काठमाडौं- बुक क्लोज अगाडि नै शेयर बिक्री गरेर बाहिरिन खोज्दा दोस्रो बजारमा गिरावट आएको छ। अधिकांश वाणिज्य बैंकले पुस अन्तिम साता साधारणसभा आह्वान गरेका छन्। नेपाल राष्ट्र बैंकले यस वर्ष नगद लाभांशलाई कडाइ गरेसँगै सबैले बोनस शेयर दिएका छन्।
बैंकले लाभांश दिने सूचना पछि आकासिएका कम्पनीबाट अहिलेको अवस्थामा शेयरधनीले प्रयाप्त पुँजीगत लाभ लिन पाउछन्। कम्पनीले घोषणा गरेको लाभांश कुर्नुभन्दा अहिले बिक्री गरेर बुक क्लोजपछि समायोजन भएको सस्तो मूल्यमा शेयर किन्ने लगानीकर्ताको रणनीतिले गर्दा केहिदिनदेखि बैंकहरुको शेयर मूल्यमा गिरावट आइरहेको छ।
बैंकहरुले गत वर्षको मुनाफा तथा जगेडा कोषबाट २९ अर्बभन्दा धेरैको बोनस शेयर दिँदैछन्। बैंकहरुले साधारणसभाबाट उक्त बोनस शेयर पारित गरेर दोस्रो बजारमा सूचिकृत हुँदा दोस्रो बजारमा सप्लाइ बढ्नेछ। सप्लाइ बढेसँगै कम्पनीको शेयर मूल्य धेरै जान नसक्ने आकलन गर्दै बाठा लगानीकर्ताले शेयर बिक्री गरिरहेका छन्।
बिहीबार सबैभन्दा धेरै बोनस शेयर घोषणा गरेको नबिल बैंकको समेत ६४ रुपैयाँले घटेको छ। गएका दुई तीन दिन बैंकको शेयर मूल्यमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको थियो। अधिकतम बढिसकेकाले लगानीकर्ताले नाफा बुक गर्न थालेका हुन्। अर्को तर्फ बुक क्लोजपछि समायोजन हुँदा शेयर मूल्य घट्ने भएकाले अहिले बिक्री गर्ने र सस्तो भए पछि उठाउने रणनीतिका कारण बिहीबार शेयर सप्लाइ बढेको देखिन्छ। आगामी साता १० वटाभन्दा धेरै बैंकको बुक क्लोज हुँदैछ।
बुक क्लोजको असरले गर्दा वाणिज्य बैंकको सूचक १७ अंकले घटेको छ। साताको अन्तिम कारोबार भने सुस्तता आएको छ। नेप्से सूचक २९ दशमलब ८३ अंकले गिरावट आएको छ। नेप्से सूचक घट्ने क्रममा २०३८ दशमलव ६३ अंकमा रोकिएको हो।
कारोबार रकम पनि ५ अर्ब ३६ करोड रुपैयाँमा सिमित भएको छ। ९/१० अर्बको कारोबार हुने बजारमा केहिदिनदेखि ४/५ अर्बमा सीमित हुन थालेको छ। सबैभन्दा धेरै नविल बैंकको ५९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै नेपाल लाइफको ५६ करोड ८३ करोड रुपैयाँको कारोबार भएको छ। व्यापार र होटलको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ।
कुन बैंकको बुक क्लोज कहिले २०४ वटा कम्पनीको कारोबार हुँदा १४५ वटाको घटेको छ भने २४ वटाको शेयर मूल्यमा सुधार आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।