १५ गतेबाट सदाका लागि उडान बन्द गरिसकेको छ। यसरी उडान बन्द भएका ६ वटा जहाजले कुल ९ हजार ८ सय २८ घण्टा उडान गरेको छन्। यो जहाजहरूको उडान क्षमताको १० प्रतिशत पनि नभएको नेपाल एयरलाइन्सका पाइलटहरू बताउँछन्।
निगम सञ्चालक बोर्डको असार १६ गते बसेको बैठकले निगमलाई आर्थिक भार थपिरहेको भन्दै चिनियाँ ६ वटा जहाज (२ वटा एमए–६० र ४ वटा वाई–१२) को उडान नगर्ने जानकारीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो।
सोही निर्णयका आधारमा ६ वटै चिनियाँ जहाजको उडान बन्द भइसकेको छ। उडान बन्द भएका जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयले पनि निगम र पर्यटन मन्त्रालयसँग राय सुझाव मागिसकेको छ।
चिनियाँ जहाज कति घण्टा उडे?
नेपाल वायुसेवा निगमले उपलब्ध गराएको तथ्यांकका आधारमा भन्ने हो भने २०७१ साल वैशाखदेखि नेपाल आएका चिनियाँ जहाजले ६ वर्षको समयमा उडान क्षमताको १० प्रतिशत पनि उडान हुन सकेको छैन। निगमको तथ्यांकअनुसार २ वटा एमए–६० जहाजले उडान बन्द हुँदासम्म जम्मा ६ हजार ७५ घण्टा उडान भरेको छ। यसैगरी ४ वटा वाई–१२ जहाजले भने ३ हजार ७ सय ५३ घण्टा मात्रै उडान भरेको देखिएको छ।
आन्तरिक उडानलाई प्रभावकारी बनाउन भन्दै चिनियाँ जहाज ल्याइएको भएपनि आन्तरिक उडान प्रभावकारी नभएपछि जहाजको उडान बन्द गर्नुपरेको निगमले बताउँदै आएको छ।
सबैभन्दा पहिलो त जहाज उडानमा चिनियाँ जहाज बिक्रेता कम्पनीले स्पेयर पार्टपुर्जा र जहाजमा समस्या आउँदा समयमै सहयोग नगर्नु हो। अर्को कारण चाँहि जहाज उडानका लागि पाइलट अभाव पनि हो। तेस्रो कारण भने जुन गन्तव्यका लागि भनेर जहाज खरिद भएको उक्त गन्तव्यमा जहाज उडान भएपनि यात्रु बोक्न नसक्नु पनि हो। यसका साथै जहाज ल्याउने बेला निगमको व्यवस्थापकीय कमजोरी पनि हो।
यसरी उडान हुन नसकेको चिनियाँ जहाजका कारण ६ वर्षमा निगमलाई साढे २ अर्ब घाटा लागेको निगमकै अध्ययनले देखाएको छ। कुनै पनि दिन चिनियाँ जहाज फूलफेजमा सञ्चालन हुन सकेका थिएनन्।
यतिबेला एउटा वाई–१२ र एउटा एमए–६० जहाज मात्रै उडानयोग्य छन्। अन्य जहाज भने उडानका लागि पनि योग्य छैन।
जहाजको कलसाइनअनुसारको उडान अवधि
एमए–६० (नाइन एन एकेक्यू)– २ हजार ९९६ घण्टा
एमए–६० (नाइन एन एकेआर)– ३ हजार ७९ घण्टा
वाई–१२ (नाइन एन एकेएस)– १ हजार ३४६ घण्टा
वाई–१२ (नाइन एन एकेटी)– ६ सय ४१ घण्टा
वाई–१२ (नाइन एन एकेयू)– ७ सय ३९ घण्टा
वाई–१२ (नाइन एन एकेभी)–१ हजार २७ घण्टा
निगमले अघि सारेका अबका ४ विकल्प
