काठमाडौं– बिहानको ९ बजेको छ। पुसको कठ्यांग्रिने ठिहीकाे पर्वाह नगर्दै झलकबहादुर परियार कंक्रिट मिक्स्चर फिटिङ गर्न तल्लीन थिए। हात चिसाेले कक्रक्क थिए। जिम्मेवारीले कक्रक्क बनाएपछि चिसाेकाे पर्वाह नहुने रहेछ। उदयपुर कटारीका २१ वर्षीय परियार काममा खटिएका छन्।
‘एकदम चिसो बढेको छ। त्यसमाथि बिहान-बिहान चिसिएको फलामले हात एकदम ठिहिर्याउँछ,’ नजिकै फालिएको पन्जा टिपेर हात घुसाउँदै उनले सुनाए।
उनीसँगै मिक्स्चर फिटिङ गर्ने अर्का युवा थिए। उनले पनि नजिकै फालिएको पन्जा टिपेर हातमा लगाए र काम गर्न थाले। तर हेल्पर कामका लागि आएका अर्का एक साना बालकले त्यो फालेको पन्जा पनि पाएका थिएनन्। उनी यत्तिकै काम सघाउँदै थिए।
घर ढलान गर्ने बेलामा उनीहरु यसैगरी कंक्रिड मिक्स्चर फिटिङ गर्छन्। मिक्स्चर चलाउँछन् । र, ढलानको काम सकिएपछि त्यो मिक्स्चर फेरि खुस्काउँछन्। र, जहाँ काम हुन्छ त्यहाँ पुर्याउँछन्।
हेर्दा सजिलोजस्तो देखिए पनि काम गाह्रो छ। मेसिन जोड्ने बेला र खुस्काउँदा निकै खतरनाक हुन्छ। नट कस्दै-कस्दै भर्याङ बनाउनुपर्छ। त्यही फलामको भर्याङबाट अग्लो-अग्लो घरको छतमा पुग्नुपर्छ ।
‘जति तल्लाको घर बनायो त्यति माथि चढ्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने गइयो,’ नट कस्दै उनले सुनाए।
‘केही गरि काम गर्दागर्दै खसेर केही भइहाले त्यसको सबै जिम्मेवारी आफैँ लिनुपर्छ । मरे त ठीकै थियो, लडेर अपांग भएर बाँच्नुपर्याे भने पो पीडा हुन्छ, त्यसमाथि घर परिवार कसरी चल्ला,’ सम्झिएरै झलकबहादुर झसंग हुन्छन् ।
झलकबहादुर ५ वर्षदेखि उही मिक्स्चर जोड्ने चलाउने र खोल्ने काम गरेर गुजारा गरिरहेका छन् । यो काम गरेबापत उनले दैनिक १२ सय कमाइ गर्छन् । आफूमात्र होइन श्रीमती, छोरी पाल्नुपर्छ । गाउँमा भाइबहिनी साना–साना छन् । आमा मुटु रोगी छन्। आम्दानीको स्रोत केही छैन। कहिलेकाहीँ आमाबुबालाई पैसा पठाउँछन् त्यसमथि बेलाबेलामा उपचारका लागि आमालाई काठमाडौं ल्याउनुपर्छ । तर सधैं काम भइदिए त हुन्थ्यो नि। कामको आशमा दिनभर भौतारिनुपर्छ। नियमित पाइँदैन।
‘दुई दिन काम भयो भने हप्ता दिन खालीहात बस्नुपर्छ,’ उनी भन्छन्, ‘दिनको १२ सय कमाइ हुने सुनेर यो काम थालेको । कमाइ त हुने तर धेरै दिन खाली हात बस्नु परेपछि के गर्नु ?’ सामान्य अवस्था हुँदा त काम गरेर खान लाउन ठीकै पुगेको थियो। तर कोरोना महामारीले उनलाई निकै अप्ठ्यारो बनायो। कोरोनापछि काम पनि घट्यो। लकडाउनका बेलामा त खानलाई ऋण नै काड्नुपर्याे। गाउँबाट ऋण मगाएर उनले त्यो बेला सास अल्झाए।
