काठमाडौं- सरकारले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो।
मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए। 'सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ,' ती मन्त्रीले भने।
भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेकी थिइन्। आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले बताइन्।
‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैँले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ,' मन्त्री अर्यालले भनिन्।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।
मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ। सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोही बमोजिम नेपाल र चिनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।
यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर मानिँदै आएको छ।
यसअघि गत असारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सामान्यबाहेक सीमा विवाद नरहेको र नेपालले चाँडै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए। राष्ट्रियसभामा बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको बताएका थिए।
'सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन) लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको छ। हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गर्यो,' उनले भनेका थिए।
सगरमाथाबाटै नेपाल-चीन सिमाना छुटिने भएकाले दुवै देशको सहमतिबाट मात्रै टुंग्याउन सकिने भएकाले नापीको टोलीले सिफारिस गरेपनि त्यसको प्रक्रिया टुंगिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।