निगमले चिनियाँ जहाज व्यवस्थापनका लागि ४ वटा सुझावसमेत दिइसकेको छ। तर, व्यवस्थापनको निर्णय भने भइसकेको छैन। चिनियाँ जहाजबाट उडान बन्द गरे पनि यी जहाज व्यवस्थापनमा निगमको खर्च भने भइरहेको छ। निगमले जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज पनि भुक्तानीको समय सुरु भएको छ। तर, जहाज सदाका लागि ग्राउन्डेड भइसकेका छन्।
चिनियाँ जहाजको उडान बन्द गरेको निगमले अहिले आन्तरिक उडानका लागि ६ वटा सना तथा ठूला प्रकृतिका जहाज खरिद गर्ने गरी व्यवसायिक योजनासमेत बनाइसकेको छ।
निगमले ६ चिनियाँ जहाज व्यवस्थापनका लागि भने ४ वटा सुझाव दिएको छ। निगमले पहिलो विकल्पका रूपमा जहाज बिक्रेता कम्पनी एभिक इन्टरनेसल होल्डिङ कर्पोरेसनलाई वाई–१२ र एमए–६० जहाजको फेयर मार्केट भ्यालुका आधारमा विमान फिर्ता गरी व्यवस्थापन गर्ने विषय अगाडि बढाएको थियो।
यसैगरी, दोस्रो विकल्पको रुपमा टेन्डर गरी बिक्री गर्न सकिने उल्लेख छ। लिज प्रक्रियाबाट अन्य कम्पनीलाई जहाज दिने सकिने भन्दै तेस्रो विकल्प अघि सारिएको छ। साथै चौथो विकल्पका रूपमा नयाँ जहाज खरिद गर्दा डाउनपेमेन्टको रुपमा प्रयोग गर्न सकिने विषय उल्लेख छ।
किन बन्द भयो चिनियाँ जहाजको उडान?
निगमले चिनियाँ जहाज उडान बन्द गर्नु पर्ने कारण भने १९ वटा कारण अगाडि बढाएको थियो। निगमले वाई–१२ जहाज उडान बन्दु गर्नु तर्फ ५ वटा कारण अगाडि सारेको थियो।
१. प्रशिक्षक पाइलट उपलब्ध नहुनु।
२. प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा ४ गुणाभन्दा बढी हुनुका साथै ए(३२० को भन्दा पनि बढी हुनु।
३. ट्रेनिङ स्लट र क्रूको अभाव हुँदा सधैँ विमान ग्राउन्डेड हुने अवस्था रहनु।
४. विमानको पेलोड पर्फमेन्स एकदमै सीमित हुनु। झन्डै सबैजस्तो सेक्टरहरूमा २५ देखि ६० प्रतिशत पेलोड पर्फमेन्स कम हुनु।
५. प्रतिसिट प्रतिघण्टा ३३ देखि ६७ प्रतिशत बढी इन्धन खपत हुनु।
यसैगरी निगमले एमए–६० जहाजको उडान बन्द गर्नु पर्नुमा भने ६ वटा कारण देखाएको थियो।
१. बारम्बार गरिरहने सिमुलेटर ट्रेनिङ खर्च अन्य विमानका तुलनामा ७८ प्रतिशत बढी हुनु।
२. टाइप रेटिङ प्रशिक्षण अन्य विमानका तुलनामा ५० प्रतिशत बढी हुनु।
३. एमए–६० मा लेभल(सी सिमुलेटर ट्रेनिङ मात्रै उपलब्ध हुनु।
४. काठमाडौंबाहेकका अपरेटिङ सेक्टरमा करिब ३० प्रतिशतसम्मको पेलोड प्रतिबन्ध हुनु।
५. अन्य विमानका तुलनामा इन्धन खपत प्रतिसिट प्रतिघण्टा शतप्रतिशत नै बढी हुनु।
६. प्रत्येक घण्टा एमए–६० आफैंले तोकेको भन्दा ४० प्रतिशत ज्यादा इन्धन खपत हुनु। जसका कारण विमानलाई व्यापारिक रूपले सञ्चालन गर्न असम्भव जस्तै भएको।
यसैगरी निगमले चिनियाँ जहाज उडान बन्द गर्नु पर्ने इन्जिनियरिङतर्फ भने ८ वटा बुँदा अगाडि सारेको थियो।
१. मेन्टेनेन्समा ओइएमको सपोर्टका लागि निगमले आफ्नो क्षमतामा वृद्धि गरेपनि अझै केही विशेष कामका लागि निर्माणकर्ताको आवश्यकता भएको तर जहाज कम्पनीबाट सहयोग हुन नसकेको
