काठमाडौं-विभिन्न चिनी उद्योगले लामो समयदेखि करोडौं रुपैयाँ बक्यौता नतिरेपछि आजबाट उखु किसान पुन: आन्दाेलनमा उत्रिएका छन्। उनीहरुले माइतीघरमा धर्ना थालेका हुन्।
जिल्ला र केन्द्रमै पुगेर किसानले आन्दोलन थालेको करिब तीन वर्ष हुन लाग्यो। उनीहरुका माग सम्बोधन गर्न गत वर्ष पुस १८ गते सरकारको रोहबरमा चिनी उद्योगी र किसानबीच ५ बुँदे सहमति भएको थियो। तर उद्योगी र सरकारसमेतले उक्त सम्झौता कार्यान्वयनमा उदासिनता देखाएपछि यसपटक फेरि किसान आन्दोलित भएका हुन्।
गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको रोहबरमा उखु किसान र उद्योगीबीच २०७६ माघको पहिलो हप्ताभित्र सबै रकम तिरिसक्नेलगायत ५ बुँदे सम्झौता भएका थिए। तर किसानको रकम भुक्तानी गर्न चिनी उद्योगीले मागेको समयसीमा गुज्रेको एक वर्ष बितिसक्दा पनि सरकारले कुनै पहल गरेको देखिँदैन।

सम्झौतापछिको १ वर्ष अवधिमा केही उद्योगहरुले किसानलाई भुक्तानी दिए पनि केही उद्योगी सम्पर्कमा नआएको र केहीले आंशिक रुपमा निकै कम रकम मात्र भुक्तानी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
कुन चिनी मिलले किसानलाई कति तिर्न बाँकी?
गत वर्षको सम्झौता अवधिसम्ममा सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई २१ करोड ४० लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा ११ करोड ६० लाख रुपैयाँ तिरेको छ भने बाँकी रकम तिरेको छैन।
बागमती सुगर मिलले किसानलाई ८ करोड ४१ लाख ४१ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ भने अन्नपूर्ण सुगर मिलले सबैभन्दा बढी ४० करोड रुपैयाँ (कृषि मन्त्रालयका अनुसार ३० करोड) तिर्न बाँकी रहेकोमा हालसम्म उसले ३ करोड ९० लाख रुपैयाँ मात्रै तिरेको छ।
त्यस्तै, श्रीराम सुगर मिलले किस्तामा तिर्दै जाने भन्दै किसानसँग सहमति गरेको र मन्त्रालयसँग पनि प्रतिबद्धता जनाएको छ। यो मिलले ३५ करोड रुपैयाँभन्दा बढी रकम किसानलाई तिर्न बाँकी छ। १० करोड ७४ लाख रुपैयाँ तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलका संचालकको मृत्यु भएको र उनको मृत्युपछि अंसियारहरुको खोजी गर्नका लागि भन्दै उद्योग मन्त्रालयले गतवर्ष पुस २३ गते गृह मन्त्रालयलाई पत्रसमेत पठाएको थियो। तर यो मिलबाट पनि किसानले रकम पाएका छैनन्। नवलपरासीको इन्दिरा सुगर मिलले ८ करोड रुपैयाँ बढी तिर्न बाँकी छ।
के थियो सम्झौता?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा किसान र उद्योगीबीच भएको सम्झौताअनुसार सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानका सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।