काठमाडौं- वैदेशिक रोजगारीमा गएका नेपालीले विद्युतीय माध्यमबाट रेमिट्यान्स पठाउँदा रेमिट्यान्स रकममा वृद्धि भएको छ। कोभिडका कारण वैदेशिक व्यापार तथा सामान आयात निर्यात कम भइरहेको छ। यसले गर्दा हुण्डीलगायतका अवैधानिक कारोबार कम हुँदा रेमिट्यान्समा सुधार भएको आइएमईका कार्यकारी प्रमुख सुमल पोखरेलले बताए।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। चार महिनाको अवधिमा वैदेशिक रोगजारीमा गएका तथा विदेशमा रहेका नेपालीले तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँको रेमिट्यान्स पठाएका हुन्।
कोभिड-१९ का कारण रेमिट्यान्स आप्रवाह जति मात्रामा घट्छ भन्ने अनुमान गरिएको थियो त्यस्तो नदेखिएको पोखरेलले बताए। कोभिडको प्रभाव विश्वव्यापी रुपमा फैलिँदै गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीले काम नपाउने तथा उनिहरुको आम्दानी घट्ने आँकलन गरिएको थियो। विभिन्न देशले कोभिड नियन्त्रणका लकडाउन तथा निषेधाज्ञा जारी गरेका थिए। नेपालले पनि कोभिड नियन्त्रणका लागि ५/६ महिना लकडाउन गरेको थियो।
अघिल्लो वर्षको सही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो। जबकी यस वर्ष कोभिडको विश्वव्यापी प्रभाव रहँदा पनि ११.२ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो।
समिक्षा अवधिमा वैदेशिक रोजागरीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो। समिक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई तीन खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।