काठमाडौं-नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै सबैभन्दा धेरै प्राथमिक शेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार बैंकलाई ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो। बोर्डकाे अनुमतिसँगै केही दिनमै बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्ने छ। बैंकले ८ करोड कित्ता शेयर निष्काशन गर्ने छ।
दुई वर्षअघि पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशनसँगै बैंकको सर्वसाधारण शेयर पुँजी ४० प्रतिशत र संस्थापक शेयर पुँजी ६० प्रतिशत कायम हुनेछ। संस्थापक शेयरधनीमा नेपाल सरकारलगायत व्यवसायी रहेका छन्। बैंकको शेयर दोस्रो बजारमा सूचीकृत भएसँगै सबैभन्दा धेरै शेयर सप्लाइ भएको कम्पनीको रुपमा रहनेछ।
प्राथमिक शेयरमा आवेदन दिने संख्याको अनुपातलाई हेर्दा यस बैंकमा आवेदन दिने सबैले शेयर पाउने देखिन्छ। यस अगाडि प्राथमिक शेयर निष्काशन गरेको प्रभु लाइफको आइपिओमा साढे १० लाखले आवेदन दिएका थिए। १० कित्ताकै दरले बाँडफाँड हुँदा पनि यस बैंकको शेयर अधिकतम ८० लाख जनाले प्राप्त गर्न सक्ने छन्।
८ करोड लाख कित्तामध्ये केही बैंकका कर्मचारीका लागि र केही म्युचुअल फण्डका लागि सुरक्षित गरिन्छ। सुरक्षित गरिएको शेयर उनीहरुलाई बाँडफाँड गरेर बाँकी रहेको शेयर सर्वसाधारणका लागि बिक्री गरिन्छ।
पहिलो वार्षिक साधारणसभाबाटै प्राथमिक सेयर निष्काशनको प्रस्ताव पारित गरेको बैंकले एक आर्थिक वर्षको पूर्ण लेखापरीक्षण प्रतिवेदन तयार पार्नुपर्ने नियमका कारण ढिलाइ भएको हो।
बैंकले ठूला-ठूला दीर्घकालीन पूर्वाधारका क्षेत्रमा लगानी गर्न पाउछ। तर अन्य बैंकले जसरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउँदैन। अन्य बैंकहरुले दीर्घकालीन पूर्वाधारका क्षेत्रमा लगानी गर्दा बजारमा तरलता अभाव हुने र यस्तो बैंकमार्फत् लगानी गर्दा उपयुक्त हुने अवधारणका साथ यस बैंकलाई सञ्चालन अनुमति दिइएको थियो।
यस बैंकले ऋणपत्र निष्काशन गर्ने तथा अन्य संस्थागत निक्षेप संकलन गर्न पाउँछ। बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।