काठमाडौं- माइतीघरले विरोध र असन्तुष्टिको आवाज धेरै सुन्यो। स्वार्थको आँधी कति हेर्यो। दुःखको साक्षी धेरैपटक बस्यो। कति आवाज त्यहीबाट सत्ताको स्वर बन्यो। कति आवाज त्यहीँ सत्ताको तारो बन्यो। ती आवाज त्यहीँबाट विलीन भए।
उसैगरी शुक्रबार एकैसमय माइतीघरमा भिन्न तीन आवाज सुनियो। दबाइएको आवाज। दबाउन नपाइएको आवेगको आवाज। पीडाको आवाज। त्यसमा चर्कनुपर्ने आवाज कुन थियो कसले छुट्याउने? झट्टै पूरा हुनुपर्ने आवाज कसले चिन्ने?
संसद विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता माइतीघरमा धर्नामा बसे। तीन पूर्वप्रधानमन्त्री र अरु दर्जन बढी पूर्वमन्त्री सत्ता स्वार्थको घृणित खेलबाट सडकमा पुगेका थिए। संविधान, नियम र पार्टी राजनीतिको घुमाउरो भाषामा जे-जे भनिए पनि उनीहरुको आन्दोलन सत्तामा भएर पनि सत्ताबाहिर हुनुपरेको आक्रोश न हो।
उखु किसानले उखु बेचेको भुक्तानी दिलाइदिन माग गर्दै माइतीघरमा आन्दोलन गरेको १४ दिन भइसक्यो। शुक्रबार पनि उनीहरु त्यहीँ थिए। उसैगरी सरकार गुहारिरहेका थिए। सरकारले गएको वर्ष नै उखु बेचेको बक्यौता रकम दिलाउने सहमति गरेको हो। तर वर्ष दिन बित्दा पनि सरकारको सहमति कार्यान्वयन भएन।
त्यहीँ थिए अयोग्य भनिएका माओवादी सेनाका पूर्वयोद्धाहरु। उनीहरुले अझै अयोग्य भनेर लखेटिएको किन हो भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्। जसले देखाएको सपनामा रहरले होस् या जसको आदेशले डरमा, धम्कीमा करकापमा उनीहरु बन्दुक बोक्न तयार भएका थिए, उनै सत्ता घुमेर सडकमा आइपुगेका थिए। जुन सडकमा उनीहरु निरन्तर छन्।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका नेताहरु ‘हामी यहाँ छौँ’ लेखिएका प्लेकार्ड बोकेर धर्नामा थिए। तर सर्वहाराको मुक्तिका लागि सत्तामा बढेका कमरेडहरुले त्यही भएका किसान देखेनन्। आफ्नै ‘सत्ता प्राप्तिका लागि मुक्तिको युद्ध’ लडेका योद्धा देखेनन्। अयोग्य भनिएका जनमुक्ति सेनाको जीवन यापनको निश्चितता हुनुपर्ने मागसहितको धर्नालाई शीर्ष नेताको विरोध सभाले चिनेन।
नेकपा समूहको धर्ना अगाडि उखु किसान उस्तै नदेखिने गरी हराए। जब नेताहरुको विरोध कार्यक्रम भद्रकाली हुँदै जमलतिर अघि बढ्यो, त्यसपछि किसानहरु एकत्रित भएर धर्नामा बसे। नेता पछ्याइरहेकाहरु नेतासँगै बढे। बाँकी बसे किसानहरु। जसलाई केही दिनअघि सत्ताले विचौलिया देखिरहेको थियो।
आफूले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने मागसहित उखु किसानले गत मंसिर २७ गतेदेखि आन्दोलनमा छन्। उनीहरुले चिनी उद्योगीसँग मिलेको सरकारले यसपटक पनि धोका दिएको बुझिसकेका छन। गत वर्ष पुस १८ गते भएको सम्झौता कार्यान्वयन नभएको पीडा उनीहरुसँग छ। अहिले पनि आश्वासन मात्रै बोकेर घर फर्कन उनीहरु तयार छैनन्।
नेता-कार्यकर्ताको हल्लाले रुमल्लिएको माइतीघरमा किसानको आवाज अझ मलीन बन्यो। नेतासँगै कार्यकर्ता लाखापाखा भएपछि किसानले नारा लगाए। उखुको रकम भुक्तानी नगर्ने मिल मालिकलाई कारबाहीको माग गरे। उनीहरु बोल्दा बोल्दै सुस्ताइरहेका थिए।
उनीहरुमध्ये धेरैलाई मुलुकको वर्तमान राजनीतिक अवस्थाको हलचल बारे जानकारी छैन। जानकारी लिनु पनि छैन। उखु मालिकले लुटेको पसिनाको मूल्य फिर्ता दिए उनीहरु अहिल्यै घर फर्कन चाहन्छन। राजधानीको राजनीतिमा उनीहरुलाई मिसिनु छैन। तर आफ्नै समूहलाई विश्वासमा लिन नसकेको सरकारले उखु किसानलाई आश्वस्त पार्न सकेको छैन।