‘सरकारले न खान दियो, न घर जान। यहाँ काम पनि थिएन । त्यसमाथि आमा बिरामी भएर आउनु भएको थियो । लकडाउनमा गाउँबाट ऋण ल्याएर यता बाँचियो,’ उनले भने ।
त्यो बेला खान र आमाको उपचार गर्न ७० हजारभन्दा बढी ऋण लागेको छ। घरबेटीलाई ४ महिनादेखिको भाडा तिर्न सकेका छैनन्। गाउँको ऋण विस्तारै काम गरेर तिर्ने झलकबहादुरको सोच छ । तर पैसा बचाउन सक्ने अवस्था छैन। त्यो ऋण कहिलेसम्म तिर्ने भन्ने चिन्ता छ।
‘साथीहरु विदेश विदेश भन्दै गए। आफू ३०, ४० हजार कमाउन के विदेश जानु आफ्नै देशमा काम गर्छु भन्दै बसेँ। अहिले मुस्किलले २५ हजार कमाइ हुन्छ। त्यो पनि बचाउनै सकिँदैन,’ उनले सुनाए।
१२ वर्षको उमेरदेखि मजदूरी सुरु गरेका उनले सुरुमा खासा–काठमाडौं रुटमा सहचालकको काम गर्थे । त्यसपछि त्यही रुटमा गाडी चलाउन थाले । गाडी चलाउन थालेको २ वर्ष भएको थियो । उनले पैसा तिरेर नक्कली लाइसेन्स बनाएका थिए । त्यहाँ पनि साहुको गाडी चलाउँदा मासिक १५ हजार मात्र कमाइ हुन्थ्यो । पछि चेकिङमा ट्राफिकले लाइसेन्स जफत गर्याे। त्यसपछि उनले त्यो काम छाडे।
त्यसपछि दिनको १२ सय कमाइ हुने सुनेपछि कंक्रिट मिक्स्चर चलाउने काम सुरु गरेका उनले सुख दुःख काम गरिरहेका छन् । जोखिम मोलेर काम गर्दा पनि खान लगाउन पुर्याउनै मुस्किल पर्छ ।
‘आफ्नै देशमा काम गर्न मनलाग्छ । तर दुःख गरेर पनि बाँच्नै मुस्किल हुने सम्झिँदा दिक्क लाग्छ,’ उनले गुनासो गरे, ‘न केही सुरक्षा व्यवस्था छ ।’
‘पन्जा त फालेको कता पाइन्छ भनेर खोजेर टिप्नुपर्छ,’ उनका साथीले हाँस्दै थपे ।
एकातिर कार्यस्थल सुरक्षा व्यवस्था छैन । अर्कोतिर काम गर्दागर्दै चोटपटक लाग्यो भने रोजगारदाताले उपचार गरिदिने ग्यारेन्टी छैन। सामान्य चोटपटक लाग्दा त कतिपटक झलकबहादुर आफैँले पनि उपचार गराएका छन् । ठूलै चोटपटक लाग्यो भने उपचार गर्न अर्को ऋण खोज्नुपर्ने अबस्था आउँछ ।
‘एकपटक मेरो हातको औँला काम गर्दागर्दै जस्ताले काटेको थियो । तुरुन्त अस्पताल गएर उपचार गराएँ । औँला जोडियो पनि । त्यतिबेला उपचार गर्दा ६ हजार रुपैयाँ लागेको थियो। त्यो कम्पनीले तिर्याे कि मेरो हिसाबबाट कटाइयो मलाई थाहा भएन,’ उनले भने।
रकम आवश्यक पर्दा लिइरहने र वर्ष पुगेपछि सबै हिसाब गर्ने गरेकाले उनले त्यो उपचार खर्चको रकम आफ्नो खाताबाट काटियो अथवा कम्पनीले तिरिदियो भन्ने कुरा नै बुझेनन्। त्यसबारे रोजगारदातासँग पनि सोधेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।