काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी) ले विभागीय क्लब त्रिभुवन आर्मीलाई एएफसी क्लब लाइसेन्स दिने भएको छ। यसअघि नेपालका क्लबहरुले लाइसेन्सका लागि न्युनतम मापदण्ड पूरा नगरेको भन्दै ए डिभिजनका सबै क्लबलाई लाइसेन्स नदिने जनाएको थियो।
गएको मंसिर १६ गते एएफसीले नेपाली क्लबहरुले क्लब लाइसेन्सको लागि न्युनतम मापदन्ड पूरा नगरेको भन्दै सबै क्लबलाई अयोग्य ठहर गरेको हो। योसँगै नेपाली क्लबले एएफसीको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएको थियो। आर्मीले कागजी प्रक्रिया र क्लबको विधान सुधार गर्दै लाइसेन्सका लागि पुनः आग्रह गरेको थियो। योसँगै अब लिग उपविजेता आर्मीले एएफसी कप खेल्ने बाटो खुलेको छ।
सन् २०२० मा भएको सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा परेको सरस्वती युथ क्लबले बाहेक १३ क्लबले एएफसी क्लब लाइसेन्सको लागि निवेदन दिएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेनिङ समितिले लाइसेन्स दिनका लागि एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआइबी) मा निवेदन दिएको थियो। तर क्लब लाइसेनिङको लागि नेपाली क्लबले न्युनतम मापदन्ड पूरा नगरेको भन्दै क्लब लाइसेन्स दिन एएफसीले अस्वीकार गरेको थियो। क्लब लाइसेन्स दिनका लागि अस्वीकार गरे पनि एएफसीले त्रिभुवन आर्मी क्लबप्रति भने सकारात्मक प्रतिक्रिया त्यसबेलै दिएको थियो।
नयाँ नियमअनुसार एएफसीको प्रतियोगिता खेल्न क्लबले विभिन्न १८ मापदन्ड पूरा गर्नु पर्छ। क्लब लाइसेन्स लिनका लागि क्लबले अनिवार्य रुपमा क्लब आफ्नै एकेडेमी, मैदान, उमेर समूहका टिम, खेलाडीसँगको सम्झौता, प्रशिक्षण सुविधा लगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ।
सन् २०१६ देखि नै एएफसीले क्लब लाइसेन्सका लागि काम सुरु गरेको हो। जसमा २०१८ देखि भने एएफसी प्रतियोगिताका लागि यसलाई अनिवार्य बनाएको थियो। नेपाली क्लबका लागि पनि पछिल्ला वर्ष क्लब लाइसेन्सको प्रक्रिया पूरा गर्न नसक्ने समस्या नियमित बनिरहेको छ।
गएको वर्ष एन्फाले विभिन्न ९ क्लबलाई एएफसी लाइसेन्सका लागि योग्य ठहर गर्दै एएफसीमा पठाएको थियो। तर एएफसीले सबै क्लब लाइसेन्सका लागि अयोग्य रहेको ठहर गर्दै एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।