काठमाडौं–जरिवानाबाट बँच्न १६ वाणिज्य बैंकले पुस अन्तिम साता वार्षिक साधारणसभा डाकेका छन्। कम्पनी ऐन तथा राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५९ अनुसार बैंकहरुले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ भने ९ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने हुन्छ।
राष्ट्र बैंकको नियम कम्पनी ऐन अनुसार नै भएकाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा सम्पन्न गर्नु पर्ने हुन्छ। ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न नगरे राष्ट्र बैंकले दिने विभिन्न सुविधाबाट बञ्चित हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।
६ महिनाभित्र साधारणसभा गर्न नसके थप तीन महिनाका लागि कम्पनी रजिस्ट्रारबाट अनुमति लिनु पर्ने हुन्छ। यदि साे अवधिमा पनि साधारणसभा नगरे शेयरधनी अदालतसमक्ष पुग्न सक्छन्। यस्तो अवस्थामा अदालतले साधारणसभा बोलाउने आदेश जारी गर्न सक्ने व्यवस्था छ। अदालतको आदेशपछि बस्ने साधारणसभामा उपस्थित भएका शेयरधनीलाई नै गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ।
यदि ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्न नसके नेपाल स्टक एक्सचेन्जले पनि ‘क’ वर्गका कम्पनीको सूचीबाट हटाउन सक्ने छ। त्यसैले गर्दा अधिकांश बैकहरुले पुस अन्तिम सातामा वार्षिक साधारणसभा डाकेका छन्।
पुस अन्तिम दिनमा मात्रै ८ वटा वाणिज्य बैंकले साधारणसभा डाकेका छन्। गएका वर्षमा अधिकांश बैकहरुले दसैंअगाडि र दसैंलगत्तै वार्षिक साधारणसभा बोलाउने गरेका थिए। तर यस वर्ष कोभिडका कारण अधिकांश बैंकहरुले पुस अन्तिम साता साधारणसभा बोलाएका छन्। गएको वर्ष दसैंअगाडि नै साधारणसभा सक्ने बैंकहरुले समेत यस वर्ष पुस अन्तिम सातामा बोलाएका छन्।
वाणिज्य बैंकहरुले एकै पटक लाभांश घोषणा गर्दा केही समयदेखि दोस्रो बजारमा उछाल आइरहेको छ। पुस अन्तिम साताका लागि बोलाइएको साधारणसभाको बुक क्लोज पुस १० देखि १७ गतेसम्म तोकिएको छ। बुक क्लोजसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्यमा समायोजन हुने भएकाले दोस्रो बजारमा केही समय करेक्सन हुने देखिन्छ। यदि बजार अझै बढ्ने भन्ने माहोल बन्यो भने बुक क्लोजपछि सस्तिएको शेयर किन्नेको लाइन लाग्ने छ।
अझै पनि १२–१३ वटा बाणिज्य बैंकहरुको शेयर किन्दा घोषणा गरिएको लाभांश पाउन सक्ने अवस्था रहेको छ। धेरै जसोले साधारणसभाको मिति तय गरिसकेका भए पनि नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकले अहिलेसम्म मिति तय गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।