उखु किसान संघर्ष समितिका सदस्यसमेत रहेका माया शंकर प्रसाद यादव आन्दोलनमा प्रतिबद्धता जनाउन यसअघि ठूला भनिएका नेता आए पनि भुक्तानी दिलाउने विषयमा कसैले पहल नगरेको बताउँछन्। ‘यसअघि सबै ठूला नेताले आन्दोलनबारे चासो देखाए। तर एउटा उद्योगपतिले सरकार मात्र होइन सबै नेतालाई पनि चुप लगाउन सक्ने रहेछन्’ उनले भने।
उद्योगमन्त्री आफैले पनि उखु किसानलाई गएर भेटेका थिए। प्रतिपक्षमा रहेका नेता पनि पुगेकै हुन्। किसानको अनुहारअघि उभिएर राजनीति गर्नेबाहेक उनीहरुको अर्को कर्म देखिएन। गृहमन्त्रीलगायत तीन मन्त्रीले उखु किसानको पक्षमा बोल्दै गर्दा चिनी उद्योगीलाई कारबाही गर्न नसक्नु राजनीति नै त होला। ‘उखुको बक्यौता नतिर्ने व्यापारीलाई कारबाही गर्ने प्रतिबद्धता’ जनाएका उद्योगमन्त्री लेखराज भट्ट र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अहिले पनि सरकारमै छन्।
माइतीघर आन्दोलनमा रहेका ७० वर्षका गगनदेव राय यादवले कृषि विकास बैंकबाट ऋण लिएको १० लाख १६ हजार रुपैयाँ तिर्न बाँकी नै छ। यहि बेला बैंकले उनको सम्पत्ति लिलामका लागि सचना निकाल्यो। जमिन धितो राखेर ऋण लिएका यादव अब त्यहि जमिन पनि गुमे कसरी गुजारा गर्ने भन्ने पीडामा छन्।
‘गाउँमा सयकडा ४ का दरले लिएको अरु पनि ऋण छ। घर बनाउँला, पोता-पोती विद्यालय पढाउँला भनेर लिएको ऋणको ब्याज नै लाख कटिसक्यो’, नेताहरु गएपछि गगनदेव बोले, ‘जग्गा जमिनका कागजात केही बैंकसँग छ। केहि मिल मालिकसँग छ। तीनतिरबाट ढल छोडिएको सानो घर मात्रै मसँग छ।’
गगनदेवले चिनी उद्योगलाई उखु बेचेको चार लाख रुपैयाँ पाउन बाँकी छ। घरमा दुई छोरा बेरोजगार छन्। आठ नातिनातिनाको पढाइ खर्चको जोहो कसरी गर्ने भन्ने पीर छ। यो पीर प्रचण्ड-माधव समूहको पीरमा कहाँनेर पर्छ, उनको या आफ्नो कसको पीर ठूलो हो गगनदेवलाई थाहा छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले कूर्चिमा पालो नदिएपछि सडकमा आएका प्रचण्ड-माधवलाई गगनदेवले ऋण तिर्न सक्छन् कि सक्दैनन् के मतलब। उनका नाति नातिना विद्यालय जाउन् कि घरै बसिरहुन् किन सोच्नु। उनका छोरा बेरोजगार हुन् कि काममा हुन् भन्ने सोचेर प्रधानमन्त्रीको कूर्सि कसरी मिल्नु! उनको घरमा ढल पस्यो कि नल भन्ने सोचेर त राजनीति कसरी चल्नु!
चिनी उद्योगबाट रकम नपाएका हजारौँ किसानमध्ये दुई सय जना जति किसान काठमाडौं आएका थिए। अहिले आधा जति घर फर्किसके। पैसा पाएर होइन। कोही बिरामी परेर त कोहि आफूसँग भएको पैसा सकिएपछि यहाँ टिक्न सकेनन्।
अहिले धर्ना बसेका किसानलाई दिउँसो खाजा माइतीघर मण्डल वरपरका रेस्टुरेन्टहरुले खुवाउन थालेका छन्। बिहान बेलुकाको खाना र बासको व्यवस्था ‘हाम्रो टिम नेपाल’ नामको सामाजिक अभियानले गरिरहेको छ।
जसको आशमा, जसलाई गुहार्न किसान राजधानी आएका थिए, तीमध्ये केही अहिले उनीहरु नजिकै सडकमा देखिएका छन्। आफ्नो आवाज दबिने गरी नजिकै सुनिएको सडकको त्यो नौलो आवाजले आफूलाई कति मद्दत गर्छ किसानलाई थाहा छैन। किसानमा डर नै छ, उनीहरुले नपाई हामीले नपाउने पो हौँ कि!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।