काठमाडौं–बैंकहरुको आधार व्याजदर चार वर्ष यताकै कम देखिएको छ। चार वर्ष अगाडि अधिक तरलता हुँदाको अवस्थामा बैंकहरुको व्याजदर झर्न थालेको हो। एक वर्षकै अवधिमा वाणिज्य बैंकहरुले आधार व्याजदर १.८७ प्रतिशतले घटाएका छन्।
गत असार–साउनमा बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा र त्यसको ‘सरप्लस’ अहिलेसम्म कायम रहदा बैंकहरुमा तरलता पर्याप्त रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए। बजारमा पर्याप्त तरलता रहेकाले अबको केही समय निक्षेप र कर्जाको व्याजदर बढ्ने सम्भावना नरहेको उनले बताए।
कोभिड–१९ का कारण बैंकहरुको निक्षेप धेरै घट्ने अनुमान गरिएको थियो। तर वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स बढ्दा निक्षेप बढिरह्यो। केही समय कर्जा विस्तार रोकिँदा अहिलेको मागलाई धानिरहेको बैंकरहरु बताउछन्। यस्तै अवस्था रहिरहने हो भने कम्तिमा पनि कर्जाको व्याजदर एक वर्षसम्म बढ्न नसक्ने उनीहरुको भनाइ छ। यसले गर्दा बैंकहरुले मुद्दती निक्षेपको व्याजदर पनि घटाइरहेका हुन्।
पछिल्लो समय कर्जाको माग र निक्षेप संकलनको अनुमान बराबरजस्तै भएकाले बैंकहरुमा निक्षेपको सरप्लस बढिरहेको दाहालले बताए। उनका अनुसार दसैं–तिहार यता बजारमा राम्रो कर्जा गइरहेको छ, जसमा खुद्रा तथा ठूला दुवै प्रकृतिका कर्जा छन्। केही समयदेखि शेयर बजारमा पनि राम्रो कर्जा गइरहेको छ। बैंकहरुले पैसा थुपारेर राख्नुभन्दा माग्न आउने जति सबैलाई प्रवाह गरिरहेका छन्।
गएको वर्षको दसैं–तिहारदेखि नै बैंकहरुमा नयाँ कर्जा आउन कम भइरहेको थियो। सिमेन्ट तथा रडको माग कम हुन थालिसकेको थियो। सिजनमै घर निर्माणका लागि प्रयोग हुने निर्माण सामग्रीको बिक्री कम भइसकेको थियो। निर्माण सुस्त हुँदा खुद्रा कर्जाबाहेक ठूला कर्जाका लागि माग आउन नसक्दा बैंकमा तरलता थुप्रिरहेको थियो। यससँगै बैंकहरुले विस्तारै साधारण निक्षेपको व्याजदरसमेत घटाउन सुरु गरिसकेका थिए। डेढ वर्ष अगाडि बैंकहरुबीच निक्षेप तानातानको अवस्था थियो। जसले गर्दा व्याजदर आकासियो। परिणाम आधार व्याजदर नै १०.४७ प्रतशितसम्म पुग्यो।
एनआईसी एशियालगायतका केही बैंकहरुले मासिक मुद्दती निक्षेपको योजनासमेत ल्याउन भ्याए। मुद्दती निक्षेप नै १२/१३ प्रतिशत दिन थालेपछि बैंकहरु बीचमै चर्को आलोचना हुन थाल्यो। यसले गर्दा बैंकहरुबीच मुद्दती निक्षेपको अधिकतम व्याजदर ९.२५ प्रतिशतमात्रै दिने गरि भद्र सहमति गरियो। सँगै सहमति तोड्ने काम भयो। यो क्रम करिब तीन वर्षसम्म चल्यो। तर एक वर्षदेखि भने बैंकहरुले व्याजदर लगातार घटाइरहेका छन्।
पुस महिनाको व्याजदर सार्वजनिक गर्ने क्रममा नविल बैंकले समेत ७.५० प्रतिशतमा झारेको छ। जबकि नविल बैंकले दुई महिना अगाडि निक्षेप आकर्षित गर्न ९.२५ प्रतिशत व्याजदरको स्किम सार्वजनिक गरेको थियो। नेपाल इन्भेष्टमेन्ट बैंकले समेत पुस महिनाको निक्षेप तथा कर्जाको व्याजदर सार्वजनिक गर्ने क्रममा मुद्दती निक्षेपको व्याजदर ७.२५ प्रतिशतमा झारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।