काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको भेटले सत्ता फेरबदलको राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्। कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरु विपक्षीकै भूमिकामा रहने उनले स्पष्ट पारेका हुन्।
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे।
सोमबार सत्य साई बाबाको ९५औँ अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए। महिनौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारी बेलामा नेकपा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाइ छ।
सरकारले गर्नु पर्ने काम केही नगरी संघीयताको मर्म र भावनाविपरीत काम गरिरहेको पनि उनले बताए। सत्ताको आडमा आजीवन जनमत पाए जसरी पुराना तथा इतिहास बोकेका पार्कको नाम परिवर्तन गरी कब्जाको शैली अपनाएको समेत उनले आरोप लगाए। उनले इतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।