२. सहमतिअनुसार निगमले स्पेयर पार्ट्स प्राप्त गरेता पनि तीमध्ये धेरै स्पेयर पार्ट्स चीनमा बनेकाले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नहुनु।
३. सबै रिपेयर स्टेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्यालिडेसन रिक्वारेर्मेन्ट राखेकाले निगमद्वारा चिनियाँ पार्ट्सलाई पूर्ण रूपमा मर्मत गर्नका लागि समस्या हुनु।
४. संरचना मर्मतका लागि अन्य विमानका तुलनामा चिनियाँ विमानको इन्भेटरी रिक्वाइर्मेन्ट भिन्न भएकाले संरचनागत सामान‚ टूल्स‚ हार्डवेरलगायतको मर्मतका लागि अन्यको तुलनामा ज्यादा मूल्य पर्न जान्छ।
५. नियमित मर्मत बाहेक पनि तत्काल आउने समस्यामा निर्माता कम्पनीले सहयोग नगर्दा समस्या समाधानमा कठिनाइ हुनु।
६. भाषिक अवरोधका कारण निर्माता कम्पनीबाट ढिला जवाफ प्राप्त हुनु।
७. विमान मेन्टेनेन्स म्यानुअल र मेन्टेनेन्स प्लानिङ डकुमेन्ट एकीकृत नहुँदा एयरवर्दिनेस व्यवस्थापनमा समस्या
८. टेक्निकल म्यानुअल समयमै प्राप्त नहुनु, निर्माताबाट प्रत्यक्ष सञ्चार मार्फत टेक्निकल म्यानुअल प्राप्त गर्न समस्या हुनु।
६ चिनियाँ जहाजबाट २ अर्ब घाटा
आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गरेका ६ वटा चिनियाँ जहाज (४ वटा वाई–१२ र २ वटा एमए–६०) बाट ६ वर्षमा झन्डै २ अर्ब घाटा व्यहोरेको छ।
आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा निगमले ६ वटा एमए-६० जहाजबाट कुल २ अर्ब ४८ करोड ३९ लाख ४८ हजार २ सय ८ रुपैयाँ घाटा व्यहोरेको हो। निगम स्रोतका अनुसार २ वटा एमए–६० जहाजबाट ६ वर्षमा १ अर्ब ५१ करोड २४ लाख ८४ हजार ८ सय ४६ रुपैयाँ घाटा भएको छ।
यसैगरी, ४ वटा वाई–१२ जहाजबाट भने ९७ करोड १४ लाख ६३ हजार ३ सय ६२ रुपैयाँ घाटा भएको हो।
कहिले आएका थिए चिनियाँ जहाज?
निगमले पहिलो पटक २०७१ बैसाखमा एउटा अनुदानको एमए–६० (५६ सिट क्षमता) जहाज र सोही वर्षको कात्तिकमा अनुदानबापतकै एउटा वाई–१२ (१८ सिट क्षमताको) जहाज चीनबाट ल्याएको थियो। त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए–६० र एउटा वाई–१२ ल्याइएको थियो।
यसैगरी, निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो। तर, जहाज एकदिन पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्। कहिले जहाज बिग्रिएर, त कहिले जनशक्तिको अभावमा निगमले ६ वटा जहाज एकैपटकमा एकै दिन पनि उडान गर्नै सकेन।
लागत कति?
जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो। तर यति धेरै रकम खर्च गरेर ल्याइएको नयाँ ब्रान्डेड जहाज ६ वर्षमै उडान बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।